वीरगन्ज,७ पुसःपर्सामा केहि समय रोकिएको लागू औषध गाँजाको खेती नष्ट गर्ने प्रहरीको अभियान फेरि सुरु भएको छ ।जिल्लाको विभिन्न स्थानमा लुकीछिपी अवैध रुपमा गरिएको गाँजा खेती जिल्ला प्रहरी कार्यालय पर्साले मातहतका प्रहरी कार्यालय र चौकीमार्फत अभियान नै चलाएर नष्ट गर्दै आइरहेकोमा केहि महिना यतादेखि उक्त अभियान रोकिएको थियो ।
तर जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखका रुपमा प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठक आए यता सोमबारदेखि फेरि उक्त अभियान सुरु गरिएको छ ।यसैक्रममा सोमबार जिराभवानी गाँउपालिका र पटेर्वा सुगौली गाँउपालिकामा गरी करिब साढे ३ कठ्ठामा लगाइएको गाँजाखेती प्रहरीले फडानी गरेर नष्ट गरेको छ।
सोमबार जिल्ला प्रहरी कार्यालय पर्सा र ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा खटिएको १५ जना प्रहरीको टोलीले जिराभवानी गाउँपालिका वडा नम्बर ५ हरैया स्थित भलुवाही खोलाको बगरमा लगाइएको अन्दाजी १ कठ्ठा र पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ४ फरहदवामा अन्दाजी २.५ कठ्ठागरी कूल ३.५ कठ्ठा जमिनमा लगाइएको गाँजाखेती फडानी गरेर नष्ट गरेको हो । ती दुवै ठाँउमा गरी करिब ७ हजार ५०० वटा गाँजाका बोट फडानी गरिएको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।
सोमबारदेखि सुरु गाँजा खेती फडानी र नष्ट अभियान निरन्तर जारी रहने पर्साका प्रहरी उपरीक्षक पाठकले बताए । त्यसका लागि जिल्लामा रहेका मातहतका सबै प्रहरी युनिटहरुलाई निर्देशन दिइसकिएकोपनि उनले बताए ।
जिल्लाको कुनैपनि स्थानमा कसैलेपनि गाँजाको खेती गरेको भए सूचना दिएर प्रहरीलाई सहयोग गर्न पर्साका प्रहरी उपरीक्षक पाठकले जिल्लाबासीसंग सार्वजनिक अपिल नै गरेका छन् ।

