माधुरी महतो
वीरगन्ज,३०माघःस्थानीय सरकारको प्रमुख र उपप्रमुख मध्ये एक पदमा र प्रत्येक वडामा दुई महिला हुनै पर्ने संवैधानिक व्यवस्था लागुभएको यो दोस्रो कार्यकाल हो ।पहिलो कार्यकालमा मधेसका धेरैजसो महिला प्रमुख÷ उपप्रमुखलाई उनिहरुका श्रीमानले चलाउने आरोप धेरै सुनिएको थियो ।
पहिलो कार्यकालमै राम्रा काम गर्ने महिला जनप्रतिनिधि नभएका होइनन्। पहिलो कार्यकालमा राम्रो काम गरेकाले दोस्रो कार्यकालमा पनि मेयरको चुनाव जितेकी एक उदाहरण हुन् रौतहटको मौलापुर नगरपालिकाककी रिना साह ।
त्यस्तै पर्साको पटेर्वा सुगौली गाँउपालिकाकी उपाध्ध्यक्ष ममता महतो थारू पनि दोस्रो कार्यकालमा चुनिएकी हुन् ।
महिला प्रमुख र उपप्रमुख भएकाले नगरमा महिलाविकासका मुद्दा प्राथमिकतामा परेको देखिन्छ। बजेट अन्यत्रभन्दा महिला मैत्री देखिन्छन्।स्थानीयवासीले पनि राम्रो काम गरेको भनेर उनीहरूको प्रशंसा गरेको पाइन्छ।पाँच महिला मेयर/ उपमेयरले कसरी काम गरेर स्थानीयको मन जितिरहेका छन् भनेर हामी यो कथामा चर्चा गर्दैछौं ।
रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिना साह
उनी २२ वर्षअघिदेखि राजनीतिमा संलग्न छिन्। जनताका बीचमा रहेर अनेक समस्याको समाधान गर्न सक्ने र समाजलाई सही दिशा दिन सक्ने मान्छे नै नेता हो भन्ने उनलाई लाग्छ।आफूले दुईवटा कार्यालमा त्यही काम गर्न कोसिस गरेको उनले बताइन्।चुनाव जितेर पालिका चलाएको सात वर्षमा आफ्नो नगरमा उनले देखेको सबैभन्दा ठूलो परिवर्तन हो– हर क्षेत्रमा महिलाको बाक्लो उपस्थिति।
आफूले महिलाका मुद्दामा दिएको प्राथमिकताका कारण पनि उनीहरूलाई घरको चौघेरामात्र सिमित नभएर हरेक ठाउँमा उपस्थिति जनाउन सजिलो भएको मेयर रिनाको दाबी छ।सात वर्ष अघिसम्म गाउँमा ५० प्रतिशत भन्दा बढी महिलाहरु खाना पकाउन आगोको चुल्हो प्रयोग गर्थे। धुवाँका कारण महिलाहरुलाई विभिन्न रोग लाग्थ्यो। उपचारमा महिलाको पहुँच कम थियो। तर आफू निर्वाचित भएपछि रिनाले गरेको सबभन्दा पहिले भन्सालाई धुवाँमुक्त बनाउने अभियानमा जुटिन्। घरघरमा ग्यास चुलो बाल्न प्रेरित गरिन्।
रिनाको दोस्रो काम हो, महिलालाई स्वरोजगार बनाउने कार्यक्रम लागु गर्नु।यो कार्यक्रम अन्तर्गत प्रत्येक वर्ष करीब १ हजार भन्दा बढी महिलालाई कुनै न कुनै वस्तु उत्पादन गर्ने र तिनको बिक्रि वितरण गर्ने तालिम दिइन्छ।सकेसम्म स्थानीय बजारमा खपत हुने सामाग्री जस्तै मैनबत्ती, सरफ,अगरबत्ती लगायत बनाउन तालिम दिन्छन्।त्यतिमात्र होइन महिलालाई लक्षित गरेर आयआर्जन हुने खालका बाख्रा, विउबिजन वितरण जस्ता कृषि कार्यक्रम पनि उनले लागु गरिन् ।
