Madhes Khabar
स्थानिय हेडलाइन

विवादमा तानिए देशकै कान्छा पालिका प्रमुख कलवार

वीरगन्ज, ५ असार : गत स्थानीय निर्वाचनका बेला देशकै कान्छो गाउँपालिका प्रमुखका रुपमा चर्चा पाएका पर्साको कालीकामाई गाँउपालिकाका अध्यक्ष वशिष्ठकुमार कलवार यति बेला विवादमा तानिएका छन् । आफू निकट कनिष्ठ कर्मचारीको बढुवा गरेर वरिष्ठको पद खोसेको आरोपमा कलवार विवादमा तानिएका हुन् ।

गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक जोगिन्द्रप्रसाद चौरसियालाई जिम्मेवारीबाट हटाएर उनीभन्दा कनिष्ठ धिरजकुमार साहलाई संयोजकको जिम्मेवारी दिएको आरोप पालिका अध्यक्ष कलवारमाथि लागेको छ ।

चौरसिया छैठो तहको कर्मचारी हुँदाहुँदै अध्यक्ष कलवारले उनिभन्दा कनिष्ठ पाँचौ तहका साहलाई चैत १२ गते कार्यपालिका सदस्यको बैठकबाट निर्णय गराएर स्वास्थ्य शाखाको संयोजकको जिम्मेवार दिएका थिए । अध्यक्ष कलवारले गरेको उक्त निर्णयविरुद्ध चौरसियाले सर्वोच्च अदालतमा रिट दायर गरे । रिटमाथि सुनुवाई गर्दै यहि जेठ ३० गते सर्वोच्च अदालतले चौरसियालाई साविककै जिम्मेवारीसहित कामकाजमा हाजिर गराउन गाउँपालिका कार्यालयलाई निर्देशन पनि दियो । यद्यपि अदालतको आदेशलाई अवहेलना गर्दै गाउँपालिका स्थापनादेखि नै स्वास्थ्य शाखाको संयोजकको जिम्मेवारी सम्हाल्दै आएका चौरसियालाई कलवारले आजसम्म पनि हाजिर हुन दिएका छैनन् ।

अध्यक्ष कलवारले आफूलाई हाजिर हुन नदिन दर्ता, चलानी र हाजिरी पुस्तिका नियन्त्रणमा लिएको चौरसियाको आरोप छ । ‘मैले हाजिरी गर्न नसकू भनेर अध्यक्षजीले हाजिरीसहित दर्ता, चलानी पुस्तिका पनि चोरेर आफ्नो नियन्त्रणमा राख्नु भएको छ,’ चौरसियाले भने । वरिष्ठ हुँदाहुँदै कनिष्ठ कर्मचारीलाई स्वास्थ्य संयोजकको जिम्मेवारी दिएको निर्णयविरुद्ध सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेश देखाउँदै उनले थपे, ‘सर्वोच्चले आदेश जारी गरी गाउँपालिका कार्यालयलाई पत्र पनि पठाइसकेको छ । तर, त्यसलाई दर्ता नगरी अध्यक्षजीले दर्ता, चलानी र हाजिरी पुस्तिका आफूसँग लुकाएर राख्नु भएको छ ।’ चौरसियाका अनुसार आफूलाई काम गर्न नदिन कलवारले स्वास्थ्य शाखामा समेत तालबन्दी गरेर राखेका छन् ।

गतवर्ष पनि कलवारले यसैगरी आफूलाई बिनाकारण पदबाट हटाएर अरुलाई जिम्मेवारी दिएको चौरसियाले बताए । ‘त्यो बेला पनि सर्वोच्चमा रिट दायर गरेर आफ्नो जिम्मेवारी फिर्ता पाएको थिएँ । अहिले आएर फेरी मसँग व्यक्तिगत रिसीइबी साध्न अध्यक्षजीले त्यहीँ गर्दै हुनुहुन्छ ।’ गत वर्ष असारमा निर्वाचित भएको केहि दिन भित्रै चौरसियालाई अध्यक्ष कलवारले स्वास्थ्य संयोजकबाट हटाउँदा उनले सर्वोच्चको आदेशमार्फत आफ्नो पद फिर्ता पाएका थिए ।

कलवारले कानून र कर्मचारी समायोजन ऐन विपरित आफूलाई कारवाही गरेको चौरसियाको दावी छ । चौरसियालाई विभागीय कारवाही गर्नु भन्दै कलवारले गत चैत्र २८ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सिफारिस गरेका थिए । कर्मचारी आचरणविपरित काम गरेको आरोप लगाएर कलवारले आफूलाई कारवाही गर्न गरेको सिफारिस समायोजन ऐन विपरित भएको बताउँदै स्वास्थ्य मन्त्रालयले वैशाख ६ गते पत्र फिर्ता पठाएको चौरसियाले जानकारी दिए ।

