Madhes Khabar
स्थानिय हेडलाइन

पर्सामा विकास बजेट ४२ प्रतिशत मात्र खर्च

वीरगन्ज,१९असारःआर्थिक वर्ष सकिन अब डेढ साता मात्रै बाँकी रहदा पर्सामा विकास बजेट झन्डै ४२ प्रतिशत मात्र खर्च हुन सकेको छ । चालु आर्थिक वर्षको साउनदेखि असार महिनाको बुधबारसम्म जिल्लाका विकास निर्माणसँग सम्बन्धित कार्यालयले ४१ दशमलव ७४ प्रतिशत मात्र विकास बजेट खर्च भएको हो ।

कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका अनुसार, यस अवधिमा जिल्लाको कुल विकास (पुँजीगत) बजेट २ अर्ब ७५ करोड ८३ लाख ८२ हजार ७ सय ५० रुपैयाँमध्ये १ अर्ब ३४ करोड ४१ लाख ९३ हजार ७ सय ९९ रुपैयाँ ८८ पैसा मात्र खर्च भएको छ ।

संघिय सरकार मातहतका विकास निर्माणसँग सम्बन्धित कार्यालयहरुले नै विकास बजेट खर्च गर्न सकेका छैनन् । सबैभन्दा धेरै विकास बजेट रहेको सघन सहरी तथा भवन निर्माण आयोजना वीरगन्जको १ अर्ब ३५ करोड ७६ लाख १९ हजार ७ सय ५० मध्ये ४१ करोड ५५ लाख रुपैयाँ मात्र खर्च भएको छ ।

३१ करोड ६५ लाख रुपैयाँ विकास बजेट रहेको हुलाकी राजमार्ग योजना कार्यालय वीरगन्जले यस अवधिमा जम्मा १९ करोड ९६ लाख रुपैयाँ मात्र खर्च गरेको छ । ४५ करोड २८ लाख रुपैयाँ विकास बजेट रहेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले २१ करोड ८० लाख रुपैयाँ मात्र खर्च गरेको छ । १७ करोड ९ लाख रुपैयाँ विकास बजेट रहेको नारायणी सिँचाइ व्यवस्थापन डिभिजनले १० करोड ६८ लाख रुपैयाँ मात्र खर्च गरेको छ ।

पर्सा जिल्लाको चालु बजेट ११ अर्ब ५ करोड ६४ लाख रुपैयाँ रहेकामा बुधबार सम्ममा ८८ दशमलव ४३ प्रतिशतमात्र खर्च भएको छ । सामान्यतया चालु बजेट कर्मचारीको तलब भत्ता तथा स्थानीय तहलाई जाने अनुदानमा खर्च गरिन्छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका सूचना अधिकृत बसन्त गुरागाईं कतिपय कार्यालयका रकमान्तर भई आएका बजेट ढिला गरी प्राप्त हुँदा त्यस्तो बजेट खर्च हुन नसक्ने बताउछन् । यस वर्ष असार महिना ३२ को भएकाले सरकारी कार्यालयहरुले असार २५ गतेसम्म बजेट खर्च गर्न पाउने उनले बताए । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७० मा असार महिना भुक्तान हुनुभन्दा ७ दिन अगाडिसम्म बजेट खर्च गर्न पाइने प्रावधान रहेको उनले बताए ।

हालको अवस्था हेर्दा असार २५ सम्ममा जिल्लाका सरकारी कार्यालयले ५० देखि ५५ प्रतिशत सम्म मात्र विकास बजेट खर्च गर्न सक्ने सम्भावना रहेको उनले बताए ।शंकर आचार्य/इकान्तिपुर

Related posts

सबैठवा र जगरनाथपुरमा अतिक्रमित संरचनामाथि चल्यो महानगरको डोजर

MadhesKhabar

पर्सा-१ मा कस्ले जित्ला ? तथ्यांकले भन्छ प्रदीप नै अगाडि

MadhesKhabar

तिलावे पुलको भत्किएको एप्रोच सडक मर्मतका लागि कांग्रेस र नेविसंघको पहल

MadhesKhabar

Leave a Comment