
मधेसखबर
वीरगन्ज,२९ मंसिर : वीरगन्जको नारायणी अस्पतालमा २२ शैय्या (बेड)को छुट्टै डायलोसिस वार्ड सन्चालनमा ल्याइएको छ ।अस्पतालमा यसअघि एउटा कोठामा ७ वटा मात्र मेसिन राखेर डायलोसिस सेवा सन्चालन गरिएकोमा बुधबार देखि छुट्टै वार्ड बनाएर थप १५ वटा मेसिन जडान गरि २२ बेडको डायलोसिस वार्ड सन्चालनमा ल्याइएको हो ।
सिद्धार्थ बैंकले अस्पतालकै आकस्मिक उपचार कक्ष भवन माथिको तल्लामा ५५ लाख रुपैयाको लागतमा निर्माण गरि दिएको भवनमा २२ बेडको डायलोसिस वार्ड सन्चालनमा ल्याइएको अस्पतालका सूचना अधिकारी डाक्टर उदय नारायण सिंहले बताए ।
उनका अनुसार , यसअघि अस्पतालको एउटा साँघुरो कोठामा ७ वटा मात्र डायलोसिस मेसिन राखेर सेवा सन्चालन गरिएको थियो । तर अहिले स्वास्थ्य मन्त्रालयले थप १५ वटा नयाँ मेसिन उपलब्ध गराएपछि छु््ट्टै भवनमा आकस्मिक डायलोसिस सेवा सहितको २२ बेडको वार्ड सन्चालनमा ल्याइएको डाक्टर सिंहले बताए ।
सिंहका अनुसार , यसअघि ७ वटा मात्रै मेसिनबाट सेवा प्रवाह हुदा नियमित सेवा लिइरहेका बिरामीले मात्रै डायलोसिस सेवा लिदै आएका थिए । आकस्मिक सेवा उपलब्ध थिएन । तर अब डायलोसिस् वार्डमा दुइ वटा बेड आकस्मिक सेवाका लागि छुट्याइएको छ । उनले भने ,‘ निमोनीया लगायत विभिन्न रोगका कारण एक्कासी मृगौलामा असर परेको बिरामीलाई पनि अब यहिबाट सेवा दिन सकिन्छ ।
त्यस्तै हेपाटाइटीस् र एचआइभिका संक्रमित बिरामीका लागि पनि दुइ वटा बेड छुट्याएर राखिएको अस्पतालका मेडिकल सुपरिडेन्टेण्ट (मेसु) डाक्टर वीरेन्द्र प्रधानले जानकारी दिए ।
यसअघि हेपाटाइटीस् र एचआइभिका संक्रमितका लागि मधेस प्रदेशमै डायलोसिस सेवा उपलब्ध थिएन । उनिहरुलाई डायलोसिस् सेवाका लागि कि त काठमाण्डौ कि त धरान जानु पर्ने बाध्यता थियो । तर अब भने नारायणी अस्पतालमै उनिहरुले सेवा पाउने भएको अस्पतालका मेसु डाक्टर प्रधानले बताए ।

नारायणी अस्पतालमा यसअघि २४ जना मात्र मृगौला रोगीले नियमित डायलोसिस् सेवा लिदै आएका थिए । तर अब २२ बेडको वार्ड सन्चालनमा आएपछि भने कम्तिमा ५० जनाले नियमित सेवा लिन पाउने मेसु प्रधानले जानकारी दिए ।
सरकारको निर्णय अनुसार अस्पतालले नियमित सेवा लिइरहेका मृगौलाका दीर्घ रोगीका लागि डायलोसिस् सेवा उपलब्ध गराउदै आएको छ । यस्तै आकस्मिक डायलोसिस् सेवा लिनेको हकमा भने अस्पतालले एक पटकको लागि ५ हजार रुपैया शुल्क तोकेको छ । जबकी नीजी स्वास्थ्य संस्थाले भने न्युनतम १० देखि १२ हजार रुपैया शुल्क लिदै आएका छन् ।
डाक्टर प्रधानले भने ,‘ निजी अस्पतालले इमर्जेन्सी डायलोसिस् गरेको १० देखि १२ हजार रुपैया लिन्छन् , तर यहाँ त्यस्ता बिरामीले आकस्मिक सेवा लिदा ५ हजार मात्र तिरे पुग्छ , अस्पतालमा नियमित सेवा लिइरहेकाहरुले भने एक रुपैया पनि तिर्न पर्दैन , त्यसको सम्पूर्ण खर्च नेपाल सरकारले नै व्यवहोर्दै आएको छ ।