‘त्यो पत्र गाउँपालिकामा दर्ता गराएर मैले केहि दिन काम पनि गरे,’ चौरसियाले भने, ‘तर, अध्यक्षजीले रातो पेन लगाएर मेरो हाजिरी काटिदिनुभयो ।’ त्यसपछि प्रमुख जिल्ला अधिकारीको सुझावमा जेठ २४ गते सर्वोच्च अदालतमा गाउँपालिकाविरुद्ध आफूले रिट दायर गरेको उनले बताए । सर्वोच्चले जेठ ३० गते जारी गरेको आदेशमाथि उपाध्यक्ष राजमती बरैनीसँग तोकादेश गराएर दर्ता गर्न खोज्दा अध्यक्ष कलवारले दर्ता पुस्तिका लुकाएको उनको भनाइ छ ।

हाजिरी गर्न नदिए कलवारविरुद्ध अदालतको अवहेलना मुद्दा हाल्ने आफूले तयारी गरेको चौरसियाले सुनाए । ‘सधै कार्यालय पुगेर फिर्ता भइरहेको छु । मैले काम गर्ने शाखामा ताल्चा लगाइएको छ,’ उनले भने, ‘प्रमाण जुटाएर अब अदालतको अवहेलना मुद्दा हाल्छु ।’

अध्यक्षकै कारण गाउँपालिका कार्यालय प्रमुख प्रशासकीय अधिकृतविहिन बनेकोपनि चौरसियाले बताए । दुई साता अगाडि प्रमुख प्रशासकीय अधिकृत अमित गिरीको पर्साकै जिराभवानी गाउँपालिकामा सरुवा भएपछि उनको ठाउँमा आएका नमोनाथ यादवलाई अध्यक्ष कलवारले हाजिर हुन नदिएको चौरसियाको भनाई छ ।

अध्यक्ष कलवार र चौरसियाको विवादका कारण गाउँपालिकाबाट प्रवाह हुने सेवा नियमित रुपमा सञ्चालन हुन सकेको छैन । गाउँपालिकाका प्रशासन प्रमुख सरोज साहका अनुसार अध्यक्ष कलवारले हाजिरी, दर्ता र चलानी पुस्तिका आफ्नो नियन्त्रणमा राखेका छन् । ‘प्रशासन शाखाबाट दर्ता, चलानी र हाजिरी पुस्तिका लगेर अध्यक्षजीले आफ्नो कार्यकक्षमा राखी कुनैपनि पत्र दर्ता गर्नुभन्दा पहिला आफूसँग सोध्न निर्देशन दिनुभएको छ,’ साहले भने, ‘अब यसरी काम गर्न हामीलाई अफ्ठ्यारो भइरहेको छ । हाजिरी गर्न पाउँ भन्दा पछि गर्नुहोला भनेर अध्यक्ष कलवारले जवाफ फर्काउने गरेको साहले बताए ।

दर्ता, चलानी पुस्तिका नहुँदा पूराना प्रमुख प्रशासकीय अधिकृत अमित गिरीले रवाना लिए नलिएको र नयाँ नामोनाथ यादव हाजिर भए नभएको प्रशासन शाखालाई समेत जानकारी नभएको उनले बताए । प्रशासन शाखामा कर्मचारी हुँदाहुँदै अध्यक्ष कलवारले करारका कर्मचारीसँग सूचना जारी गर्न लगाएको साहले बताए ।

यता, गाउँपालिका अध्यक्ष वशिष्ठकुमार कलवारले भने फर्जी कागजात प्रस्तुत गरेर चौरसियाले अदालतलाई समेत झुक्याएको आरोप लगाए । नियमित विपरित काम गर्दै भ्रष्टचार गरेको समेत गुनासो आएपछि कारवाही गर्दै स्वास्थ्य संयोजक पदबाट हटाएको बताउँदै उनले भने, ‘अदालतलाई समेत झुक्याएर आदेशमा पाँचौ तह लेखाएर ल्याएका छन् । वास्तवमा हामीले जिम्मेवारी दिएको धिरजजी पनि छैठो तहकै कर्मचारी हुनुहुन्छ । आवश्यक सबै कागजात अध्ययन गरेर उनलाई जिम्मेवारी दिइएको हो ।’ स्वास्थ्य संयोजकको जिम्मेवारी पाएका धिरजकुमार साह छैठो तहको कर्मचारी रहेको भन्ने प्रमाणित गर्ने स्वास्थ्य मन्त्रालयको पत्र पनि हामीलाई उपलब्ध गराएका छन् ।

विपक्षीसँग मिलेर आफूलाई बदनाम गराउने प्रपञ्च स्वरूप पत्रकार सम्मेलन मार्फत भ्रम फैलाइएको उनले बताए । चौरसियाविरुद्ध गाउँपालिका कानूनी प्रकृयामा गइरहेको उनले जानकारी दिए । गाउँपालिकाको दर्ता, चलानी र हाजिरी पुस्तिका लुकाएको भनेर लागेको आरोपमा पनि कुनै सत्यता नरहेको उनको दाबी छ ।

Related posts

वीरगन्जको लालपर्सामा खानेपानी जल उपभोक्ता समिति गठन

MadhesKhabar

पर्साको वीरगन्ज सहितका नाकाबाट सशस्त्र प्रहरीद्वारा २१ करोड बढीको तस्करीको सामान बरामद

MadhesKhabar

पर्सामा ११८ उम्मेदवारको जमानत जफत

MadhesKhabar

Leave a Comment