Madhes Khabar
कृषि हेडलाइन

यस वर्ष गहुँबालीका लागि पर्सा, बारा र रौतहटको गण्डक नहरमा भारतले पानी नपठाउने

फाइल तस्बिर ।

वीरगन्ज,१२मंसिरःगहुँ बाली सिजन नजिकिँदै गर्दा भारतले यस वर्ष गहुँ बालीका लागि नहरमा पानी दिन नसक्ने बताएको छ । यसरी भारतीय पक्षले नहरमा पानी नदिँदा नहर प्रणालीमा आश्रित पर्सा, बारा र रौतहट गरी तीन जिल्लाका किसान गहुँ बालीमा सिँचाइबाट वञ्चित हुनेछन्। यसले गहुँको उत्पादन घट्ने भन्दै नेपाली किसानहरू चिन्तित भएका छन् ।

नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगन्जका सूचना अधिकारी इन्जिनियर सुरेशप्रसाद साहले भारत बिहार रामनगरस्थित गण्डक नहरको दोन कनाल कार्यालयले आफूभन्दा उच्च कार्यालय बेतियास्थित कार्यालयलाई यस सम्बन्धमा गरेको पत्राचारको बोधार्थ आफ्नो कार्यालयमा पठाएको बताए।

‘भारतीय पक्षले हामीलाई सोझै पत्राचार नगरी आफूभन्दा उपल्लो निकायलाई गरेको पत्राचारको बोधार्थ पठाएको छ, हामीले सोझो पत्र मागिरहेका छौं,’ उनले भने, ‘पत्रमा यस वर्ष भारतमै नहरको सफाइ र मर्मतसम्भार प्रयोजनका लागि यस वर्ष हिउँदमा ठेकेदारमार्फत काम गरिने भएकाले नहरमा पानी नआउने जानकारी गराइएको छ।’

कार्यालयले संघीय सिँचाइ विभागलाई भारतीय पक्षले यस वर्ष गहुँ बाली सिजनमा पानी दिन असमर्थता जनाएकोबारे जानकारी गराउन पत्राचार गरिसकेको साह बताउँछन्। ‘हामीले कार्यालय स्तरबाट भारतीय पक्षसँग संवाद प्रयास गरिरहेका छौं,’ उनले भने, ‘तर यो द्विपक्षीय मुद्दा भएकाले सिँचाइ विभागले पनि यस सम्बन्धमा औपचारिक रूपमा भारतीय पक्षलाई दबाब दिएर आवश्यक पहलकदमी लिनु पर्छ।’

हाल नहरमा पानी आउन छोडेको र जमेको पहिलेको पानी सुक्ने क्रममा छ। पानी सुकिसकेपछि भारतीय पक्षले मर्मतसम्भारको काम थाल्नेछ। मर्मतसम्भार सुरु भएपछि गहुँ बालीका लागि नहरमा पानी दिन सम्भव हुँदैन। तर नेपाली किसानलाई सिँचाइ गर्न पानी दिएर त्यसपछि मर्मत कार्य सुरु गर्न पनि भारतीय पक्षसँग समय उपलब्ध हुन सक्ने उनको तर्क छ।

अबको केही दिनपछि नेपालका किसानले गहुँको बीउ छर्न थाल्नेछन्। त्यसपछि बाली केही सप्रिन थाले लगत्तै एक पटक सिँचाइ गरे पुग्छ। भारतसँगको गण्डक सम्झौताबमोजिम भारतीय पक्षले गहुँ बालीका लागि नहरमा ८ सय ५० क्युसेक पानी दिनुपर्छ। सम्झौताअनुसारको पानी नआउने र भारतीय भूमिमा नहरमा नियमित मर्मतसम्भार अभावमा नहरको अन्तिम बिन्दु अर्थात् रौतहटको पूर्वी भेगसम्म नहरमा पानी पुग्दैन।

नहरअन्तर्गत ३७ हजार ४ सय हेक्टर जग्गा सिञ्चित क्षेत्र रहेकोमा पर्सामा १६ हजार हेक्टर, बारामा ९ हजार हेक्टर र बाँकी रौतहटमा रहेको छ। सम्झौताअनुसार बर्सेनि धान बाली सिजनमा असार १५ र गहुँ बालीका लागि पुस १५ मा भारतीय पक्षले नहरमा पानी दिनु पर्छ।

नवलपरासीको त्रिवेणी भैसालोटनस्थित नेपाल भारत सीमामा निर्मित ब्यारेजबाट भारतीय पक्षले नहरमा पानी छोड्ने गर्छ। भारतमै ९२ किमी यात्रा गरेर यो नहर पर्साको जगरनाथपुर गाउँपालिकाबाट नेपाल प्रवेश गर्छ। पर्सा, बारा र रौतहटमा गरी १५ ब्लकमा विभाजित गण्डक नहरको लम्बाइ नेपालतर्फ भने ८१ किलोमिटर रहेको छ। नेपालमा रौतहटको बागमती नदीमा मिसिएर यो नहर समाप्त हुन्छ।शंकर आचार्य /कान्तिपुर

Related posts

संसदमा एमालेले नाटक गरिरहेको छ : सांसद यादव

MadhesKhabar

आज महानवमी: नवरात्रीकाे अन्तिम दिन विशेष पूजा आरधना गरिदैं

MadhesKhabar

चुनावी वाचा पुरा गर्दै मेयर सिंह : घरदैलोमै डाक्टर र ल्याब सहितको निशुल्क उपचार सेवा

MadhesKhabar

Leave a Comment