रिनाको नेतृत्वले लागु गरेका महिला तथा बालबालिका लक्षित अरू पनि कार्यक्रम छन्। महिला तथा बालबालिकालाई पोषणयुक्त खाना, सेनेटरी प्याड, राहत वितरण तिनै मध्ये पर्छन्। महिला हिंसा, छुवाछुत, बालविवाह जस्ता सामाजिक कुरिति विरूद्धका अभियान पनि सञ्चालन गरेको मेयर रिनाले बताइन्।आफ्नो पालिकामा महिला मेयरले चुनाव जिते यता महिलाका लागि धेरै काम भएको मौलापुरकी स्थानीय महिला गंगा देवीले बताइन्।
‘पुरूष मेयर भएको भए महिलाका सुख ुख कहाँ बुझ्थे र? महिला भएकैले महिलाका लागि मेयर रिना साहले धेरै काम गर्नुभएको छ,’ उनले भनिन्, ‘पहिला त राजनीतिमा महिलाको भोटको हाल्ने दिन मात्र काम हुन्छ जस्तो लाग्थ्यो। तर फरक रहेछ। महिनावारी हुँदा हामीले कस्तो कपडा प्रयोग गर्ने देखि सुत्केरी हुँदा के खानेसम्मको काम राजनीति गरेकाहरुले गर्नुपर्ने रहेछ। चुल्हो बाल्नेदेखि पैसा कमाउनेसम्मका कामबारे राजनिति पार्टीका नेताले सोच्नुपर्ने रहेछ भन्ने थाहा भएको महिला मेयर भएरै हो।’
त्यहीकी महिला प्रमिला देवीले महिलाहरूले सरकार चलाउन सक्ने रहेछौँ अनि हाम्रो कुरा पनि सरकारले सुन्ने रहेछ भन्ने थाहा भएको बताइन्।‘हामी पनि यो पालिकाको जनता भएको महसुस भएको छ। यस्तो त पहिले कहिले भएको थिएन। हामी महिला पनि केही गर्न सक्छौँ,’ उनले भनिन्, ‘गाउँठाउँमै काम गरेर आर्थिक आम्दानी समेत गर्न सक्छौँ भन्ने कुरा सपना जस्तै लाग्थ्यो तर अहिले त्यो सबै सम्भव भएको छ।’उनका अनुसार घरबाट बाहिर निस्केर गर्नुपर्ने काममा अचेल धेरै महिलाहरू नै देखिन्छन्।
गाउँघरका विकास निर्माणका काममा होस् वा स्वरोजगारी गर्न, सिप सिक्ने तालिम लिन होस् या राजनीति गर्न अहिले महिलाहरु घरको चौघेर नाघेर निस्किन थालेका छन्,’ मेयर रिनाले भनिन्, ‘ गाउँटोलमा कुनै काममा होस, कार्यक्रम भेला जुनसुकै ठाउँमा महिलाहरु धेरै देखिन्छन्। अग्रपङ्तिमा उनीहरूनै हुन्छन्। आजभन्दा १० वर्ष अघि सम्मपनि महिला बेल्नु त परै जाओस् बाहिर निस्किन धेरै सोच्नुपथ्र्यो। मधेसमा यो ठूलो उपलब्धि हो नि।’
पहिला पहिला छोरालाई मात्र पढाउन सहर बजार पढाउने तर छोरीलाई नजिकैको विद्यालय पनि नपठाउने प्रवृत्ति धेरै थियो। कतिपय अभिभावकले असुरक्षाको कारण पनि छोरीलाई स्कुल पठाउन्नथे। त्।र आफु मेयर भएपछि छोराछोरीबिचको भेदभावको यो खाडल हटाउनुपर्छ भन्ने आफूलाई लागेको रिना बताउँछिन्। त्यसका लागि नगरपालिकाले तीन वटा माध्यामिक विद्यालय सञ्चालनमा ल्याएको रिनाको भनाइ छ।
