वीरगन्ज,१७ माघ : नेपाली कांग्रेसका नेता तथा पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार अजय चौरसियाले देशको विकास, शान्ति र लोकतन्त्रको रक्षाका लागि नेपाली कांग्रेसलाई जिताउनुको विकल्प नरहेको बताएका छन् ।चुनावी अभियानका क्रममा शनिबार वीरगन्ज महानगरपालिका वडा नम्बर २६ सुगौलीमा आयोजित कार्यक्रममा बोल्दै नेता चौरसियाले आगामी चुनावपछि विकास निर्माणका कामले ’तेज रफ्तार’ लिने बताए ।
चौरसियाले यसअघि आफुले पाएको मन्त्रालयमा विकास बजेट नभएतापनि अन्य मन्त्रालयहरूसँग समन्वय र आग्रह गरेर आफ्नो क्षेत्रमा अधिकतम बजेट व्यवस्थापन गरेको दाबी गरे ।
उनले तिलावे नदीमा सुगौली र सिसियाडी जोड्ने पुलका लागि गत वर्ष १ करोड विनियोजन गरिएकोमा काम हुन नसकेपछि यस वर्ष ३ करोड पु¥याइएको र चुनाव लगत्तै काम सुरु हुने उनले बताए । यस्तै जसौलि, उदयपुरघुर्मी र बहुअरी नजिकैका भाँचिएका पुलहरूको मर्मत कार्य सुरु भइसकेको पनि उनले बताए ।आफ्नै पहलमा बिन्दवासिनीमा पोलिटेक्निक कलेज सञ्चालनको तयारी भइरहेको उनले बताए । यसका लागि ३ करोड बजेट व्यवस्थापन गरिएको उनको भनाई थियो।
नेता चौरसियाले बहुदरमाईको सातोमाईमा धर्मशाला निर्माण र कब्रिस्ताानमा पर्खाल लगाउने जस्ता कार्यहरूमा बजेट पास भइसकेको तर स्थानीय विवादका कारण केही काम रोकिएको तर छिट्टै सुचारु हुने समेत बताए ।
कांग्रेसको इतिहास बारे चर्चा गर्दै चौरसियाले २००७ सालदेखि हालसम्मका हरेक आन्दोलनमा कांग्रेसले नेतृत्वदायी भूमिका खेलेको बताए । २०५२ सालको जनयुद्ध र त्यसपछिको अशान्तिलाई समाधान गरी देशमा अमनचयन कायम गर्न स्वर्गिय गिरिजाप्रसाद कोइरालाले खेल्नुभएको भूमिकाको उनले स्मरण गरे ।
“राजाको शासन विरुद्धको आन्दोलनमा म आफैँ चार महिना जेल बसेको थिएँ,“ नेता चौरसियाले भने, “नेपाली कांग्रेस , जनताको अधिकारका लागि जेल जान र छातीमा गोली थाप्न कहिल्यै डराएको छैन।“
आफ्नो घरमा विगतमा भएको आगजनी र संसद् भवन लगायतका राष्ट्रिय सम्पत्ति जलाइएको घटनाप्रति दुःख व्यक्त गर्दै उनले ती कार्यहरू ’जेन जी’ युवाहरूले नभई उच्छृङ्खल र सुनियोजित तत्वहरूले गरेको दाबी गरे । उनले भने , “देशलाई रणभूमि हुनबाट जोगाउन र साम्प्रदायिक विवाद फैलाउने बाह्य शक्तिहरूलाई परास्त गर्न यसपटक फेरि नेपाली कांग्रेसलाई मतदान गर्न आवश्यक छ त्यसैले फेरी एकपटक विश्वास गरी पर्सा लगायत देशभरी काँग्रेसका उम्मेदवारलाई जिताउन आग्रह गर्छु । “
उक्त कार्यक्रममा नेकपा एमाले परित्याग गरी नेपाली काँगे्रसमा प्रवेश गरेका नेता सिँहासन पटेललाई चौरसियाले अबीर टीका लगाएर पार्टिमा स्वागत गरे ।
वीरगन्ज–२६का कांग्रेस सभापति सुरेश पटेलको अध्यक्षता र क्षेत्र नम्बर २ का काँग्रेस उम्मेदवार चौरसियाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा प्रदेश सरकारका कृषिमन्त्री श्याम पटेल, पूर्वमन्त्री ओमप्रकाश सर्राफ, कांग्रेस केन्द्रिय सदस्य रामरुप कुर्मी, पर्साका उपसभापति अशोक गुप्ता, क्षेत्रीइ सभापति महमद साहबुदिन वडा नम्बर २६ का वडा अध्यक्ष शम्भु मिश्रा, काँग्रेस पर्साका उपसभापति नेता अशोक गुप्ता , प्रेमचन्द्र दुबे लगायतकाको सहभागिता थियो ।

