Madhes Khabar
समाचार

वीरगन्ज कारागारमा बैंकिङ कसुर र चेक अनादर मुद्दाका ३५ कैदीबन्दी

पर्सा,२कार्तिकः बैंकिङ कसुर तथा चेक अनादरका मुद्दा पछिल्लो समय बढ्दो देखिएका छन् । वीरगन्ज कारागारमा मात्रै हाल बैंकिङ कसुर र चेक अनादर मुद्दाका ३५ कैदीबन्दी रहेका छन् ।

कारागार कार्यालयका सूचना अधिकृत विनय श्रीवास्तवका अनुसार,वीरगन्ज कारागाारमा अहिले रहेका बैंकिङ कसुर र चेक अनादर मुद्दाका ३५ मध्ये ३१ जना कैदीबन्दी बैंकिङ कसुरका रहेका छन् ।

केही वर्षयता बैंकिङ कसुर र चेक अनादर मुद्दाका कैदीबन्दी कारागाारमा आउने क्रम बढेको श्रीवास्तवले बताए । ‘पछिल्ला वर्षमा बैंकिङ कसुर र चेक अनादरका विवाद बढ्दो क्रममा छन्,’ उनले भने, ‘त्यस कारण कैदीबन्दीको संख्या पनि बढ्दै गएको हुनुपर्छ ।’
सरकारले पनि यी मुद्दालाई गम्भीरताका साथ लिई कडाइ गर्ने नीति लिएपछि आपसी लेनदेनका सन्दर्भमा हुने बैंकिङ कसुर र चेक अनादरका घटना प्रहरी र अदालतसमक्ष बढी जान थालेका हुन् ।

जल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरक्षिक दीपक भारतीले अन्य क्षेत्रको तुलनामा तराई मधेसमा बैंकिङ कसुर र चेक अनादरका मुद्दाको चाप बढी हुने गरेको बताए । ‘समग्रमा देशमै यी कसुरका मुद्दा बढेकै छन् तर तराई मधेसमा तुलनात्मक रुपमा झनै बढी चाप रहेको छ,’ उनले भने, ‘तराई मधेसमा कपाली कागज गरिसक्दा पनि सुरक्षाका लागि साहुले ऋणीसँग चेकसमेत लिने प्रवृत्ति छ, अधिकांश यस्ता लेनदेनका घटनामा बैंकिङ कसुर र चेक अनादरको मुद्दा पर्ने गर्छ ।’

सामान्यतया प्रहरीमा यस्ता लेनदेनका उजुरी पर्दा बैंकिङ कसुरको र अदालतमा सोझै मुद्दा पर्दा चेक अनादर शीर्षकमा मुद्दा पर्ने गरेका छन् । प्रहरीमा उजुरी परेपछि प्रहरीले त्यसै अनुरुप बैंकिङ कसुरको मुद्दा सरकारी वकिलको कार्यालयमार्फत अदालतमा पेस गर्ने गर्छ ।शंकर आचार्य/कान्तिपुर

 

Related posts

वीरगन्जमा ई–रिक्साको ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

MadhesKhabar

कीट विश्वविद्यालयविरुद्ध कडा कदम चाल्न भारतकै विद्यार्थी संगठनकाे माग

MadhesKhabar

पाथीभारा मन्दिर जाँदै गरेको बोलेरो गाडीमा करेन्ट लागेर आगो लाग्दा जलेर ४ जनाको मृत्यु

MadhesKhabar

Leave a Comment