वीरगन्ज,२७बैशाखः वीरगन्जको गण्डकमा रहेको क्लार्क रिसोर्टमा वीरगन्ज महानगरपालिकाको अनुगमन टोलीले बिहीबार अनुगमन गरेको छ ।
महानगरका उपमेयर इम्तियाज आलमको संयोजकत्वमा गठित बजार अनुगमन समितिले क्लार्क रिसोर्टमा बिहीबार अनुगमन गर्दा त्यहाँ विभिन्न त्रूटी फेला पारेको छ ।
क्लार्क रिसोर्टको भान्छा (किचेन) फोहोर भेटिएको, किचेनमा खान अयोग्य हाइड्रोको धूलो भेटिएको, प्रयोग अवधि सकिसकेका अर्थात म्याद अवधि मसलाका प्याकेटहरुपनि भेटिएको अनुगमन टोलीमा सहभागी वीरगन्ज महानगरपालिकाको खाद्य अनुसन्धान अधिकृत विपिनलाल दासले जानकारी दिए । यस्ता त्रूटीहरु फेलापरेपछि रिसोर्टका सञ्चालकलाई सचेत गराउनका साथै ती सामानहरु नष्टपनि गरिएको उनले बताए ।
बिहीबार नै महानगरको अनुगमन समितिले आदर्शनगरस्थित केएफसी रेष्टुराँमापनि अनुगमन गरेको थियो । अनुगमनका क्रममा होटल व्यवसायीहरुलाई किचेन लगायतका ठाँउ स्वच्छ र सफा राख्नुका साथै स्वस्थ्यकर खाद्य सामग्रीमात्र ग्राहकलाई बिक्री गर्न प्रोत्साहितपनि गरिएको अनुगमन टोलीमा सहभागी होटल तथा पर्यटन व्यवसायी वीरगन्जका अध्यक्ष हरि पन्तले जानकारी दिए ।
अनुगमन टोलीमा वीरगन्ज महानगरका कार्यपालिका सदस्य कन्हैया ठाकुर, खाद्य अधिकृत सुरेशकुमार सिंह, होटल जिल्ला प्रशासन कार्यलय, वीरगन्ज उद्योग बाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय लगायतका संस्थाका प्रतिनिधीहरुको पनि सहभागीता थियो ।

