Madhes Khabar
स्थानिय हेडलाइन

बहुदरमाईका मेयरले हाकिमलाई अख्तियारी नदिदाँ शिक्षक र कर्मचारीले ४ महिनादेखि पाएनन् तलब

वीरगन्ज,८मंसिरःपर्साको बहुदरमाई नगरपालिका मातहत रहेका सामुदायिक विद्यालयका शिक्षक, स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी र कर्मचारीले विगत ४ महिनादेखि तलब पाएका छैनन् ।दसैं,तिहार र छठ जस्ता चाडपर्वमा समेत तलब नपाएका उनीहरूलाई अहिले घरखर्च धान्न समस्या भएको छ ।

नगरसभा सम्पन्न भएपनि मेयर सिंघासन साह तेलीले प्रमुख प्रशासकीय अधिकृत शेरे मुस्तफालाई बजेट खर्चको अख्तियारी नदिएकाले शिक्षक,स्वास्थ्यकर्मी र कर्मचारीहरुको तलब निकासा हुन नपाएको हो ।बहुदरमाई नगरपालिकामा रहेका १८ वटा सामुदायिक विद्यालयका १ सय ९० शिक्षक, ९ स्वास्थ्यचौकीका ४७ स्वास्थ्यकर्मी र नगरपालिकामा कार्यरत ७५ जना कर्मचारीले गत साउनदेखि तलब भत्ता नपाएका हुन् । नगरपालिकाका अनुसार शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीको तलबमा मात्र मासिक १ करोड १८ लाख रुपैयाँ निकासा हुने गरेको थियो ।

स्थानीय सरकार सञ्चालन ऐनबमोजिम असार १० भित्रै अगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ । तर, बहुदरमाई नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को बजेट निर्धारित समयभन्दा झन्डै चार महिनापछि गत कात्तिक ८ गते ११ औं नगरसभामा प्रस्तुत भएको थियो । दसैंमा तलब नपाएका शिक्षक, स्वास्थ्यकर्मी र कर्मचारीले तिहार र छठपूजामा तलब पाउने विश्वास लिएका थिए । तर, नगरसभा सम्पन्न भएको करिब एक महिना पुग्नै लाग्दा पनि मेयरले बजेट खर्चको अख्तियारी दिएका छैनन् ।

स्थानीय सरकार सञ्चालन ऐनअनुसार नगरसभाबाट बजेट स्वीकृत भएको ७ दिनभित्र स्थानीय तहका प्रमुखले प्रशासकीय अधिकृतलाई बजेट खर्च गर्ने अख्तियारी प्रदान गर्नुपर्ने व्यवस्था छ ।

गत शुक्रबार उपमेयर सुष्मा कुशवाहको नेतृत्वमा ६ जना वडाध्यक्षले मेयरले बजेट खर्चको अख्तियारी नदिएकाले नगरपालिकाभित्रका सम्पूर्ण कामकाज प्रभावित बनेको भन्दै प्रमुख जिल्ला अधिकारी र कोष तथा लेखा नियन्त्रक प्रमुखलाई ज्ञापनपत्र बुझाएका थिए । जनप्रतिनिधिले जति प्रयास गर्दा पनि मेयरले बजेट खर्चको अख्तियारी नदिएको र नगरभित्रका सम्पूर्ण काम–कारबाही बाधित पार्ने बदनियतले निर्वाध रूपले आफ्नो कार्य सम्पादन गर्न गाह्रो तुल्याउनु भएकाले कानुनबमोजिम कार्य गर्न ज्ञापनपत्र बुझाएको उपमेयर कुशवाहले बताइन् ।

यता मेयर साहले भने नगरपालिकाबाट हुने कामपनि नगरी आफूलाई बदनाम गर्नेतर्फ कर्मचारीहरु लागेको आरोप लगाएका छन् । नगर सभामा प्रस्तुत भएको योजनाले नगरपालिकामा खासै विकास नहुने उनले दाबी गरे । ‘६० प्रतिशत बजेट खरिदमा राखिएको छ,’ उनले भने, ‘प्रमुख प्रशासकीय अधिकृतले राजनीति गर्दैछन् ।’ वडा नम्बर ६ को योजना नगरसभामा प्रस्तुत नभएकाले बजेट खर्चको अख्तियारी नदिएको उनले खुलाए ।

प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफाले भने कानुनबमोजिम हुने काम मात्र आफूले गर्ने बताए । ‘वडा नम्बर ६ को योजना नगरबाटै चलाउन दबाब आएको थियो,’ उनले भने, ‘नगरसभाबाट निर्णय भएपछि मात्र आफूले माइन्युटमा थप्ने अडान लिएको थिए ।’ नगरसभामा प्रस्तुत नगरी निर्णयमा थप्न नमिल्ने बताएपछि माइन्युट बन्द नगरी खुल्लै राख्ने सहमति पनि भएको उनले बताए ।

नगरसभाको एकदिन अगाडि बसेको बोर्ड बैठकमा समेत वडा नम्बर ६ को योजनाका बारेमा कुनै छलफल नै नभएको उनले बताए । ‘बोर्ड बैठक सकेपछि नगर प्रमुखज्यूले ६ नम्बर वडाको योजना नगरले नै चलाउनुपर्छ भन्नुभयो,’ प्रमुख प्रशासकीय अधिकृत मुस्तफाले भने, ‘नगरसभाबाट निर्णय गराउनूस् अनि वडाको योजना नगरबाट चलाउन मिल्छ भनिएको थियो । तर, नगरसभाबाट निर्णय नै नगराई माइन्युटमा थप्ने दबाब आएको थियो ।’

नगरपालिका स्रोतका अनुसार मेयर साहले गत असोजदेखि नै प्रमुख प्रशासकीय अधिकृतलाई यहाँबाट सरुवा गराउन काठमाडौं धाइरहेका छन् । स्रोतका अनुसार पुरानो हाकिमको पालामा डोर हाजिरीमा नियुक्त भएका २८ जना कर्मचारी अहिलेको हाकिमको कार्यकालमा हटाइएपछि मेयर र प्रमुख प्रशासकीयबीच दूरी बढेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि डोर हाजिरीमा खटिएका कर्मचारीलाई हटाइएको थियो । ‘यसैगरी गत साउनमा स्वास्थ्य शाखामा नयाँ कर्मचारी नियुक्त गर्ने विषयमा समेत दुवैबीच मतान्तर देखिएको थियो,’ वडा नं. ३ का वडाध्यक्ष दिनेश यादवले भने, ‘आफूले भनेबमोजिम हाकिमले काम गर्न नमानेपछि उनैलाई सरुवा गराउन लागिपरेका हुन् ।’ हाकिमको सरुवा गराउन नसकेका नगर प्रमुखले बजेट खर्चको अख्तियारी नदिँदा नगरपालिकाको सबै काम प्रभावित बनेको यादवले बताए । भूषण यादव/कान्तिपुर

Related posts

वीरगन्जकाे इनर्वाबाट गाँजासहितकाे भारतीय ट्रक र चालक पक्राउ

MadhesKhabar

राजनीतिक गतिविधिमा भाग लिने शिक्षक र प्राध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

MadhesKhabar

नारायणी अस्पतालमा आकस्मिक सेवा सहित २२ बेडको डायलोसिस वार्ड सन्चालन

MadhesKhabar

Leave a Comment