
वीरगन्ज,३पुस:जेनजी आन्दोलनमा वीरगन्जका मेयर राजेशमान सिंहको घरमा आगजनी गरेको आरोपमा पक्राउ परेमा हिन्दुवादी नेता रन्जन सिंह राजपुत रिहा भएका छन्।
अनुसन्धानका लागि बिहीबार बिहान जिल्ला प्रहरी कार्यालय पर्सामा बाेलाइएका बेला वीरगन्ज-१० रानीघाटका ४१ वर्षीय राजपुतलाई प्रहरीले नियन्त्रणमा लिएको थियाे।
सरकार र जेनजीप्रतिनिधिबीच मंसिर २४ गते भएको १० बुँदे सम्झाैता अनुसार, जेनजी आन्दाेलनमा सहभागी भएकै आधारमा प्रहरी थुनामा राख्न नपाइने र आवश्यक परे बयानका लागि फेरि बाेलाउन सक्ने शर्तमा जिम्मा जमानीमा राजपुतलाई रिहा गरिएको पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले जानकारी दिए।
मेयर सिंहकाे निजी घरमा भदाै २४ मा आगजनी गरिएको घटनामा संलग्न रहेकाे भन्दै मेयर सिंहले रमजपुतसहित ६ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।त्यसपछि उनिहरु विरुद्ध प्रहरीले मुद्दा दर्ता गरेपछि पर्सा जिल्ला अदालतले राजपुतसहितका विरुद्ध पक्राउ पूर्जी जारी गरेकाेमा अनुसन्धानका लागि बिहीबार राजपुतलाई नियन्त्रणमा लिइएकाे प्रहरी उपरीक्षक पाठकले बताएका थिए।
बेलुकी ७:२० बजेतिर प्रहरीले राजपुतलाई रिहा गरेपछि प्रहरी उपरीक्षक पाठकले भने,` नेपाल राजपत्रमा प्रकाशीत नेपाल सरकार र जेनजी प्रतिनिधिबीचकाे १० बुँदे सम्झाैता अनुसार राजपुतलाई रिहा गरिएको हाे।´उनले उक्त १० बुँदे सम्झाैतामा प्रहरी थुनामा नराखिकन प्रहरीले बयान लिनुपर्ने उल्लेख रहेकाेले आँफुहरुले कानुनकाे पालना गरेर राजपुतलाई रिहा गरेकाे बताए ।उनले थपे,`उनिविरुद्धकाे मुद्दा सकिएकाे चाहिँ हाेइन।बयानका लागि उनलाई प्रहरीले फेरि बाेलाउन सक्छ।बिहीबार उनलाई बयानकै लागि जिल्ला प्रहरी कार्यालयमा बाेलाएर राखिएको पनि उनले बताए ।
त्यसअघि बिहीबार दिउँसाे जेनजी र हिन्दुवादी युवाहरुले राजपुतकाे रिहाईकाे माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सा अगाडिकै सडकमा टायर बालेर प्रदर्शन गरेका थिए ।
राजपुत निर्दाेष रहेकाे भन्दै उनिहरुले तत्काल बिना शर्त रिहा नगरिए अझ सशक्त आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका थिए।
भदौ २३ र २४ मा जेनजी आन्दोलनका क्रममा वीरगन्जमा सार्वजनिक र निजी सम्पतिमा गरिएको आगजनीको घटनामा संलग्नहरूलाई प्रहरीले बिहीबारदेखि पक्राउ गर्न सुरु गरेको हाे। यसै क्रममा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको वीरगन्ज महानगरपालिका-३ स्थित घरमा आगजनी गरेको आरोपमा वीरगन्ज महानगरपालिका-१० रानीघाटका राजपुतलाई प्रहरीले पक्राउ गरेकाे थियाे ।
मेयर सिंहले आफ्नो निजी घरमा तोडफोड, आगजनी र लुटपाट गर्नेहरु विरुद्ध किटानी जाहेरी दिएपछि पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको र त्यसैका आधारमा बिहीबार बिहान राजपुतलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको पाठकले बताएका थिए ।
जेजनी आन्दोलनका क्रममा भदौ २४ गते वीरगन्जमा वीरगन्ज महानगरपालिकाको कार्यालय, वडा नम्बर १०, १४ र २६ को कार्यालय, प्रहरी चौकी रानीघाट, अस्थायी प्रहरी पोस्ट घण्टाघर र शिव पार्वती मठ, आन्तरिक राजस्व कार्यालय, नेपाल टेलिकमको कार्यालय, नेपाली कांग्रेस र नेकपा एमालेको पार्टी कार्यालयमा तोडफोड, आगजनी र लुटपाट गरिएको थियो।
त्यही दिन वीरगन्ज महानगरका मेयर राजेशमान सिंह, पूर्वमन्त्रीहरु प्रदीप यादव, अजय चौरसिया र राजकुमार गुप्ता, मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत, नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुंगटाको निजी घरमा तोडफोड, आगजनी र लुटपाट गरिएको थियो।

