वीरगन्ज,५ जेठ : जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्जबाट सोमबार बेलुकी मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण बारे खुलाएको छ ।
मंगलबार वीरगन्जमा हुने कार्यक्रममा सहभागी हुनका लागि आएका बेला सोमबार बेलुकी सिद्धार्थ दियालो होटलबाट प्रसाईंलाई प्रहरीले पक्राउ गरेको थियो । सोमबार बेलुकी प्रसाईंलाई पक्राउ गर्दै गर्दा सञ्चारकर्मीले पक्राउ गर्नुको कारण वा कसूर बारे प्रश्न गर्दा प्रहरीले केहि पनि बताएको थिएन । होटलबाट नियन्त्रणमा लिएर प्रहरीले प्रसाईंलाई सिधै जिल्ला प्रहरी कार्यालयमा लगेको थियो ।
प्रसाईंलाई पक्राउ गर्नुको कारण बारे मंगलबार प्रश्न गर्दा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले प्रसाईंले विभिन्न समयमा अभिव्यक्त गरेका आपत्तिजनक अभिव्यक्तिका कारण नियन्त्रणमा लिइएको बताए । बस्नेतले भने, विभिन्न व्याक्ति तथा सार्वजनिक संस्थालाई लक्षित गरि मानमर्दन र सार्वजनिक नैतिकता र शिष्टचार विरुद्धको अभिव्यक्ति दिएका कारण उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रसाईंलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए । बस्नेतले भने,हामी अहिले पनि अनुसन्धानकै क्रममा छौं । म्याद थप भइसकेको छैन ।
राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपालका संयोजक समेत रहेका प्रसाईं सोमबार काठमाडौंबाट सिमरा विमानस्थल हुँदै वीरगन्ज पुगेका थिए । वीरगन्जको सिद्धार्थ दियालो होटलमा सोमबार साँझ पुगेका उनले प्रहरीले पक्राउ गर्नुअघि पत्रकार सम्मेलनपनि गरेका थिए ।

