वीरगन्ज,२४भदौंःवीरगन्जमा जेन–जी पुस्ताको आह्वानमा भइरहेको प्रदर्शन तथा आन्दोलनले मंगलबारदेखि उग्र रुप लिएको छ ।
वीरगन्जमा कर्फु लागेकै अवस्थामापनि मंगलबार बिहानदेखि सडकमा उत्रिएका प्रदर्शनकारीले राजनीतिक दल नेता र सरकारी कार्यालयहरुमा तोडफोड र आगजनी गरि ध्वस्त बनाएका छन् ।
प्रदर्शनकारीहरुले वीरगन्जमा कानून न्या तथा संसदीय मामिलामन्त्री अजय चौरसिया,खानेपानीमन्त्री प्रदीप यादव,पूर्व संघीय मामिलामन्त्री राजकुमार गुप्ता,मधेसका पूर्वमूखयमन्त्री लालबाबु राउत गदी,वीरगन्ज महानगरपाालिकाका मेयर राजेशमान सिंह र नेपाली कांग्रेसका केन्द्रिय सदस्य अनिल रुंगटाको घरमा तोडफोड गर्दै आगजनी गरेका हुन् ।
आगजनीबाट ती सबै नेताहरुको घर पूर्ण रुपमा जलेर ध्वस्त नै भएको छ । ती घरमा रहेका चारपाङग्रे गाडी र मोटरसाइकलपनि आगजनीबाट पूर्ण रुपले क्षमतिग्रस्त बनेका छन् ।
प्रदर्शनकारीहरुले वीरगन्ज–२४ रामगढवास्थित नेपाली कांग्रेस र वीरगन्ज–२४ मनमोहनगरस्थित नेकपा एमालेको पार्टी कार्यालयमापनि तोडफोड गर्दै आगजनी गरेका छन् ।
यस्तै प्रदर्शनकारीहरुले वीरगन्ज महानगरपालिकाको कार्यालय, नेपाल टेलिकमको कार्यालय र आन्तरिक राजस्व कार्यालयमा पनि आगजनी गरेका छन् । आगजनीबाट ती दुवै कार्यालयमा रहेका उपकरण,फर्निचर, काजगपत्रहरु सबै जलेर नष्ट भएका छन् । यस्तै टेलिकमको एउटा गाडीपनि प्रदर्शनकारीले सडकमा निकालेर आगो लगाइदिएका थिए ।
यस्तै प्रदर्शनकारीले वीरगन्ज–९ घण्टाघरस्थित नेपाल प्रहरीको अस्थायी पोष्ट,वीरगन्ज–१० अशोकवाटिका स्थित नेपाल प्रहरीकै अस्थायी पोष्ट र वीरगन्ज–११ रानीघाटस्थित नेपाल प्रहरीको अस्थायी पोष्टमापनि आगजनी गरेका छन् । प्रदर्शनकारीले आगजनी गर्न थालेपछि त्यहाँ कार्यरत प्रहरीहरु प्रहरी पोष्ट छाडेर भागेका थिए ।
कर्फु लागेकै बेला मंगलबार बिहान १० बजेपछि घण्टाघर र माइस्थान चोकमा प्रदर्शनकारीहरुले सडकमा टायर बालेर प्रदर्शन सुरु गरेका थिए । प्रदर्शनकारीले ढुंगामुढा हुन थालेपछि सुरुमा प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो । त्यसले स्थिती नियन्त्रणमा आउन नसकेपछि प्रहरीले प्रदर्शनकारीमाथि रबरको गोली र हवाई फायरपनि गरेको थियो ।त्यति गर्दापनि स्थिती नियन्त्रणमा आउन नसकेपछि प्रहरी पछाडि हट्न बाध्य बनेको थियो । प्रहरी पछि हटेपछि प्रदर्शनकारीहरुले सडक कब्जामा लिनुका साथै मन्त्री,सांसद ,नेताहरुको घर घरमा पुगेर तोडफोड र आगजनी गरेका थिए ।
स्थिती नियन्त्रणमा लिन सुरक्षाकर्मीको तर्फबाट मंगलबार साँझसम्म कति राउण्ड अश्रु ग्यास र हवाई फायर गरिएको भन्ने बारेमा यकिन विवरण संकलन नभइसकेकोे पर्साका प्रमुख जिल्ला अधिकारी तोयनाारायण सुवेदीले जानकारी दिए । यस्तै प्रहरी र प्रदर्शनकारीबीच ठाँउ ठाँउमा भएको झडपमा तीन दर्जनभन्दा बढी सुरक्षाकर्मी र दुई दर्जन प्रदर्शनकारी घाइते भएको उनले बताए ।
यसैबिच वीरगन्जमा जिल्ला प्रशासन कार्यालयले कर्फु आदेशलाई मंगलबार साँझ देखि थप लम्ब्याएको छ ।स्थिती नियन्त्रण बाहिर गएपछि वीरगन्जमा सोमबार राति ९ बजेदेखि लगाइएको कर्फु मंगलबार साँझ ६बजेदेखि अनिश्चितकालका लागि थपिएको प्रमुख जिल्ला अधिकारी सुवेदीले जाानकारी दिए ।

