वीरगन्ज,२४ फागुनः पर्सा निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य (सांसद) मा नवनिर्वाचित सुशील कुमार कानुले मतदातालाई अभार व्यक्त गर्न घरदैलो कार्यक्रम सुरु गरेका छन् ।
शनिबार घोषित मतगणनाको अन्तिम परिणाममा रास्वपाका उम्मेदवार कानु फराकिलो मतान्तरले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । निर्वाचित भएको भोलि पल्टै आइतबारदेखि कानुले घरदैलो कार्यक्रम गरेर मतदातालाई आभार व्यक्त गर्न थालेका छन् ।
आइतबार बिहानै देखि घरदैलो गर्न सुरु गरेका नवनिर्वाचित सांसद कानुले पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने वीरगन्ज महानगरपालिका वडा नम्बर १, ३, ६ र ९ मा पुगेर स्थानीय जनतासँग भेटघाट गर्दै आँफूलाई अमूल्य मत दिएर निनर्वाचित गराएकोमा धन्यवाद दिए ।त्यसक्रममा स्थानीय बासिन्दाले नवनिर्वाचित सांसद कानुलाई खादा र माला लगाएर भव्य स्वागत पनि गरेका थिए।
मतदाताको घरदैलोमै पुगेर आभार दिने क्रममा कानुले जनताको साथ, सहयोग र समर्थनकै कारण आँफू निर्वाचित भएको भएको बताए ।मतदाताहरुसंगको भेटटघाटका क्रममा नवनिर्वाचित सांसद कानुले आँफु जनताको माझमा निरन्तर रहिरहने बताए ।जनताको समस्या,गुनासा तथा सुझाव सुन्नका लागि पनि आँफु घरदैलोमा आएको उनले बताए ।
उनले परिवर्तन र सुशासनको चाहना राखेर आँफुसहित देशभरबाट रास्वपालाई जनताले दिएको मतको कदर गर्दै जनअपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।