छोरीहरुलाई विद्यालयमा आकर्षित गर्न साईकल तथा ल्यापटप वितरण समेत गरेको रिना बताउँछिन्। त्यस्तै महिनावारीको बेला स्कुल जान समस्या हुन्छ भनेर प्याड वितरण गर्ने गरिएको छ। पेट दुख्ने वा रिगंटा लाग्ने समस्या आए आराम गर्न भनेर आरामकक्षको समेत व्यवस्था स्कुलमा छ।
‘हामीले चलाएका अभियानपछि अहिले छोरीहरूलाई स्कुल पठाउने चलन बढेको छ। आफ्नै पालिकामा राम्रो विद्यालय भएपछि छोरीहरू मात्र होइन सहर पठाउने छोराहरूलाईसमेत यहीँ पढाउन थालेका छन्। बाहिरका जिल्लामा भौतारीनु भन्दा आफ्नै पालिकामा आधुनिक शिक्षा लिन पाएका छन्। यो काम म आएपछि गर्न पाएकोमा मलाई गौरव लाग्छ।’ मेयर रिनाले भनिन् ।
सबैका लागि शिक्षा कार्यक्रम अन्तगर्त खासगरी विभिन्न कारणले बिचमै बिद्यालय शिक्षा छोडेका बालबबालिका तथा किशोर किशोरीलाई पुनः विद्यालयमा फर्काउन विशेष कक्षा संचालन गरिएको रिनाले बताइन्। यो काम गर्न बजेट नै छुट्याएको उनको भनाई छ।
उनका अनुसार,रौतहटकोपनि अति दुर्गम भनेर चिनिने मौलापुरमा अहिले हरेक टोलमा सडक संरचना विस्तार भएको छ। गाउँर्मा ढल, नाला, बाटो , बिजुली, घर,पार्क लगायतका क्षेत्रमा व्यवस्थित गर्ने उद्देश्यले मधेस प्रदेशमै पहिलोपटक ल्यान्ड पुलिङ र एकीकृत दलित बस्ती अवधारणा ल्याएको पनि उनले दाबी गरिन्।
पर्साको पटेर्वा सुगौली गाँउपालिकाकी उपाध्यक्ष ममता महत्तो थारु

पर्साको पटेर्वा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतो थारु पनि दोश्रो कार्यकालमा आफ्नो जिम्मेवारी निर्वाह गरिरहेकी छन्। ७ वर्ष अघिसम्म गाउँलेले इनार र चापाकलको पानी तानेर प्रयोग गर्थे। महिलाहरू खोला वा इनारमा नुहाउन जाँदा धेरै हिसाबले असुरक्षित पनि भएका थिए।तर ममता उपाध्यक्ष भएपछि अहिले घरघरमा धारा बनाउन पहल गरिन्।‘अहिले घरघरमा धारा हुन्छ, महिलालाई धेरै हिसाबले सहज भएको छ,’ उनले भनिन्।महिलाहरूलाई नै लक्षित गरेर सामुहिक खेती गर्ने नीति स्थानीय तहले बनायो। ‘सामुहिक खेती गरेर महिलाहरूले आयआर्जन गर्न थालेका छन्,’ उनले भनिन्, ‘महिलाहरूले सामाजिक कामपनि सामुहिक रूपले गर्ने गरेका छन्।‘
अचेल पालिकाको उपप्रमुख नेतृत्वको न्यायिक समितिमा घरेलुं हिंसाका उजुरी बढेका छन्। उजुरी बढ्नुलाई ममताले राम्रो संकेत मान्छिन्।पुरुषले महिलामाथि हिंसा गर्न पाईंदैन भनेर गाउँपालिकाले जनचेतना मुलक अभियान चलाएका कारण महिलाहरू सचेत भएको र उजुरीको संख्या बढेको उनको भनाइ छ।
