माधुरी महतो
वीरगन्ज,१माघःमधेस प्रदेश नै प्राकृतिक विपदको जोखीममा पर्ने स्थान हो । खासगरी वर्षाको बेला आउने बाढी , जाडोमा अध्याधिक जाडो,गर्मीमा अध्याधिक गर्मी लगायत अन्य प्राकृतिक विपदको जोखीममा खासगरी आर्थिक अवस्था कमजोर भएका समुदाय नै पर्ने गरेका छन् ।
हरेक वर्ष खासगरी अन्य विपदको सिकार बन्न नसके यी तीन विपदको सामाना त गर्नैपर्ने हुन्छ यहाँका नागरिकले । तर विपद पुर्व , विपदका बेला र विपद पछिका तयारीका सम्बन्धमा भाषणमा बाहेक ती संकट परेका स्थान र नागरिकका लागि कुनै वर्ष पनि देखीदैन । जब की स्थानीय , प्रदेश र केन्द्र तीनै तहको सरकारले हरेक वर्ष विपदका बेला उद्धार तथा राहतका लागि भनेर विभिन्न योजना तथा राहतका लागि बजेट छुट्याउछन् ।
विपदमा मानवीय क्षती हुन नदिन पहिलेदेखी तयारी अवस्थामा बस्न निदेर्शन गरेको लगायतका विभिन्न कुरा सुनिन्छन् । तर विपदका बेला अति जोखीममा पर्ने ती समुदाय बस्ने स्थानमा राज्यका निकाय कि पुग्दै नपुग्ने कि त घटना भईसकेपछि मात्रै तैयारी थाल्ने परिपाटीले अझ पनि ती समुदायका नागरिक पिडित छन् ।
यसरी वर्षेनी आर्थिक अवस्था विपन्न भएका समुदायका मानिस प्राकृतिक विपदको जोखीममा पर्दै आएपनि ठोस निर्णय तीन तहकै सरकारले विपद पुर्वनै लिन नसक्दा उनीहरु अझ जोखीममा छन् । र यसले खासगरी गर्भवती महिला , वृद्धवृद्धा ,महिलाहरु प्रभावित भएका छन् ।
मधेस प्रदेशका अधिकाशं जिल्लालाई खासगरी मौसमी परिवर्तन अत्याधिक जाडो , अध्याधिक गर्मी तथा बाढी लगायतको विपदले निकै नै प्रभावित गर्ने गरेको छ ।
पर्सा, बारा,सर्लाही,धनुषा,सप्तरी ,सिरहा लगायत खासगरी रौतहटमा बाढीले धनजनको क्षती गर्नुका साथै घर समेत बगाउने गरेपछि वर्षेनी खासगरी बाढी पिडितहरु विचल्लीमा पर्ने गरेका छन् । बाढीले खासगरी सुत्केरी तथा गर्भवती महिला,बालबालिका,वृद्धवृद्धा लगायतहरु झन् प्रभावित हुने गरेको उनीहरुले बताएका छन् ।
बाढीले घर, खेत, सरसामान लगायत सबै थोक बगाएर घरबार विहीन बनेका यस्ता कति विपन्न परिवारको अवस्था बुझन् कोही जनप्रतीनीधी पुग्न नसकेको न त केही राहत नै पाएको उनीहरुको गुनासो छ ।
घरको गुजारा नै चलाउने एक मात्रै माध्यम पशुचौपाया समेत बाढीले बगाउने गरेको छ । बाढीले हकर मच्चाएको कैयौँ दिन बितिसक्दा पनि कुनै नेता , कुनै जनप्रतीनीधी राहत सामाग्री लिएर समयमा कहिले नआएको दुखेसो पिडितहरुको छ । राहतको नाममा एक दुई संघसंस्थाबाट चिउरा , दालबुट लगायतका खानेकुरामात्रै दिने बाँड्ने गरिन्छ ।
बाढीपीडितलाई सरकारले दिने राहतस्वरूपको रकम समेत उनीहरुलाई पाउन समस्या हुने गरेको छ । किनकी कतिपयको नागरीकता समेत छैन ।
धेरैजसो दलित परिवार छन् । दलित टोलमा रहेको तथा सामाजिक रूपमै विभेदको सिकार भएका दलित समुदायलाई प्राकृतिक विपत्तिले पनि मर्माहत बनाएको छ। सरकारको उपस्थिति शून्य जस्तै देखीन्छ–दलित र विपन्न समुदायमा ।
