
वीरगन्ज,९पुसःवीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा चारपाङ्ग्रे सवारीसाधनको आयात घटेको छ । वीरगन्ज भन्सार कार्यालयका अनुसार, चालु आर्थिक वर्षको पहिलो ५ महिनामा ९२ करोड ३ लाख ३६ हजार मूल्य पर्ने ४ सय ८२ वटा जीप, कार र भ्यान आयात भएका छन् ।
गत आर्थिक वर्षको पहिलो पाँच महिनाका तुलनामा चालु आर्थिक वर्षको त्यही अवधिमा संख्याको आधारमा ३८ दशमलव १३ प्रतिशत र राजस्वको आधारमा १६ दशमलव ४३ प्रतिशतले सवारीसाधनको आयात घटेको हो । गत आर्थिक वर्षको पहिलो पाँच महिनामा भने १ अर्ब २० करोड १४ लाख २ हजार मूल्य पर्ने ७ सय ७९ वटा जीप, कार र भ्यानको आयात भएको थियो । ती सवारीसाधनको आयातबाट भन्सार कार्यालयले २ अर्ब ८० करोड ९१ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।
इन्धनबाट चल्ने जीप, कार र भ्यानको मात्रै नभएर वीरगन्ज नाका हुँदै भित्रिने चारपाङ्गे विद्युतीय सवारीसाधनको पनि अहिले आयात घटेको भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ । चालु आर्थिक वर्षको पहिलो ५ महिनामा वीरगन्ज भन्सार नाका हँुदै १४ करोड ७८ लाख ६ हजार मूल्य पर्ने ९७ थान मात्रै विद्युतीय जीप, कार र भ्यानको आयात भएको छ ।
गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आर्थिक वर्षको त्यही अवधिमा विद्युतीय सवारीसाधनको संखयाका आधारमा आयात ५९ दशमलव ०७ प्रतिशत र राजस्व सङ्कलनका आधारमा भने ५८ दशमलव ६३ प्रतिशतले गिरावट आएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा ४६ करोड ५८ लाख ५३ हजार मूल्य पर्ने २ सय ३७ वटा विद्युतीय जीप, कार र भ्यानको आयात भएको थियो । ती सवारीसाधन आयात हुँदा भन्सार कार्यालयले २० करोड ३५ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।रासस

