Madhes Khabar
राजनीति

बारामा एमालेका २५ महाधिवेशन प्रतिनिधिका लागि १०७ जनाको उम्मेदवारी

बारा,११मंसिरः नेकपा एमालेको २५ महाधिवेशन प्रतिनिधि चयनका लागि बारामा १०७ जनाको उम्मेदवारी परेको छ । एमाले बाराले निकालेको निर्वाचन कार्यतालिका अनुसार बिहीबार सम्पन्न उम्मेदवारी दर्तामा कूल १०७ जनाको उम्मेदवारी परेको एमाले बाराका अध्यक्ष अध्यानन्द पाण्डेले जानकारी दिए ।

महाधिवेशन प्रतिनिधिका लागि आकांक्षीको संख्या बढी भएपछि एमाले बाराका नेताहरुलाई सहमतिबाट प्रक्रिया टुंग्याउन सकस हुने देखिएको छ । एमाले बाराका अध्यक्ष पाण्डेले उम्मेदवारी फिर्ताको समयभित्र सहमति हुन नसके निर्वाचनबाट प्रतिनिधि चयन गरिने बताए । ‘हामी सकेसम्म सहमतिको प्रयास गर्नेछौं, भएन भने मतदानमा जानुपर्ने देखिन्छ,’ अध्यक्ष पाण्डेले भने ।

अध्यक्ष पाण्डेका अनुसार शुक्रबार दिउसो ३ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ । तोकिएको समयसम्म सहमती हुन नसके शनिबार बिहानबाट मतदान हुनेछ । जिल्लाभरिका १० हजार ९ सय ९ जना पार्टी सदस्यले महाधिवेशन प्रतिनिधि चयनमा मतदान गर्न पाउनेछन् ।

शुक्रबार दिउसोसम्म उम्मेदवारी फिर्ताको समय रहेकाले निर्वाचनमा जानुअघि अधिकतम सहमतिको प्रयास गरिने एमाले पोलीटब्युरो सदस्य एवं बारा–३ की निवर्तमान सांसद ज्वाला साहले बताइन् ।

‘आकांक्षी धेरै देखिएकाले उम्मेदवारी पर्नु स्वभाविक हो, तर मतदान भन्दा सहमतिकै बाटोबाट प्रतिनिधि चयनलाई हामीले प्राथमिकतामा राखेका छौं’ पूर्वमन्त्री साहले भनिन् ।

बारामा क्षेत्र नम्बर १ बाट ५ जना, क्षेत्र नम्बर २ बाट ४ जना, क्षेत्र नम्बर ३ बाट ६ जना, क्षेत्र नम्बर ४ बाट ७ जना र दलित तर्फ ३ जना गरी २५ महाधिवेशन प्रतिनिधि चयन हुने एमाले बाराले जनाएको छ ।

महाधिवेशन प्रतिनिधिका लागि बारा क्षेत्र नम्बर १ मा सबैभन्दा धेरै आकांक्षी देखिएका छन् । बारा १ बाट छानिने ५ जना प्रतिनिधिका लागि ३२ जनाको उम्मेदवारी परेको छ । ३ खुल्ला प्रतिनिधिका लागि १९ जनाको उम्मेदवारी परेको छ । १ महिलाका लागि ४ जनाको उम्मेदवारी परेको छ भने १ यूवाका लागि ९ जनाको उम्मेदवारी परेको छ ।

बारा क्षेत्र नम्बर २ मा चारजना प्रतिनिधिका लागि ८ जनाको उम्मेदवारी परेको छ । यस क्षेत्रबाट छानिने २ खुल्ला प्रतिनिधिका लागि ४ जनाको उम्मेदवारी परेको छ । १ महिलाका लागि २ जना र १ यूवाका लागि २ जनाको उम्मेदवारी परेको क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत कौशल किशोर सर्राफले जानकारी दिए ।

