वीरगन्ज,१५असार:खानेपानीको समस्याबाट पीडित पर्सावासीको घर–घरमा पाइपलाइनमार्फत खानेपानी वितरण हुन थालेपछि स्थानीयवासी हर्षित भएका छन्। पर्सा क्षेत्र नंवर १ बाट निर्वाचित संघीय सांसद एवं खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा पानीको मुहान सुकेका क्षेत्रमा डीप बोरिङमार्फत पानी पुर्याउने अभियान सुरु गरिएको हो।
गर्मीयाममा वीरगन्ज महानगरपालिकासहित पर्साका केही पालिकाहरूमा पानीको स्रोत सुकेपछि स्थानीयवासीले पिउने पानीको गम्भीर समस्या झेलिरहेका थिए। तर मन्त्री यादवले स्रोत सुकेको क्षेत्रको पहिचान गरी डीप बोरिङमार्फत पानी वितरण गर्ने व्यवस्था मिलाएपछि स्थानीयमा राहतको अनुभूति भएको छ।
मन्त्री यादवका अनुसार, यो वर्ष मात्रै वीरगन्जसहित पर्साका विभिन्न स्थानमा गरी १०० भन्दा बढी डीप बोरिङ जडान गरी पानी आपूर्ति गर्ने योजना कार्यान्वयनमा रहेको छ।
मन्त्री यादवले अहिले देखिएको पानीको समस्या चाँडै समाधान हुने र आउँदो वर्षदेखि गर्मीयाममा पनि खानेपानीको समस्या नहुने विश्वास व्यक्त गर्दै पर्सावासीलाई ढुक्क रहन आग्रह गरेका छन्।
खानेपानी मन्त्रीका स्वकीय सचिव हरिन्द्र साहका अनुसार, वीरगन्ज महानगरपालिकाको घडिअर्वा,छपकैया, नगवा, गहवा,लक्ष्मणवा, मनियारी लगायतका क्षेत्रमा डीप बोरिङ गाड्ने काम तीव्र रूपमा अगाडि बढाइएको छ।
खानेपानी संस्थानले मन्त्री यादवको निर्देशनअनुसार पर्सावासीको पानीमा पहुँच सुनिश्चित गर्ने अभियान अघि बढाएको हाे। मन्त्री यादवले बोरिङ जडानको बिषयमा जानकारी लिदै कुनै ठाउँमा समस्या भए तुरुन्त जानकारी दिन आग्रह गरेका छन् ।
वीरगन्ज महानगरपालिका–२ छपकैया घुसकपुर निवासी सकिना खातुनले पानीको समस्याले जनजीवन कष्टकर भएको र तर अहिले मन्त्री यादवको पहलले राहत दिएको भन्दै भनिन् “उहाँलाई कोटी–कोटी धन्यवाद दिनु पर्छ”।
वीरगन्ज–११ श्रीपुरका चन्द्रिका प्रसादले चापाकल सुकेपछि पानीको अभाव झेल्नुपरेको बताउँदै अहिले बोरिङ जडानपछि समस्या समाधान भएको बताए। त्यस्तै, वीरगन्ज–१६ निवासी अमिन मियाँले चापाकलहरू सुक्दै गएपछि बस्तीभर पानीको हाहाकार भएकोमा अहिले बोरिङ जडानपछि सबै स्थानवासी खुसी भएको बताए।
खानेपानी संस्थान वीरगन्जका प्रमुख विपुल दासले पर्साका कुनै पनि घरमा पिउने पानीको अभाव नहोस् भन्ने उद्देश्यले डीप बोरिङ जडान कार्य तीव्र गतिमा अगाडि बढाइएको जानकारी दिए। उनका अनुसार, असार मसान्तसम्म १०० स्थानमा डीप बोरिङ जडान गर्ने लक्ष्य राखिएको छ। प्रत्येक डीप बोरिङबाट कम्तीमा ५० देखि ८० घरधुरीलाई पानी आपूर्ति गर्ने योजना रहेको उनले बताए।
साथै, बोरिङसँगै २,००० लिटर क्षमताको ट्याङ्की निर्माण र घर–घरमा पाइपलाइन जडान कार्य पनि तीव्र गतिमा भइरहेको प्रमुख दासले जानकारी दिए।