वीरगन्ज,१० साउनःवीरगन्जमा शनिबार ज्येष्ठ नागरिक महासंघको मधेस प्रदेश महाधिवेशन सम्पन्न भएको छ। महाधिवेशनमा सहभागी ज्येष्ठ नागरिकहरूले आफ्नो हक, सम्मान, तथा आवश्यकतालाई सरकार र समाज दुवै पक्षले उपेक्षा गरिरहेको गुनासो गरे ।उनिहरूले सरकारका कुनै पनि तहले आँफुहरुको जीवनस्तर र आवश्यकतालाई प्राथमिकतामा नराखेको गुनासोपनि व्यक्त गरे।
‘ज्येष्ठ नागरिकहरू अब उपयोगी छैनन्’ भन्ने सोच समाजमा व्यापक रूपमा फैलिएको भन्दै त्यसविरुद्ध आवाज उठाउनुपर्ने आवश्यकता उनिहरुले औँल्याए। उनिहरूले भने, ‘हामीहरू केही गर्न सक्दैनौं भन्ने सोच गलत हो। हामी आफैमा धेरै अनुभव, सीप र योगदान क्षमता भएका मानिस हौं। हाम्रा हक र अधिकार सुनिश्चित गर्न, संरचना बनाउन हामी आफैं पनि जिम्मेवार छौं।’
कार्यक्रममा प्रमुख अतिथी तथा मधेस प्रदेशका युवा तथा खेलकुद मन्त्री प्रमोद जयसवालले ज्येष्ठ नागरिकका लागि आफ्नो मन्त्रालय र प्रदेश सरकारले विभिन्न योजना ल्याइरहेको र आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गरिने आश्वासन दिए।‘हामी ज्येष्ठ नागरिकको लागि बिमाको व्यवस्था गर्ने तयारीमा छौं,मन्त्री जयसवालले भने,‘योजना बनाउँदा स्थानीयदेखि प्रदेश तहसम्म उनीहरूको सुझावलाई विशेष प्राथमिकता दिइनेछ।” मन्त्री जयसवालले समाजमा ज्ेष्ठ नागरिकको भूमिका अझ प्रस्ट रूपमा स्थापित हुनुपर्नेमा जोड दिए।