‘पटेर्वा सुगौलीको न्यायिक समितिले अहिलेसम्म १९ हजार विवाद समाधान गरेको छ। पछिल्लो कार्यकालमा मात्र पाँच हजार भन्दा बढी उजुरी सुनुवाइ भएको छ,’ उनले भनिन्, ‘यसरी उजुरी बढ्नु भनेको त हामी प्रतिको विश्वास हो नि।’ मधेस प्रदेशभरीमै सबभन्दा प्रभावकारी न्यायिक समिति बनाएको भन्दै ममतालाई हालै ‘सि लिड्स’ आईकनबाट सम्मानित समेत गरिएको छ ।
म्मताले गाँउका गृहणी महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउन अनेक योजनाहरु सुरु गरिन् ।जस्तै कि थारू संस्कृतिमा रहेको कुसघाँसबाट ढकिया बनाउने काम धेरैजसो महिलालाई सहजै आउँछ। यसलाई बजारिकरण गर्नुपर्छ भनेर ममताले गाउँपालिकामा कुरा राखिन्। उनको प्रस्ताव पास भयो। अहिले विदेशमा समेत त्यहाका महिलाले बनाएका ढकिया बिक्रि हुने गरेको उनले बताइन्।
‘यसबाहेक पनि स्वरोजगार हुन महिलालाई सहज होस भनेर कृषि , व्युटिसियन , प्राविधिक बन्ने तालिम दिएका छौँ,’ उनले भनिन्।पर्साको पटेर्वासुगौलीकै शिवबालक चौधरी भन्छन्,‘ हाम्रो उपमेयरले दोश्रो कार्यकाल कुशलतापुर्वक निर्वाह गरीरहनुभएको छ । यो धेरै खुशीको कुरा हो। ममताजी मेयरभन्दा कम हुनुहुन्न भन्ने हामीलाई लागेको छ,राम्रो काम गर्नुभएको छ। हामी जनताको जिवनस्तर उकास्न कोसिस गरिरहनुहुन्छ।’
रौतहटको फतुवा विजयपुर नगरपालिकाकी उपमेयर अमवेया खातुन

रौतहटको फतुवा विजयपुर नगरपालिकाकी उपमेयर अमवेया खातुन अहिले कार्यबहाक मेयरको जिम्मेवारीमा छिन् ।त्यहाँका मेयर गोपाल राय यादव भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएपछि उपमेयर खातुनले नै मेयरको पनि काम गर्नुपरिरहेको छ।
रौतहट बस्ने दिनेश कुमार यादव आफ्नो पालिकाको नेतृत्व महिलाको हातमा पुगेको भएर आफुहरु ढुक्क भएको बताए।‘महिलाहरू आफ्नो जिम्मेवारी पुरा गर्न गम्भीर हुन्छन्। हाम्रो नगरमा पनि सुधार भइरहेको छ। उपमेयरले आफ्नो काँधमा आएको जिम्मेवारी राम्ररी निभाउँदै हुनुहुन्छ ,’ उनले भने।
‘मधेसमा सबै भन्दा ठूलो र महत्वपुर्ण काम भनेको महिला जनचेतना , सशक्तिकरण र शिक्षामा जोड दिनु नै हो। मैले पनि महिला विकासलाई प्राथमिकतामा राखेर काम गरेको छु,’ कार्यवाहक मेयर खातुनले भनिन्।
सप्तरीको अगनीसाईर कृष्णसबरम गाउँपालिकाकी उपाध्यक्ष कल्पना कुमारी चौधरी