यसैको एक उदाहारण बनेको छ– पर्साको मोर बस्ती ।जहाँ बस्नलाई घर छैन। खेती गर्ने बारी खण्डहर बनेको छ। बिजुली बत्ती, बाटोघाटो, विकास निर्माण, स्कुल कलेजजस्ता विकासका सुविधा यो बस्तीमा कहिले पनि आउन सकेन ।
मोर टोलका बाढिले भत्काएको घर बनाउन नसक्दा अहिले सम्म पनि कतिपय स्थानीयवासी जसोतसो गुजारा चलाउन बाध्य छन् । आर्थिक रुपले विपन्न बाढी पिडीतहरुले पाउनुपर्ने राहतमा समेत राजनीती हुने गरेको गुनासो उनीहरुले गरेकै छन् । वृद्धवृद्धा , बालबालिका , महिला , पुरुष सबै जना प्रभावित भएको भएपनि गाउँमा बाढीको पानी पसेपछि प्राय जनप्रतीनीधीहरु सम्पर्क विहिन हुने गरेको मोरटोलका गाउँलेहरुले बताउछन् । गाउँमा बाढीको पानी पसेपछि आफनो ज्यान जोगाउन गाउँबाट निस्किने तथा भाग्ने बाटो समेत नरहने गरेको छ ।
त्यस्तै बाढीले सताएको बेला सबै एक जुट हुनुपर्नेमा पर्साको एक गाउँमा भने छुवाछुतको भेदभावले समेत बाढीले प्रभावित दलित भनिनेहरु प्रभावित हुने गरेका छन् ।
आर्थिक रुपले अति विपन्न मानिसहरूको बसोबास रहेको उक्त गाउँ बाढीपछि सधैँ एक्लो जस्तो हुने गरेको छ। बाढीको बेला गाउँमा जाने आउने बाटो नै विस्थापित हुन गरेको स्थानीय बताउँछन्। त्यसकारण राहत पनि उनीहरूका लागि मुस्किल हुने गरेको छ।हरेक वर्षको बाढीले उनीहरुले वर्षभरी गरेको मेहनत तथा परिश्रमलाई सखाप पार्ने गरेको गुनासो उनिहरुको हुन्छ ।
हाल तराई–मधेसमा जाडो सुरु भईसकेको छ । देशैभर जाडोले मानिसहरुलाइै प्रभावित पारेको अवस्था छ । तराई–मधेसमा भने जाडोमा अध्याधिक जाडो र गर्मीमा अध्याधिक गर्मी हुने भएकोले मानिसहरु झनै प्रभावित हुने गरेका छन् । जाडो तथा शितलहरका कारण जनजिवन प्रभावित हुदा पनि हालसम्म स्थानीय, प्रदेश वा संघ सरकारले चिसो छल्न कुनै प्रबन्ध वा सहयोग नगरेको खासगरी विपन्न समुदायका नागरिकहरुको गुनासो छ ।अत्यधिक चिसोले गर्दा अस्पतालहरुमा भीडभाड बढ्न थालेको पाइएको छ।
सिरसिर हावा ,हुस्सु र शीतलहरका कारण तराई–मधेसको जनजीवन कष्टकर बन्दा खासगरी दलित समुदाय लगायत अति विपन्न परिवारलाई नराम्ररी प्रभावित गरेको छ ।जाडो बढेपछि आर्थिक अवस्था कमजोर भएका परिवार, न्यानो लुगा किनेर लगाउन नसक्ने, वासस्थानको उचित व्यवस्था समेत नभएकाहरुलाई कन्तविजोग भएको छ ।
आर्थिक अवस्था कमजोर भएका नागरिकलाई जाडो महिनाभर ज्यान बचाउनै मुश्किल हुने गरेको छ । गरिबीमाथि कठ्यांग्रिदो चिसोको पनि समस्या थपिँदा हाल ती वस्तीका बालबालिका, वृद्धवृद्धा र महिलाहरु बढी प्रभावित बनेका छन् ।
