Madhes Khabar
मधेस प्रदेश हेडलाइन

अन्तरिम सरकार बनेपछि मधेसका मुख्यमन्त्री सिंहले कुरा फेरे,अब भन्छन् :मैले राजीनामा दिएको छैन

जनकपुरधाम,२८भदौंःजेनजीको भदौ २४ गते आन्दोलन चर्किएका बेलाा मधेस प्रदेशका मुख्यमन्त्री पदबाट राजीनामा घोषणा गरेका सतिशकुमार सिंहले अन्तरिम सरकार गठनपछि कुरा फेरेका छन् । त्यसदिन विषम परिस्थितिमा कसैको जनधनको क्षति नहोस् भनेर फेसबुकमा राजिनामा लेखेको उनले बताए ।

‘कसैको जनधनको क्षति नहोस्, सार्वजनिक सम्पतिको क्षति नहोस् भनेर राजिनामा दिनुपर्छ भनेर म तयार छु । त्यो दिन प्रदेश प्रमुख हुनुहुन्नथ्यो । कोही भएको भए दिन्थेँ’ उनले तर्क गरे । तर सो दिन मुख्यमन्त्री सिंहले फेसबुकमा राजीनामा दिएको उल्लेख नै गरेका थिए ।

‘नागरिककै जीवन सुरक्षित गर्न नसकिएको वर्तमान परिस्थितिले मलाई आत्मसम्मानपूर्वक यो निर्णय लिन बाध्य बनाएको छ । नागरिकको ज्यानभन्दा ठूलो अरु केही छैन भन्ने अटल विश्वासका साथ, जनताको अधिकार र भविष्यप्रति उत्तरदायी हुँदै म मधेश प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा गर्दछु’ उनको फेसबुकमा उल्लेख छ ।

त्यसको चार दिनपछि कुरा फेरेका मुख्यमन्त्री सिंहले अब भनेका छन्, ‘सिस्टम चेन्जको म स्वागत गर्छु । तर राम हटेर श्याम आउन, श्याम हटेर भरत आउनको लागि म छैन नि !’

तर फेसबुकमा राजीनामा दिइसकेको व्यक्ति नैतिक रुपमा पछाडि हटेर आज राजीनामा दिएको छैन भनेर भन्न त मिलेन नि भन्ने पत्रकारको जिज्ञासामा उनले भने, ‘मान्नलाई मेरो मात्र नैतिकता छैन नि । सबैले मान्नु पर्यो नि । मसँग कसैले राजीनामा पनि त मागेको थिएन ।’


मधेसका मुख्यमन्त्री सतिश कुमार सिंहको फेसबुक स्टाटस

पहिलेको र अहिलेको परिस्थिति फरक रहेकाले राजीनामा नदिने उनले बताए ।उनलाई राजीनामा दिन जनमतका अध्यक्ष डा. सिके राउतले निर्देशन दिएका थिए । त्यसको केहीबेरपछि सिंहले फेसबुकमा वक्तव्य लेख्दै राजीनामा गरेको घोषणा गरेका थिए ।

तर उनले अहिलेसम्म प्रदेश प्रमुख कार्यालयमा लिखित राजीनामा बुझाएका छैनन् । मुख्यमन्त्री सिंहले राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाउनु पर्ने र प्रदेश प्रमुखले स्वीकृत गर्ने संवैधानिक व्यवस्था छ ।

मधेस प्रदेश प्रमुख कार्यालयका सचिव शत्रुधन यादवले अहिलेसम्म मुख्यमन्त्री सिंहको राजीनामा पत्र कार्यालयमा प्राप्त नभएको बताएका छन् । यो खबर सार्वजनिक भएको र देशले अन्तरिम सरकार पाएर सामान्य अवस्थामा फर्किन थालेपछि मुख्यमन्त्री सिंहले कुरा फेरेका हुन् ।

२५ जेठ २०८१ मा नेकपा एमाले लगायत ७ दलको समर्थनमा जनमतका सतिश सिंह मधेस प्रदेशको मुख्यमन्त्री बनेका थिए । केन्द्रको राजनीतिक घटनाक्रमले माओवादीसहितका दल बाहिरिएका थिए । नेपाली कांग्रेसले भने समर्थन गर्दै सरकारमा सहभागी भएको थियो ।शैलेन्द्र महतो/अनलाइनखबर

Related posts

गहवामाई मन्दिरमा दशैंभर मोबाइल प्रतिबन्ध : टिकटक बनाउन,सेल्फी र भिडियो खिच्न रोक

MadhesKhabar

छठ पर्व मनाउन वीरगन्ज कारागारका महिला कैदीबन्दीहरुलाई साडी वितरण 

MadhesKhabar

कार्यसम्पादन मुल्यांकनमा बाराकाे परवानीपुर गाउँपालिका मधेस प्रदेश मै सर्वाेत्कृष्ट

MadhesKhabar

Leave a Comment