सप्तरीको अगनीसाईर कृष्णसबरम गाउँपालिकाकी उपाध्यक्ष कल्पना कुमारी चौधरी पनि आफ्नो पालिकामा उदाहरण बनेकी छन् । केही महिना पहिले संघीय सरकारबाट आफ्नो नेतृत्वमा ल्याएको सर्शत तर्फको बजेटबाट विकास निर्माणको काम गर्न खोज्दा गाउँका अधिकाशं व्यक्ति उनीविरूद्ध लागे। विरोध कार्यक्रम र डेलिगेसन गर्नेहरूलाई बोलाएर उनले वार्ता गरिन्।
‘मैले गर्न खोजेको कामबारे सबैलाई बताएँ। कसरी त्यो कामले गाउँलेको हित हुन्छ भन्ने बारे बुझाएँ। त्यसपछि उनीहरूले आन्दोलन छोडे,’ उनले भनिन्, ‘हामीले काम गरेर देखायौँ पनि ।’ स्थानीय गोपाल महतोले कुनै बेला महिलाले केही गर्न सक्दैनन् भन्ने सोचाइ व्याप्त भएपनि आफ्नो नगरमा महिला उपाध्यक्षले गरेर नै देखाएको बताए।‘कुनै बेला महिलालाई केही गर्न जान्दैनन् भनिन्थ्यो। त्यस्तो कुरा धेरै सुनिन्थ्यो। हाम्रो पालिकामा उपाध्यक्ष चौधरीले भने काम गरेर देखाउनुभएको छ। हामी त खुसी छौँ,’ उनले भने।
धनुषाको जनकनन्दनि गाउँपालिकाकी उपाध्यक्ष कमला सेगल
धनुषाको जनकनन्दनि गाउँपालिकाकी उपाध्यक्ष कमला सेगल अहिले आफुले गरेका कामहरुको समिक्षा गर्दैछन् ।
‘कार्यकालको आधा समय बितिसक्यो। फर्केर हेर्दा सन्तुष्टि हुने नै काम गरिएछ भन्ने लाग्छ,’ उनले भनिन्।उनको गाउँपालिकामा ६ वटा वडा छन्। तीन वटा वडा भारतसँग जोडिएका छन्। केहीसमय अघिसम्म उनको पालिकाका महिलाहरू बच्चा जन्माउने बेला भारतीय अस्पताल जानुपथ्र्यो। यो समस्या समाधान गर्न आफ्नो पालिकाले बर्थिङ सेन्टर खोल्नुपर्ने हुन्थ्यो।
कमलाका अनुसार उनकै पहलमा अहिले सबै पालिकामा एक एक बर्थिङ सेन्टर बनाउने योजना अघि बढिरहेको छ। अहिले एउटा वडामा त सञ्चालनमा समेत आइसक्यो।उक्त बर्थिङ सेन्टर सञ्चालनको तीन महिनामा करिब दुई सय महिला लाभान्वित भएको उनी बताउँछिन्।
दुई वटा वडाका विद्यालयमा कक्षा कोठा नहुँदा विद्यार्थीहरु बाहिरै बसेर पढ्न बाध्य थिए। उनले त्यहाँ कक्षाकोठा निर्माणको योजना अघि सारिन्। अहिले विद्यार्थीहरु कक्षाकोठामा बसेर पढ्न पाएका छन्।सबै भन्दा ठुलो समस्याको रूपमा रहेको सडक सन्जालले गाउँ जोड्न सफल भएको पनि उनले बताइन्।
‘खासगरी ग्रामीण वडाहरु जोड्ने बाटो नहुँदा एम्बुलेन्स समेत जान नसक्ने र पानी परेको बेला गाउसँग सम्पर्क नै टुट्ने समस्या थियो। कतिमा त भारतको बाटो हुँदै पुग्न पथ्र्यो,’ उनले भनिन्, ‘सबै भन्दा पहिले त्यस्ता गाउँ टोल वडाका सडक निर्माण गरियो,’
