Madhes Khabar
राजनीति

पुसभित्रै कांग्रेसको विशेष महाधिवेशन हुन्छ, काठमाडौं आउने तयारी गर्नुस् : गगन थापा

काठमाडौं१८पुसःनेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा विशेष महाधिवेशनको व्यवस्था किन राखेको ? भन्दै प्रश्न गरेका छन् ।

शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले महाधिवेशनको मिति सारेर वैशाख अन्तिम साता गर्ने निर्णय गरेपछि त्यसमा फरक मत राख्दै थापाले पार्टी सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै यस्तो प्रश्न गरेका हुन् । बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा थापाले कार्यकर्ताहरुलाई वैशाखमा महाधिवेशन हुन्छ भनेर घर गएर नसुत्न भन्दै पुस मसान्तभित्रै विशेष महाधिवेशन हुने दाबी गरे ।

‘अहिलेसम्म मेरो अपेक्षा भनेको पार्टी सभापतिज्यूले पटकपटक पार्टी फुट्न दिन्नँ, पार्टीलाई अप्ठेरोमा पर्न दिन्न, कम्तीमा मेरो जीवनमा पार्टीलाई अप्ठेरामा पर्न दिन्न भन्नुभएको हुनाले, पहिलो कुरा यो विशेष महाधिवेशन उहाँ (शेरबहादुर देउवा) ले नै डाक्नुहुन्छ, केन्द्रले नै डाक्छ,’ थापाले भने, ‘नहुँदै गर्दा पनि विशेष महाधिवेशनमा जाने मेरो जिम्मेवारी हो भन्ने विश्वास राखेर मैले बोल्छु । त्यो विश्वासभन्दा पर म जान्नँ ।’

विशेष महाधिवेशनले पार्टी विभाजन हुने कुरा पनि उठेका छन् नि भनि सोधिएको प्रश्नमा थापाले ‘त्यसो भए विशेष महाधिवेशनको विषय विधानमा किन लेखेको ? विधानमा विशेष महाधिवेशन गर्ने व्यवस्था किन लेखेको ?’

कांग्रेसका महामन्त्री थापाले नियमित महाधिवेशनको मिति वैशाख २८–३१ मा गर्ने प्रस्ताव बहुमतले पारित भए पनि विशेष महाधिवेशनको कुरा नटुंगिएको दाबी गरे । उनले विधानको धारा १७ (२) अनुसार नै पुस मसान्तभित्र विशेष महाधिवेशन आह्वान गर्ने दाबी गरे ।

‘आजको बैठकमा कार्यवाहक सभापतिले कार्यविधि थप्दै महाधिवेशन वैशाखमा गर्ने प्रस्ताव गर्नुभएको छ । धारा ४३ को प्रयोग गरेर प्रस्ताव राख्नुभयो । हामी ४–५ जनाको फरक मत भयो तर, बहुमतले पारित भयो,’ उनले भने, ‘विशेष महाधिवेशन माग गरेर पत्र बुझाएको ३ महिनाभित्र बोलाउन पर्नेछ । पुसको २८–२९ तीन महिनाको अन्तिम म्याद हो ।’

मंसिर १५ गतेको केन्द्रीय समितिको बैठकले कम्तीमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेअनुसार विशेष महाधिवेशन नियमित महाधिवेशन हुने अवस्थामा मात्रै त्यो स्थगित हुने भनिएको तर नियमित नभए उक्त माग सम्बोधन गर्नुपर्ने अवस्था सुरु हुने थापाको भनाइ छ ।

‘आजको बैठकमा फरक मत लेख्यौ, घर गयौ सुत्यौ भन्ने होइन । अझै एक÷दुई दिन हेर्छौं,’ थापाले भने ‘सभापतिले, कार्यवाहक सभापतिले भोलि नै बैठक राखेर विधानको धाराअनुसार विशेष बोलाउनुभयो भने उत्तम हुन्छ । हैन थप्यौ । अब सबै घर जाऔं भन्नुभयो भने त्यो हामी मान्दैनौँ ।’

महामन्त्री थापाले विशेष महाधिवेशनमा सहभागी हुन देशभरिका नेता–कार्यकर्तालाई आह्वान गरे। विशेष महाधिवेशनको कार्यविधि पनि बनाइने उनको भनाइ छ। ’केन्द्रीय कार्यसमितिले महाधिवेशन ग¥यो भने कार्यविधि पनि उसैले बनाउँछ। बैठक भएन भने विशेष महाधिवेशनले कार्यविधि आफैं बनाउँछ,’ उनले भने।

महामन्त्री थापाले पार्टी फुटको हल्ला नगर्न आग्रह पनि गरे। उनले विधानको पालना नगर्ने नेताहरूले नै पार्टी फुट्ने भ्रम फैलाइरहेको बताए। ’यो प्रांगणमा उभिएर भन्दैछु। भदौ २३–२४ पछि र अघिको अवस्था एउटै होइन। जस्तोसुकै अवस्था आए पनि, जुनसुकै विषम परिस्थिति होस्। पार्टी फुट्दैन, पार्टी फुट्न दिँदैनौं। जसले पार्टी फुट्छ भनिरहेका छन्, जवाफ पनि उसैले दिनुपर्छ,’ उनले भने।

Related posts

बारामा एमालेका २५ महाधिवेशन प्रतिनिधिका लागि १०७ जनाको उम्मेदवारी

MadhesKhabar

ओबिसी महासंघ वीरगन्ज महानगरको अध्यक्षमा युवा नेता गुप्ता चयन

MadhesKhabar

पर्साका जनतालाई सर्वसुलभ खानेपानीको व्यवस्था गराउने गठबन्धन दलहरुको निर्णय

MadhesKhabar

Leave a Comment