मधेसखबर
वीरगन्ज,२६ भदौं : चुनाव ताका जनता सामु गरेका वाचा पुरा गर्न वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नगरवासीको घरदैलोमै स्वास्थ्यकर्मी पठाएर स्वास्थ्य उपचार सेवा दिन थालेका छन् ।
मेयर सिंहको निर्देशनमा महानगरपालिकाले वडा वडामै विशेषज्ञ चिकित्सक सहितका स्वास्थ्यकर्मीलाइ टोली पठाएर स्वास्थ्य उपचार सेवा प्रदान गर्न थालेको हो ।
मेयर स्वास्थ्य घरदैलो कार्यक्रम नाम दिइएको उक्त अभियान आइतबार देखि शुरु गरिएको हो । वीरगन्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सामा आइतबार उक्त कार्यक्रमको उद्घाटन मेयर सिंहले गरे ।
पहिलो चरणमा वीरगन्ज महानगरका ग्रामीण भेगका १६ वटा वडालाइ लक्षित गरि आइतबार देखि शुरु मेयर स्वास्थ्य घरदैलो कार्यक्रममा विशेषज्ञ चिकित्सक (मेडिकल अफिसर) तीन जना सहित स्टार्फ नर्स ,हेल्थ असिस्टटेण्ट , अनमी गरि २५ जना स्वास्थ्यकर्मी खटाइएको छ ।
एउटा वडामा पाच दिन सम्म सन्चालन गरिने मेयर स्वास्थ्य घरदैलो कार्यक्रम नामक स्वास्थ्य शीवीरमा बिरामीको स्वास्थ्य जाँच गरिनुका साथै ल्याब टेष्ट ( रगत, दिशा ,पिसाब, खकार इत्यादिको जाँच ), इसिजी , भिडियो एक्सरे लगायतका सेवा पनि प्रदान गरिएको महानगरका स्वास्थ्य महाशाखा प्रमुख रितेश जयसवालले बताए ।
बिरामीको जाँच र ल्याब टेष्टसंगै औषधी पनि निशुल्क वितरण गरिएको उनले जनाए । जयसवालले भने ,‘ यो शीवीरमा बिरामीलाइ नेपाल सरकारले निशुल्क उपलब्ध गराएको ९८ प्रकारका औषधी बाहेक उच्च रक्त चाप, मधुुमेह र थाइराइडको औषधी पनि निशुल्क वितरण गरिरहेका छौं ।
आइतबार मेयर स्वास्थ्य घरदैलो कार्यक्रमकोे औपचारिक उद्घाटन गर्दै मेयर सिंहले यो कार्यक्रम यसअघि गाँउघरमा सन्चालन हुदै आएका एक दिने शीवीर भन्दा फरक र विशेष प्रकारको भएको बताए ।
उनले भने ,‘ एउटा वडामा यो शीवीर ५ दिन सम्म चल्छ , डाक्टरले शुरुमा बिरामीको स्वस्थ्य जाँच गरिन्छ ,आवश्यक परे ल्याब टेष्ट पनि गरिन्छ , रोग पत्ता लगाएर औषधी दिएपछि मात्रै बिरामीलाइ घर पठाइन्छ।
हरेक नगरवासीको घरदैलोमै स्वास्थ्य उपचारको सेवा पुगोस् भन्ने उदेश्यले आफुले यो कार्यक्रम सन्चालन गरेको उनले बताए ।
मेयर सिंहले भने ,‘ महानगरका ३२ मध्ये १६ वटा वडा ग्रामीण भेगमा छन् , यो भेगमा शहरको जस्तो सुविधा सम्पन्न स्वास्थ्य संस्था छैनन् , उपचारका लागि शहर नै धाउनु पर्ने बाध्यता छ , त्यसैले पहिलो चरणमा ग्रामीण भेगका जनतालाइ लक्षित गरि यो कार्यक्रम शुरु गरिएको हो ।
उनले आफनो चुनावी घोषणापत्रमा पनि नागरिकको घरदैलोमै सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उल्लेख गरेको स्मरण गर्दै त्यहि वाचा पुरा गर्न पनि यो कार्यक्रम शुरु गरेको बताए ।सिंहले भने ,‘ यो कार्यक्रम एउटा वडाका लागि मात्र नभइ महानगरका ३२ वटै वडामा सन्चालन गरिने छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले वीरगन्ज महानगरले सस्तो लोकप्रियताका लागि नभइ देशका अन्य ७५२ पालिकाले पनि अनुसरण गरुन् भनेर नागरिकको घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रम शुरु गरेको बताए ।
महानगरले विशेषज्ञ चिकित्सक र ल्याब टेष्ट सहितको सेवा र औषधी समेत निशुल्क वितरण गर्ने गरि गाँउघरमै शीवीर सन्चालन गरेपछि महानगरवासी पनि खुशी छन् ।
लालपर्सामा आइतबार देखि शुरु स्वास्थ्य शीवीरमा सेवा लिन पुगेका वीरगन्ज ३० प्रशोतिपुरका ७३ बर्षिया बृद्ध लाल बहादुर यादवले गाँउघरमै डाक्टर सहितको टोली आएर उपचार गरेकोमा खुशी व्यक्त गरे ।
उनले भने ,‘घरको कोहि पनि बिरामी हुदा वीरगन्ज बजारको हस्पिटल धाउनु पथ्र्यो , आउदा जादा दिनभरको समय जान्थ्यो ,उस्तै परे बास नै बस्नु पथ्र्यो , खर्च पनि उत्तिक्कै हुन्थ्यो तर अहिले गाँउमै ठूला डाक्टरबाट इलाज गराउन पाइयो , दवाइ पनि दिए , तर खर्च एक सुको पनि भएन ।
लालबहादुरसंगै शीवीरमा उपचार गराउन आएका उनका छिमेकी राम बहादुर राउतले भने ,‘ नेताले जनताको यस्तै पिरमर्का बुझेर काम गरे भने उनिहरुलाइ हामी जस्ता बुढाखाडाको आर्शीवाद पनि लाग्छ , सारहै राम्रो काम गरेका छन् हाम्रा मेयर साबले ।
उनले समय समयमा यस्ता शीवीर गाँउघरमै सन्चालन गरिए ग्रामीण भेगका जनता बिरामी पर्दा शहर धाउनु पर्ने अहिलेको बाध्यता हट्ने र यसले जनतालाइ उपचार र खर्च दुवैमा धेरै राहत पुग्ने बताए ।
वडा अध्यक्ष मनोज यादवको अध्यक्षतामा भएको शीवीरको उद्घाटन कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ (क ) का प्रदेशसभा सदस्य जन्नत अन्सारी , जसपाका वीरगन्ज महानगरअध्यक्ष इश्वरचन्द्र यादव ,मेयर सिंहका राजनन्ीतिक सल्लाहकार उमेश सहनी , जसपा नेता प्रेमबाबु पटेल , लालपर्सा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी अनिषकान्त कुशवाहा लगायतको पनि सहभागीता थियो ।