वीरगन्ज,१३असारःवीरगन्जमा शुक्रबार निकालिएको गहवामाई रथ यात्रामा सहभागी भएका बेलामा करिब १५/१६ जना महिला भक्तजनहरुको सुनको गहना चोरी भएको छ ।
रथ यात्राले नर परिक्रममा गर्ने क्रममा रथ यात्रामा सहभागी भएका १५/१६ जना महिलाहरुको सुनको गहना चोरी भएको रथ यात्रामा सहभागी बाराको परवानीपुरका युवा रोहित सोनलले बताए । महिला भक्तजनहरुको गहना चोरीमा संलग्न एक भारतको बिहारको बगहा घर भएकी ४० वर्षीया जयमती हरिजनलाई आँफुहरुले नै रंगे हात पक्रेर प्रहरीकोृ जिम्मापनि लगाएको उनले बताए ।
गहना चोरी भएपछि पिडित महिलाहरु जिल्ला प्रहरी कार्यालय पर्सामा पुग्दा प्रहरीले सुरुमा उल्टै गहना किनेको बील लिएर आउन भन्दै जवाफ दिएको उनले बताए । पछि आँफुहरुले त्यसको प्रतिवदा गरेपछि प्रहरीले पिडित महिलाहरुको निवेदन लिएको उनले जानकारी दिए ।
यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक सुवाष भट्टले भने अहिलेसम्म ६ जना महिलाले गहना चोरी भएको निवेदन दिएको बताए ।उनिहरुले दिएको निवेदन प्रहरीले लिएर अनुसन्धान गरिरहेको उनले बताए । रथयात्रामै चोरी गर्ने क्रममै ४० वर्षीया भारतीय महिला जयमती हरिजन पक्राउ परेको र उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
वीरगन्ज–६ माईस्थानस्थित गहवामाई मन्दिरको पुर्ननिर्माण भएको १३ औं वर्ष पुरा भएको उपलक्ष्यमा शुक्रबार गहवामाई रथ यात्रा निकालिएको थियो । नगर परिक्रममा गर्ने क्रममा उक्त रथ यात्रामा एक लाख बढी भक्तजनहरु सहभागी भएका थिए ।