वीरगन्ज,७ असोजः जेनजी आन्दोलनका क्रममा गत भदौं २४ गते तोडफोड र आगजनी गरि क्षतिग्रस्त पारिएको वीरगन्जको घण्टाघरस्थित नेपाल प्रहरीको बिटको संरचना पुर्ननिर्माण गरी सञ्चालन वीरगन्जका युवाहरुले सकृयता देखाएका छन् ।
‘आफ्नै देश आफै बनाऔँ’ भन्ने नारासहित वीरगन्जको नेशनल इन्फोटेक कलेज र गौतम स्कुलका विद्यार्थी तथा नेपाल फर्मास्युटीकल लिमिटेड र एलाइड यूथ क्लबका युवाहरूले प्रहरी बिटको पुनर्निर्माण र सञ्चालनमा सहयोग गरेका हुन् ।
एलाइड यूथ सोसाइटीका संस्थापक ओमकुमार झाको नेतृत्वमा भएको पहलमा प्रहरी बिटमा आवश्यक सामग्रीहरू उपलब्ध गराइएको छ । टेबल, कुर्सी, दराज, पंखा, पानीको ट्यांकी, विद्युतीय सामग्री, तोडफोड भएका झ्याल र ढोकाहरू सहयोग स्वरूप प्रदान गरिएको छ । साथै, क्षतिग्रस्त प्रहरी बिट भवनको रंगरोगनपनि गरिएको छ ।
नेशनल इन्फोटेक कलेजका प्रतिनिधि तथा युवा नेता सुधीर पटेलले जेनजी आन्दोलनका क्रममा केही उच्छृंखल व्यक्तिहरूले तोडफोड र आगजनी गरेपनि युवाहरूले समाजप्रति जिम्मेवार बन्न प्रहरी बिट पुनर्निर्माणमा सहयोग गरेको बताए ।
एलाइड यूथ सोसाइटीका संस्थापक ओमकुमार झाले प्रहरी र जनताबिचको सम्बन्धमा सुधार ल्याउन आँफुहरुले प्रयास गरेको बताए । भविष्यमा पनि यस्ता रचनात्मक सहयोगलाई निरन्तरता दिने उनले बताए।

