Madhes Khabar
राजनीति हेडलाइन

रवि लमिछानेसहित ३ जनालाई पक्राउ गर्न पर्सा प्रहरीले पनि अदालतसंग माग्यो अनुमति !

फाइल तस्बिर ।

वीरगन्ज,१७मंसिरःसहकारीको रकम अपचलन मुद्दामा पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेसहित तीनजनालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय पर्साले पनि अदालतसँग अनुमति माग गरेको खबर अनलाइन न्यूज पोर्टल नेपाल प्रेसले समाचार लेखेको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ६, आदर्शनगरमा सञ्चालित सानो पाइला बचत तथा ऋृण सहकारी संस्थाबाट अवैध तबरले गोर्खा मिडिया नेटवर्क प्रालिमा ८ करोड ५८ लाख ४४ हजार रूपैयाँ प्रवाह गरिएको समाचार यसअघि प्रकाशन भएको थियो ।

सानोपाइला सहकारीका अध्यक्ष जीवी राई हुन् ।जिल्ला प्रहरी कार्यालय पर्साले गोर्खा मिडियाका प्रवन्ध निर्देशकको हैसियतले लामिछाने, राई र पूर्वडीआईजी छविलाल बन्जाडे जोशीका विरुद्ध पक्राउ अनुमति माग गरी अनुसन्धान अगाडि बढाउन लागेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरक्षिक कुमोध ढुंगेलले बताएको नेपाल प्रेसले सोमाबार प्रकाशन गरेको समाचारमा उल्लेख छ ।

‘हाम्रोतर्फबाट लेखापढी गरेर पर्सा जिल्ला अदालतमा पठाइसक्यौ, आजभोलिमै अनुमति आउँदैछ’, ढुंगेलले भनेको नेपाल प्रेसले जनाएको छ ।

सहकारी ठगीमा उक्त गिरोहमाथि अनुसन्धान गर्ने पर्सा पाचौं जिल्ला हो । यसअघि उनीहरूमाथि कास्की, रुपन्देही, काठमाडौं र चितवनका विभिन्न सहकारी ठगीमा अनुसन्धान चलिरहेको छ ।

वीरगन्जको सानो पाइला सहकारीबाट गोर्खा मिडियाको नाममा ग्लोबल आईएमईमा सञ्चालित बैंक खातामा रकम प्रवाह गरिएको कुरा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले औंल्याएको थियो । २०७८ वैशाखदेखि साउनसम्मको बैंकिङ कारोबारको विवरण (स्टेटमेन्ट) ले रकमको अपचलन पुष्टि गरेको प्रहरी उपरीक्षक ढुंगेलले बताएको नेपाल प्रेसले जनाएको छ ।

सहकारी पीडितको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गर्दा संस्थाकी उपाध्यक्ष तथा मिस नेपाल प्रतियोगिताकी पूर्वप्रतिस्पर्धी नेहा पौडेल आफैं प्रहरीमा उपस्थित भएकी थिइन् । सहकारीका कर्मचारी राधेचन्द्र यादव प्रहरीद्वारा पक्राउ गरिएका थिए ।

पर्सा जिल्ला अदालतले पौडेललाई गत साउन २१ गते १ करोड १० लाख धरौटीमा रिहा गरेको थियो । यादव पनि ३५ लाख धरौटीमा रिहा भएका थिए ।

तर मधेसखबरसंगको कुराकानीमा पर्साका प्रहरी उपरीक्षक ढुंगेलले भने पर्सा प्रहरीले अहिलेसम्म कसैलाईपनि पक्राउ गर्न अदालतसंग अनुमति नमागेको बताए ।

पर्सा प्रहरीले रवि लामिछानेसहितका तीनजनालाई पक्राउ गर्न अदालतसंग अनुमति मागेको छ नि त भन्ने प्रश्नमा प्रहरी उपरीक्षक ढुंगेलले भने,‘अहिलेसम्म पर्सा प्रहरीले अदालतसंग त्यस्तो कुनै अनुमति मागिसकेको छैन । अब कुन अनलाइनले के न्यूज लेख्यो त्यो मलाई थाहा भएन । मैले बोल्दै नबोलेको कुरा न्युजमा आउँछ भने त्यसको जवाफ म दिन सक्दिन । सानोपाइला सहकारी प्रकरणमा प्रहरीले आफनो प्रोसेस थालिसकेको छ । तर पक्राउ पूर्जीका लागि अदालतसंग अनुमति भने मागेको छैन ।’

 

Related posts

ब्लड बैंकमा रगत अभाव भएपछि वीरगन्ज हेल्थ केयरका डाक्टर,नर्ससहित ११५ जनाले गरे रक्तदान

MadhesKhabar

रवि लामिछानेको पार्टीले प्रदेशसभा चुनावमा भाग नलिने

MadhesKhabar

वीरगन्ज गाेल्डकप फुटबल फागुनमा

MadhesKhabar

Leave a Comment