वीरगन्ज,३०चैत :वीरगन्जमा शनिबार हनुमानको जन्मोत्सवको अवसरमा निकालिएको शोभायात्राका क्रममा दुई फरक समुदायबीच झडप भएपछि स्थिती तनावग्रस्त बनेको छ।शनिबार अपरान्ह शोभायात्राले नगरपरिक्रमा गर्ने क्रममा वीरगन्जको छपकैयामा पुगेपछि दुई फरक धर्मका समुदायबीच झडप भएको हो।
स्थिती नियन्त्रणमा आउन नसकेपछि स्थानीय प्रशासनले वीरगन्ज शहरी क्षेत्रमा कर्फु आदेश जारी गरेको छ । वीरगन्जमा शनिबार बेलुकी ७.३० बजेदेखि आइतबार दिउँसो १२ बजेसम्मका लागि कर्फु आदेश जारी गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । उनका अनुसार, पूर्वमा भेडियाही चोक, उत्तर गण्डक चोक,पश्चिममा सिर्सिया चोक र दक्षिणमा शंकराचार्य गेट गरी चार किल्ला तोकर वीरगन्ज शहरी क्षेत्रमा कर्फु आदेश जारी गरिएको हो ।
शनिबार अपरान्हदेखि निस्किएको हिन्दुहरुको शोभा यात्रा नगरपरिक्रममा गर्ने क्रममा छपकैया पुगेपछि ढुंगामुढा भएपछि दुई समुहबीच झडप सुरु भएको थियो । त्यसक्रममा छपकैयाका दुुई वटा बिरियानी हाउस, केहि मासु पसल, एउटा औषधि पसलका साथै निजी घरमा तोडफोड गरियो । बिरयानी हाउसका फर्निचर, फ्रिज, चुल्हो , काउण्टर लगायतका सामान सडकमा ल्याएर आगजनीपनि गरियो ।त्यसैक्रममा त्यहाँ ८ भन्दा बढी मोटरसाइकलमा आगजनीपनि गरियो ।
दुुईसमुहबीचको झडप नियन्त्रणमा लिन प्रहरीले लाठी चार्जका साथै अश्रु ग्यास र हवाई फायरपनि प्रहार गर्यो । छपकैयाको इदगाह चोकमा शनिबार बेलुकी ८ बजेसम्मपनि प्रहरी र स्थानीयबीच झडप चलिरहेकोपछि नेपाली सेना परिचालन गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।उनले भने, बेलुकीसम्मपनि स्थिती नियन्त्रणमा नआएपछि कर्फु लगायौं , कर्फु लागेपछि सेना सडकमा आयो । स्थिती विस्तारै अब नियन्त्रणमा आउन थालेको छ ।
शनिबार बेलुकी ८ बजेसमम प्रहरीले दुई राउण्ड हवाई फायर र १ सय ३० राउण्ड अश्रु ग्यास प्रहार गरेको प्रमुख जिल्ला अर्याललले बताए ।
उनका अनुसार, शनिबार अपरान्हदेखि भएको झडपका क्रममा प्रहरी र स्थानीय गरी ४० जना घाइते भएका छन् । प्रहरी तर्फ पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रसिंह सहित २५ जना प्रहरी घाइते भएको अर्यालले जानकारी दिए् । यस्तै प्रदर्शनकारीतर्फपनि शनिबार बेलुकीसम्म १५ जना घाइते भएको उनले बताए । घाइतेहरुको वीरगन्जको नारायणी अस्पताल र अन्य अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए।
प्रजिअ अर्यालका अनुसार, शनिबार दिउँसो घण्टाघर चोकबाट निस्किएको हनुमान जन्मोत्सवको शोभायात्रा छपकैयाको श्रीराम हल नजिक पुगेपछि शोभायात्रामा सहभभागी एक जनाले बोकेको जय श्रीरामको झण्डा एक अपरिचित युवाले खोसेका थिए । त्यसपछि विवाद सुरु भई दुई समुदायबिच झडप भएको र त्यसले स्थिती तनावग्रस्त बन्न पुगेको अर्यालले बताए ।