वीरगन्ज,३०चैतःवीरगन्ज–पथलैया औद्योगिक कोरिडोरका उद्योगहरुमा भइरहेको अघोषित लोडसेडिङ र अनियमित विद्युत कटौतीले उद्योगहरु मरमा परेका छन् ।
नेपाल विद्युत प्राधिकरणले वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरमा बिना सूचना लोडेसिडङ र विद्युत कटौती गर्दै आएका कारण करिडोरमा रहेका उद्योगहरु धराशायी हुन थालेको भन्दै वीरगन्ज उद्योग वाणिज्य संघले जनाएको छ ।
शनिबार संघले एक विज्ञप्ति जारी गर्दै वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरमा भइरहेको अघोषित लोडसेडिङ र बिना सूचना अनियमित विद्युत कटौती प्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विगत तीन दिन यता अघोषित लोडसेडिङ र बिना सूचना अनियमित विद्युत कटौतीका कारणले पर्सा र बारामा अवस्थित वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरमा रहेका साना–ठूला गरि करिब २ हजार उद्योगहरु मरमा परेको संघका बरिष्ठ उपाध्यक्ष माधव राजपालले बताए ।
उनले भने,‘कुलामन घिसिङ बर्खास्तीमा परेपछि केहि दिन अवस्था ठिक थियो ।तर विगत ३ दिन यता अघोषित लोडसेडिङ भइरहेको छ । पटक पटक टिपिङपनि भइरहेको छ । अस्ति बिहीबार साँझ ६ बजे कटेको लाइन हिजो शुक्रबार दिउँसो २ बजेमात्रै आयो । जगरनाथपुर फिडरमापनि पटक पटक टिपिङ भइरहेको छ ।’
अघोषित लोडसेडिङ र बिना सूचना अनियमित विद्युत कटौतीले उद्योगहरुको कच्चा पदार्थ खेर गएको,उद्योगका उपकरणहरु बिग्रिन थालेको,उत्पादन लागत बढेको र यसले उद्योगको उत्पादन क्षमतामै असर परिरहेको संघका बरिष्ठ राजपालले बताए । उनले भने,‘बिना सूचना र अनियमित विद्युती कटौतीले उद्योगहरु आफ्नो निश्चित क्षमता भन्दा निक्कै कम क्षमतामा चलिरहेका छन् । विद्युत आपूर्तिमा सुधार नल्याउने हो भने धेरै उद्योगहरु बन्द हुने अअवस्था आउने निश्चित छ ।
संघका अध्यक्ष हरि गौतमले भने,‘करिब ५/६ वर्षपहिले विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रलाई लोडसेडिङमुक्त क्षेत्र घोषणा गरेको थियो । सरकारले उज्यालो नेपालको नारा दिएको थियो । त्यसबाट उद्योगीहरु उत्साहित बनेका थिए ।तर अहिले आएर फेरि उद्योगहरुलाई धराशायी बनाउने काम भइरहेको छ ।’
वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरका उद्योगहरुले विभिन्न समस्या खेपिरहेकै बखत अहिले फेरि विद्युत कटौतीको समस्या झेल्नु पर्दा उद्योगीहरु मर्कामा परेको अध्यक्ष गौतमले बताए । उनले भने,‘ विद्युत कटौतीको बेला डिजी सेटबाट उद्योग सञ्चालन गर्नु पर्दा उत्पादन लागत बढ्न गई उद्योगहरुले आफ्नो प्रतिस्पर्धात्मक क्षमता गुमाउँदै गइरहेका छन् । त्यस्तै साना उद्योगहरुले विद्युत कटौतीको बेला डिजी सञ्चालन गर्न सक्ने अवस्था नभएकोले उद्योग नै बन्द राख्नु पर्ने अवस्था रहेको छ ।
वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरको औद्योगिक फिडरमा २४ घण्टामा १४/१५ पटकसम्म ट्रिपिङ्ग भइरहेको कारण औद्योगिक उपकरण बिग्रिनुका साथै कच्चा पदार्थहरु नोक्सान भइरहेको उनले बताए ।
त्यसकारण अहिले भइरहेको अघोषित लोडसेडिङको निश्चित समयावधि नै तोकी बाँकी समयमा गुणस्तरीय विद्युत आपूर्ति गर्नु पर्ने माग आँफुहरुको रहेको उनले बताए ।उद्योगहरुबाट खपत भएको विद्युत महशुलको रकम जुन किसिमले नेपाल विद्युत् प्राधिकरणले असुल गर्ने गर्दछ त्यही किसिमको गुणस्तरीय विद्युत आपूर्ति गर्नु पर्ने धारणा संघको रहेको उनले बताए ।