बारा क्षेत्र नम्बर ३ मा ६ जना प्रतिनिधिका लागि २९ जनाको उम्मेदवारी परेको छ । निर्वाचन अधिकृत दिवाकर भण्डारीका अनुसार ३ जना खुल्ला प्रतिनिधिका लागि २१ जनाको उम्मेदवारी परेको छ । यस क्षेत्रबाट छानिने २ महिला प्रतिनिधिका लागि ५ जनाको उम्मेदवारी परेको छ भने १ जना यूवाका लागि ३ जनाको उम्मेदवारी परेको छ ।

बारा क्षेत्र नम्बर ४ मा सातजना प्रतिनिधिका लागि ३० जनाको उम्मेदवारी परेको छ । निर्वाचन अधिकृत मनोजकुमार साहका अनुसार चार खुल्ला प्रतिनिधिका लागि १५ जनाको उम्मेदवारी परेको छ । यस क्षेत्रबाट छानीने २ जना महिला प्रतिनिधिका लागि ९ जनाको उम्मेदवारी परेको छ भने १ जना यूवाका लागि ६ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

दलित तर्फ तीनजना प्रतिनिधिका लागि ८ जनाको उम्मेदवारी परेको छ । बाराबाट निर्वाचित हुने २ जना दलित पुरुषका लागि ६ जना र १ जना दलित महिलाका लागि २ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधि चयनका लागि बाराका चारवटा निर्वाचन क्षेत्रमा अलग–अलग केन्द्र बनाएर उम्मेदवारी दर्ता गरिएको थियो । दलित तर्फ जिल्लाभरीका लागि कलैयामा एउटा केन्द्र तोकिएको छ ।

प्रदेश सांसददेखि वडा सदस्य सम्मको उम्मेदवारी

एमाले महाधिवेशन प्रतिनिधि बन्न मधेस प्रदेश सभाका प्रदेश सभा सदस्यदेखि वडा सदस्य सम्मले उम्मेदवारी दर्ता गराएका छन् ।

बारा १(१) का प्रदेश सभा सदस्य त्रिलोकी चौधरी, बारा क्षेत्र नम्बर ४(१) का प्रदेश सभा सदस्य देवनारायण चौधरी, बारा ३(१) का प्रदेश सभा सदस्य रविन्द्रदास श्रेष्ठ, कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साह, निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी, पचरौता नगरपालिकाका नगर प्रमुख जालन्धर सिंह, परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मी, पर्सौनी गाउँपालिका अध्यक्ष विनोद जयसवाल, कलैया उपमहानगरपालिकाका वडा अध्यक्ष अशोक तिवारी, जीतपुरसिमरा उपमहानगरपालिकाका वडाध्यक्षहरू सुवास श्रेष्ठ, सुनील गुप्ता, चयन गुरुङ र वडा सदस्य यमनाथ ढकालले महाधिवेशन प्रतिनिधि बन्न उम्मेदवारी दर्ता गराएका छन् ।

एमाले जीतपुरसिमरा नगर कमिटी अध्यक्ष त्रिलोक विक्रम शाह, उपमहानगर ईन्चार्ज शुभद्रा न्यौपाने, निजगढ नगर कमिटि अध्यक्ष तिलक घलान लगायत जिल्ला भित्र विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिहरु पनि महाधिवेशनमा प्रतिनिधि बन्न ईच्छुक देखिएका छन् ।सुनिल गाउले /अनलाइनखबर

Related posts

जसपा नेपाल विभाजनसम्बन्धी रिटमा आजपनि भएन सुनुवाइ

MadhesKhabar

पर्सामा उपेन्द्र यादवलाई ठूलो झट्का :जिल्ला सचिवसहितका युवा नेताहरु जसपामा प्रवेश

MadhesKhabar

फुलमाला लगाइदिँदै मतदाताको आशिर्वाद : अबको हाम्रो विधायक रुपेशमान

MadhesKhabar

Leave a Comment