काठमाडौं,२९साउनःअशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालबीच कार्यगत एकता भएको छ। काठमाडौंमा बिहीबार एक विशेष कार्यक्रम गरी दुई पार्टीले कार्यगत एकता घोषणा गरेका हुन् ।
आगामी दिनमा पार्टी नै एकीकरण गर्ने नीतिसहित दुई पार्टीले कार्यगत एकता गरेको हो। साझा मुद्दा, लक्ष्य र उद्देश्यहरू प्राप्तिका लागि एकता उन्मुक्त कार्यगत एकता गर्न दुई पार्टी सहमत भएको सहमति पत्रमा उल्लेख छ।
कार्यगत एकता घोषणापत्रमा संगठनात्मक संरचना, सञ्चालन विधि, उद्देश्य तथा प्रतिबद्धताहरू, आचारसंहिता लगायतका विषय उल्लेख गरिएको छ ।जसमा केन्द्रीय तहमा संयोजन समिति रहनेछ । उक्त समितिमा पार्टीका अध्यक्षसहित प्रत्येक पार्टीहरूबाट ७/७ जना सदस्य रहने बताइएको छ ।समितिमा कम्तिमा २ जना महिला अनिवार्य गरिएको छ ।
प्रादेशिक र स्थानीय तहमा पनि संयोजन समिति रहने जनाइएको छ । प्रदेशमा ५/५ सदस्यीय र स्थानीय तहमा ३/३ सदस्य रहने समिति बन्ने संगठनात्मक संरचनामा उल्लेख छ ।कार्यगत एकतामा संलग्न दलहरूले बैठकको अध्यक्षता पालैपालो गर्ने पनि घोषणापत्रमा उल्लेख छ ।

