धरान,१०फागुन:राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डाक्टर महावीर पुनले धरानमा किताब बेचेर झन्डै एक करोड रुपैयाँ संकलन गरेका छन्। एक हप्तादेखि धरानको भानुचोकमा बसेर पुनले दैनिक किताब बेचिरहेका छन्।
दुई दशकसम्म बन्द रहेको वीरगन्ज कृषि औजार कारखाना सञ्चालनमा ल्याउन किताब बेचिरहेका पुनले शनिबारसम्म १२ हजार थान किताब बेचेको जानकारी दिए। शनिबार बिहानसम्म १२ हजार किताब बेचेर ९० लाख रुपैयाँ संकलन गरिएको पुनले बताए।
सरकारसँग वीरगन्ज कृषि ओैजार मर्मत गरेर पुन सञ्चालनमा लयाउने सम्झौता गरेका पुनले किताब बेचेको पैसाले कारखानाको पुनर्निर्माण गरी सञ्चालनमा ल्याइने बताएका छन्।
बिहान बेलुका धरानको भानु चोकमा किताब बेचिरहेका पुन शनिबार दिउँसो धरानका विद्यालय र विभिन्न संघ संस्थामा किताब बेच्न जाने गरेका छन्। पुनलाई किताब बेच्न धरानवासीहरूले साथ दिएर सहयोग गरिरहेका छन्।

