वीरगन्ज,२७असाेज:राजस्व अनुसन्धान विभागअन्तर्गत बाराको पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले वीरगन्ज महानगरपालिका–९, गीता मन्दिर रोडमा रहेको एक सुनचाँदी व्यवसायीको घरमा सोमबार छापामारी गरेको छ ।
वीरगन्ज-८ मा रहेको अभिषेक ज्वेलर्सका सञ्चालक अभिषेक सर्राफको घरमा राजस्व चुहावटको सूचनाको आशंकामा राजस्व अनुसन्धानकाे टाेलीले छापा मारेकाे हो ।
राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरि प्रसाद शर्माले सर्राफले राजस्व चुहावट गरेको भन्ने सूचनाको आधारमा उनको घर, कारोबार स्थल र गोदाममा खानतलासी भइरहेको बताए । खानतलासीका क्रममा कारोबारसँग सम्बन्धित कागजात, खाता, विद्युतीय माध्यम र अन्य प्रमाणहरू कब्जामा लिने कार्य भइरहेको उनले बताए ।
रमजस्वका अधिकारीहरूले सर्राफलाई दिएको पत्रमा भनिएको छ, “राजस्व चुहावट भएको भन्ने सूचनाको आधारमा यो खानतलासी गरिएको हो। राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम कारोबारसँग सम्बन्धित कागजात, मालसामान तथा अन्य प्रमाणहरू कब्जामा लिन र आवश्यकता अनुसार शीलछाप गर्न टोलीलाई सहयोग गर्न अनुरोध छ ।”
छापामारीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ । छापामारी अझै जारी रहेको बताइएको छ ।
यसैबिच, सुनचाँदी व्यवसायीहरूले छापामारीको विरोध गर्दै नाराबाजी गरेका छन् । उनीहरूले राजस्व अनुसन्धान कार्यालयले व्यवसायीहरूलाई अनावश्यक दुख दिएको र हैरान गरेको आरोप लगाएका छन् । व्यवसायीहरूले घरमा सामग्री राख्दैमा अनुसन्धान गर्नु अनुपयुक्त रहेको बताएका छन् । राजस्व अनुसन्धान कार्यालयले व्यवसायीहरूलाई त्रसित बनाएको पनि उनीहरूले आरोप लगाए ।साभार:यात्रा डेली