वीरगन्ज,२७ कात्तिक : वीरगन्ज महानगरपालिका वडा नम्बर. ३१ अन्तर्गतका स्थानीय बासिन्दाको दैनिक जीवन सहज बनाउने उद्देश्यले सार्वजनिक शौचालय निर्माण गरिएको छ ।
सामाजिक संस्था “नमस्ते गुम्डा” को आर्थिक सहयोगमा वडा नम्बर ३१ अन्तर्गतका २ वटा सामुदायिक विद्यालय र २ वटा सार्वजनिक स्थानमा गरी जम्मा ४ वटा शौचालय निर्माण गरिएको हो ।करीब २४ लाख रुपैयाँको लागतमा निर्माण गरिएका शौचालयहरु औपचारिक रूपमा एक विशेष कार्यक्रमकाविच हस्तान्तरण गरिएको छ ।
सोलकपुर माध्यमिक विद्यालय र दलित आधारभूत विद्यालयमा विद्यार्थी तथा शिक्षक–शिक्षिकाको प्रयोगका लागि दुई वटा तथा बाँकी दुई स्थान सोलकपुर चोक र लक्ष्मीपुर चोकमा सर्वसाधारणको प्रयोगका लागि दुई वटा शौचालय निर्माण गरिएको हो ।
सार्वजनिक स्थानमा शौचालयको अभावले स्थानीयवासी र आउजाउ गर्नेहरुलाई निकै असहजता भोग्नुपरेको भन्दै, अब यी शौचालयहरूले सफाइ, स्वास्थ्य र स्वच्छता प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास लिइएको छ ।
नमस्ते गुम्डाका प्रतिनिधि कृष्ण धरेलले सार्वजनिक शौचालयको अभाव देखिएकाले आफूहरुले प्राथमिकता दिएर चार स्थानमा शौचालय निर्माण गरेको बताउँदै यसको संरक्षण र प्रयोगमा स्थानीयले जिम्मेवारीपूर्वक भूमिका खेल्ने अपेक्षा रहेको बताए ।
हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष जितेन्द्र प्रसाद यादबले स्थानीयको आवश्यकतालाई ध्यान दिएर शौचालय निर्माण गरिदिएकोमा संस्थालाई धन्यवाद व्यक्त गरे । पानी टंकी, धारा र शौचालय निर्माण गरेर हस्तान्तरण गरेको उपलक्ष्यमा वडा कार्यालयले संस्थालाई सम्मान समेत गरेको छ ।
सफा र स्वस्थ समुदाय निर्माणमा यस्ता पहल अत्यन्तै उदाहरणीय रहेको उल्लेख गर्दै, आगामी दिनमा पनि यस्तै सामाजिक संस्थाको सहकार्यमा विकासका कार्य निरन्तर रहने अपेक्षा वडा कार्यालयको रहेको पनि वडाध्यक्ष यादबले बताए ।

