काठमाडौं,२माघ : खानेपानीमन्त्री प्रदीप यादव र नेपालका लागि युनिसेफका प्रतिनिधी एलिस अकुङ्गाबीच खानेपानी तथा सरसफाईको क्षेत्रमा सरकार र युनिसेफको संयुक्त साझेदारीबाट आगामी कामहरु अगाडि बढाउने विषयमा समझदारी भएको छ।
बुधबार मन्त्रालयमा मन्त्री यादव र नेपालका लागि युनिसेफका प्रतिनिधी अकुङ्गाबीचको छलफलका क्रममा उक्त समझदारी भएको हो ।छलफलकै क्रममा मन्त्री यादवले युनिसेफले नेपालमा खानेपानी, सरसफाई एवं स्च्छताका क्षेत्रमा थुप्रै काम गरेको प्रति प्रशंसा व्यक्त गर्दै आगामी दिनमा नेपालमा युनिसेफका खानेपानीका क्षेत्रमा के कस्ता कामहरु रहेका छन् ?ती विषयमा जानकारी लिएका थिए।मन्त्री यादवले २०७६ असोज १३ गते नेपाल एसियाकै प्रथम खुला दिसा मुक्त राष्ट्र घोषणा गर्न सहयोग गर्ने विकास साझेदार संस्था मध्ये एक युनिसेफ भएकाले धन्यवादपनि दिए।
मन्त्री यादवले दिगो विकास लक्ष्य अन्तर्गत खानेपानी सरसफाई तथा स्वचछता (वास) सम्बन्धि लक्ष्यहरु पूरा गर्न दीर्घकालीन रणनीतिक योजना बनाउन युनिसेफसंगको सहजीकरण आवश्यक रहेको धारणा राखे ।
उक्त छलफलमा नेपालका ७ सय ५३ वटै पालिकाहरुको पानी, सरसफाइ र स्वच्छता योजना (वास प्लान) बनाउन सहकार्य गर्ने, खानेपानी मन्त्रालयका प्राविधिकहरुलाई स्वदेश वा विदेशमा के कस्तो तालिम दिन सकिन्छ भन्ने विषयमा आवश्यक संयुक्त पहल गर्ने लगायतका विषयमा बिस्तृत रुपमा छलफल भएको थियो ।
यसैगरी पानीको गुणस्तर जाँच, शुद्धीकरण र गुणस्तरीयता मापन, विभिन्न दातृ निकायहरुसँग एकद्वार प्रणालीमार्फत खानेपानी तथा सरसफाइ क्षेत्रका परियोजनाहरु, युनिसेफसँग मिलेर पूर्वसूचना प्रणाली तथा अस्थायी खानेपानी आपूर्ति प्रणाली सिर्जना गर्ने विषयमा छलफल भएको थियो ।
छलफलमा मन्त्री यादवले नेपालको खानेपानी क्षेत्रको तत्थ्यांक हेर्दा २७ प्रतिशत नागरिक शुद्ध खानेपानीको पहुँचमा रहेको भनिएतापनि आफुले स्थालगत रुपमा निरीक्षण गर्दा करिब २० प्रतिसतको मात्रै शुद्ध खानेपानीको पहुँच रहेको देखिएकाले समुदायमा सुरक्षित पानी पुर्याउन प्रत्येक वितरण प्रणालीमा क्लोरिन राख्ने यन्त्र जडान गर्न युनिसेफको आवश्यक सहयोगको अपेक्षा गरिएको बताए ।
नेपालका लागि युनिसेफका प्रतिनिधी अकुङ्गाले खानेपानी, तथा स्वास्थ्य सरसफाईको क्षेत्रमा बिगतदेखि काम गर्दै आइरहेको र आगामी दिनहरुमा पनि खानेपानी तथा सरसफाईको क्षेत्रमा अझै बृहत सहयोग गर्ने बताइन्। उनले भनिन्, “खानेपानी, सरसरफाईको क्षेत्रमा पाँच वर्षे रणनिती अनुसार कार्ययोजना बनाएर अहिले काम गर्दैछौँ । यसपछिको योजनामा अझै बढी बैठकहरु गरेर बृहत काम गर्ने योजनामा छौँ ।”
कार्यक्रममा मन्त्रालयका तर्फबाट सचिव प्रमिलादेबी शाक्य बज्राचार्य, सहसचिव मिना श्रेष्ठ,रमाकान्त दुवाडी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ तथा युनिसेफका तर्फबाट दण्डिराम विश्वकर्मा, अरनिता मास्के श्रेष्ठ, मोहमद ईफरान लगायतको सहभागिता रहेको थियो ।