माथि उल्लेख गरिएका महिला जनप्रतिधिनीहरु उदाहरण मात्र हुन्, स्थानीय सरकारको दोस्रो कार्यकालमा महिला जनप्रतिनिधिले काम गरेर देखाएका मात्र छैनन्। त्यसको जस लिने प्रयास पनि गरेका छन्।राजनीतीक विश्लेषक चन्द्रकिशोरले पनि महिला जनप्रतिनिधीहरूले काम गरेरै आफ्नो पहिचान बनाउँदै गएको बताउँछन्।
‘पहिलो कार्यकालमा जनप्रतिनिधि महिलाहरुले सिक्ने मौका पाए। अहिले महिलाहरु मेयर,उपमेयर वा वडासदस्य नै किन नहोस् कुशलतापुर्वक काम गरेर आफ्नो पहिचान बनाउन सफल भएका छन्,’ उनले भने।
महिला जनप्रतिनिधीले जनताको आवश्यकता अनुसार भौतिक पुर्वाधार, सडक विस्तार, शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका, कृषि क्षेत्रको विकास, तराई मधेसमा विकृतीको रुपमा रहेको वालविवाह र दाईजो प्रथालाई निरूत्साहीत पार्न छोरी स्वर्णिम बिमा, साईकल वितरण, छात्रा मैत्री विद्यालय तथा संरचना लगायतका कार्यक्रम गर्दै आएका छन्।
त्यति मात्र नभई गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क स्वास्थ्य परीक्षण,पोषणयुक्त खाना लगायतको वितरणले मधेस प्रदेशमा भएको कुपोषणको अवस्थामा सुधार गर्ने जमर्कोको गरेको देखिन्छ।
संवैधानिक व्यवस्थाको कारणले पनि स्थानीय तहका सरकार तथा सभामा महिलाको प्रतिनिधित्व बढेको छ। शिक्षा र चेतनाको हिसाबले पछि पारिएको मधेसका महिलाहरू घुम्टो छोडेर बाहिर निस्किदै छन्। दोस्रो कार्यकालमा देशभरबाट २५ जना महिलाले स्थानीय तहको नेतृत्व गर्ने जिम्मेवारी पाएका छन्। अर्थात पालिका प्रमुख भएका छन्। उपप्रमुखमा २ सय ३३ र उपाध्यक्षमा ३ सय ३५ गरी ५ सय ६८ जना महिला निर्वाचित भएका छन्।यो संख्या कूल उपप्रमुख र उपाध्यक्षको ७५.४३ प्रतिशत हो।
देशभरका ७ सय ५३ स्थानीय तहमध्ये ५ सय ६८ स्थानीय तहमा उपप्रमुख तथा उपाध्यक्षमा महिला निर्वाचित भएका छन्।यस्तै देशभरीबाट १४ हजार ४०२ महिला जनप्रतिनिधि निर्वाचित भएका छन्। २०७४ को स्थानीय निर्वाचनबाट १४ हजार ३५२ महिला जनप्रतिनिधि निर्वाचित भएका थिए। सात प्रदेशमध्ये मधेस प्रदेशमा सबैभन्दा बढी दुई हजार ७७० महिला जनप्रतिनिधि निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ।आयोगका अनुसार, मधेस प्रदेशमा १५ हजार ७८० महिला उम्मेदवार थिए।मतदाताको सङ्ख्या १ करोड ७७ लाख ३३ हजार ७ सय ३२ रहेको मध्ये ८७ लाख ४१ हजार ५ सय ३० जना महिला छन्।यो भनेको कुल मतदाताको ४९.२९ प्रतिशत हो। ७ सय ५३ स्थानीय तहमा ३६ हजार ७ सय २८ जना जनप्रतिनिधि निर्वाचित हुने व्यवस्था छ।आयोगका अनुसार निर्वाचनबाट ३९.३९ प्रतिशत महिला प्रतिनिधि निर्वाचित भएका छन्।