स्थानीय तह भन्दा पनि मानिसहरु आफैले आगो बालेर चिसो भगाउने प्रयास गरिरहेको भएपनि कुनै सरकारले यसपालिको चिसो मौसमको अझ समय बाँकी रहँदा पनि ध्यान नदिएकोले कष्टकर जिवन जिउन बाध्य भएको गुनासो उनीहरुको छ ।चिसोमा जोगिन नसके सबै वर्गका मानिसलाई प्रभावित गर्न सक्ने भएपनि खासगरी विपन्न परिवारका लागि अभिसाप जस्तै चिसोको मौसम सावित हुने गरेको छ ।
प्रभावित सर्वसाधारणलाई चिसोबाट बच्न दाउरा, न्याना कपडा र आवश्यक राहत सामग्री भने मनकारी मनहरु तथा विभिन्न संघसंस्थाले सहयोग गर्ने गरेको भएपनि पर्याप्त नभएको तथा तीनै तहका सरकारले यसबारे विभिन्न निर्णय गरेको दावी गरेपनि कार्यान्वय पक्ष फितलो देखीएको छ ।
तराई–मधेसमा बर्सेनि शितलहरका कारण कतिपय निम्न आय भएका मानिसहरुले ज्यान गुमाउने गरेका छन्।त्यस्तो अवस्था आउन नदिन मानिसहरुले घरभित्रै बस्नुपर्ने, उपलब्ध न्यानो कपडाहरु लगाउनुपर्ने तथा कुनै समस्या देखिए तत्कालै स्वास्थ्य चौकी जानुपर्ने डाक्टरहरु सुझाव दिन्छन् ।
पर्साको सुपौली , महुवन लगायतका स्थानमा बसोबास गर्ने अधिकांश दलित समुदायका मानिसहरु तथा आर्थिक अवस्था कमजोर भएका मानिसहरुको गाउँमा सानो टहरो , टहरोको माथि छत खुला जस्तै देखीन्छ । कतिपय माटोले लिपेका उनीहरुका टहराका टाटीहरू भत्किसकेका छन् । अरु बेला वर्षा र बाढीले हैरान गरेको नमिठो अनुभव खेप्नै पर्ने हुन्छ भने जाडोको बेला ,चिसो चारैतिरबाट टहराभित्र पसिरहेको हुन्छ ।
यस्तै टहरामा बारा भलुहीकी सुजनी देवी रामको ६ जनाको परिवार बस्छ । सुजनी दम्पती र उनकी तीन छोरी र एक छोरा । टहरामा सुत्नका लागि एउटा मात्र खाट रहेकोमा जाडोमा पनि अन्य दिनको जस्तै भुईमै परालको ओछ्यान बनाएर उनीहरु सुत्न बाध्य छन् ।
सुजनी देवी भन्छिन् ,हामी गरीब मान्छे । कसले हेर्छ । चुनावको बेला एक पटक मात्रै हो गाउँ टोलमा भीडभाड हुने अरु दिन त सुनसान हुन्छ । न घर छ राम्रो , न जाडो छल्ने कपडा न ओछ्यान । भगवान भरोसा नै हाम्रो ज्यान हुन्छ जाडोमा ।
जाडो छल्न शरीर ढाक्ने न्यानो कपडा र ओढ्ने–ओछ्याउने पनि नहुँदा उनीहरूको दैनिकी कष्टपूर्ण बन्न पुगेको छ । उनीहरु जाडो छल्न अधिकांश समय आगो तापेर बस्न बाध्य भएका छन् । पर्साको महुवनकी दलित समुदायकी भगनी देवी रामले जाडोमा पराल नै आफूहरूको सहारा बन्ने गरेको दुखेसो पोख्दै जाडोको कारण परिवारका २ सदस्य गुमाउनुपरेको दुखेसो पनि पोखिन् ।
उनले भनिन् , पराल विछ्याएर सुत्ने गरेको छौँ । न लुगाकपडा, न खाना ,केही छैन । परालको घर समेत टुटेको छ । चिसो लागेर नाति विरामी परेको छ । सासु , मेरो देवर चिसोले कठ्यांगिएर केही वर्ष पहिले मृत्यु भयो । सरकारले केही त राहत दिनुपर्यो । २ छोरा , ३ छोरी छन् घरमा ।
