Madhes Khabar
स्थानिय

भारतबाट किनमेल गरेर ल्याउँदा भन्सारमा कडाई गरिएको विरोधमा वीरगन्ज नाकामा धर्ना

वीरगन्ज,६ वैशाख :वीरगन्ज नाकास्थित शंकराचार्य गेटमा जनअधिकार पार्टीले आइतबार धर्ना दिएको छ । भारतबाट १०० रुपैयाँ बढी मूल्यको सामान ल्याउँदा भन्सार कर तिर्नुपर्ने नियमको विरोधमा जनअधिकार पार्टीका अध्यक्ष डा. शरदसिंह यादवको अगुवाइमा उक्त पार्टीका नेता कार्यकर्ताले आइतबार वीरगन्ज नाकास्थित शंकराचार्य गेटस्थित सडकमै एक घण्टा धर्ना दिएका हुन् ।

सरकारले भन्सार कर असुल्ने नाममा नेपाल र भारतबीचको रोटीबेटीको सम्बन्धमा नै खलल पुरर्याउने नियतले उक्त हास्यास्पद नियम लगाएको अध्यक्ष यादवले आरोप लगाए । खासगरी सीमा क्षेत्रका मधेसका जनतालाई सास्ती दिनेगरी भन्सारमा लगाइएको उक्त नियम तत्काल खारेज गर्नुपर्ने आँफुहरुको माग रहेको उनले बताए ।

मधेसी मूलका व्याक्ति बालेन शाह प्रधानमन्त्री हुदाँ सबैभन्दा बढी उत्साहित मधेसकै जनता भएको भएपनि सरकार बनेको २२ दिनमै मधेसीका लागि यो सरकारले अप्रिय नियम लगाउनु दुखद भएको उनको भनाई छ ।

महंगीमाथि सरकारको नियन्त्रण नरहेको भन्दै अध्यक्ष यादवले भने, खाद्यान्न, इन्धन लगायत दैनिक उपभोग्य मालवस्तुको भाउ दिनदिनै बढ्दै गएको छ । तर सरकार कर असुल्ने धन्दामा मात्रै केन्द्रित छ ।सरकारले भन्सारमा लगाएको नियमलाई उनले मधेसमाथिको अघोषित नाकाबन्दी भएको टिप्पणीपनि गरे ।

केही दिनदेखि सरकारले नेपाल–भारत सीमानाकामा भन्सार राजस्व चुहावट रोक्न भन्दै भारतबाट १ सय रुपैयाँ बढी मूल्यको कुनैपनि सामान ल्याउँदा अनिवार्य भन्सार कर तिर्नुपर्ने नियम कडाईका साथ लागू गरेको छ । जसका कारण सीमा क्षेत्रका मधेसका नागरिक प्रत्यक्ष मारमा परेका छन् । सरकारको उक्त कदमको चौतर्फी आलोचना भइरहेको छ ।

भन्सार महसुल ऐन, २०८१ को दफा १३ को उपदफा (३) को अधिकार प्रयोग गरी सरकारले गत २०८० जेठ १५ गतेदेखि नै यात्रुका लागि यो नियम लागू गरेको थियो। तर, व्यवहारमा कार्यान्वयन भने गरिएको थिएन।

Related posts

पानीको संकट खेपिरहेका बेलापनि मधेससंग सरकारले विभेद गरिरहेको छ : प्रदीप यादव

MadhesKhabar

ब्राह्मण समाज पाेखरियाकाे नगर अध्यक्षमा अम्लेश्वर मिश्र चयन

MadhesKhabar

चोरीको चुरोट किनेको आरोपमा कलैया ३ का वडा अध्यक्ष कानु पक्राउ

MadhesKhabar

Leave a Comment