प्रत्येक वर्ष आउने जाडोले आफूहरूलाई धेरै पिरोल्ने गरेको सर्लाहीकी ७५ वर्षिय रामपति देवी दुखेसो पोख्छिन् ।उनी भन्छिन् , एक जना छोरा छन् ,श्रीमान् छैनन् । छोरा पनि भारत कमाउन गएको बेला विरामी परे र फर्केर अहिले घरमै छन् । काम केही पाउँदैनन् जसो तसो अर्काको खेतमा काम गरेर गुजारा चलाईरहेको छु । जाडोले यसवर्ष मलाई पनि लाने हो की भन्ने चिन्ता लागेको छ ।
सरकारको तथ्यांक अनुसार, मधेस प्रदेशमा करीब ६० लाख जनसंख्या छ । जसमध्ये ४० प्रतिशत भन्दा माथि जनसंख्या बहुआयामिक गरीबीको रेखामुनि रहेको देखाएको छ भने १८ प्रतीशत भन्दा बढी दलित समुदायका रहेका छन् । हरेक वर्ष मधेसका विपन्न मानिसहरु शीतलहरको कहरबाट गुज्रिन बाध्य रहेको अगहनी देवी भन्छिन्, ‘चिसोले विरामी परे । भर्खर जाँच गराएर आउँदैछु । सरकारले गरीबको लागि यो गर्यो त्यो गर्यो सुन्छौ तर गरीब भन्दा हुने खानेकै रजाई छ सरकारले पठाउने गरेको राहतमा । परिवारमा कमाउने एक जना छन् । खानलाई त पुग्दैन । कपडा लत्ता राम्रो ओछ्याउने काहाबाट ल्याउने ?’
अरू विपदमा भन्दा पनि जाडोयाममा गरीब परिवारमा असाध्यै ठूलो समस्या ल्याउने गरेको विपन्न परिवारको गुनासो छ । भगनी देवी , अगहनी देवी र उनीहरुको परिवार मात्रै होइन; चिसोबाट मधेस प्रदेशका अधिकाशं विपन्न परिवारमा विचल्लीमा रहेको बताएका छन् । उनीहरू यो शितलहर कसरी कटाउने भन्ने चिन्तामा छन् ।
रौतहटकी जगरानी देवीले भनिन् ,’ चिसो हरेक वर्ष बढेको महसुस हुन्छ । खर्च ,ओढ्ने विछ्याउने मै हुनुपर्ने । परिवारमा ८ जना छन् । जाडोमा कमाउन पनि समस्या नै छ । खाना खाउ कि ओढ्ने विछ्याउने खरीद गर्ने । सरकारले हाम्रो लागि केही त गर्नुपर्यो । अहिले त जाडो पुर्ण रुपमा सुरु नै भएको छैन । माटोमै बच्चाहरु खेल्ने , बच्चा लगायत बुढा सबलाई चिसोले समस्या भएको छ ।’
शीतलहर जस्ता आइपर्ने विपद् व्यवस्थापन गर्न प्रदेश सरकारले २०७५ सालमै ऐन बनाएको छ । तर हरेक वर्ष विपद पुर्व नभई विपद परेपछि मात्रै योजना बनाउने र कार्यान्वयनमा ल्याउने प्रयास गरीन्छ भन्ने गुनासो पिडितहरुको छ ।
तर यसपालि भने शीतलहर सुरु भएलग्गतै जनतालाई चिसोबाट बचाउने अभियान सुरु गरीएको स्थानीय तह , प्रदेश र केन्द्र सरकारकै दाबी छ । पछिल्लो चार वर्षहरुमा चिसोका कारण मधेस प्रदेशमा ८० जना भन्दा धेरैको मृत्यु भइसकेको विवरण प्रदेश सरकारसंग छ ।
नागरीक समाजका अगुवा प्रकाश थारुले भने,’पर्साका धेरै जसो स्थानीय तहमा दलित समुदाय तथा आर्थिक अवस्था कमजोर रहेका मानिसहरुको बसोबास छ । हाल मधेसमा चल्ने शितलहर विगत केही दिनदेखी सुरु भईसकेको छ । तर हरेक वर्ष जस्तै यस वर्ष पनि स्थानीय , प्रदेश वा केन्द्रको खासै केही कार्य योजना ,राहत दिने उद्देश्यले देखीदैन ।’
थारुले चिसो तथा शितलहरले समस्यामा रहेका स्थानीयवासीका लागि सम्बन्धित पालिका तथा निकायमा ध्यानाकर्षण गराउने र राहत सामाग्री वितरण गर्ने उद्देश्यले पनि पहल गरीरहेको बताए ।

