Madhes Khabar
स्थानिय हेडलाइन

औषधि उत्पादक संघले वीरगन्ज महानगरलाई दियो १० थान कम्प्युटर र ४ थान प्रिन्टर

वीरगन्ज,२९असोजःऔषधी उत्पादक संघले वीरगन्ज महानगरपालिकाका कार्यालयलाई कम्प्युटर, प्रिन्टरसहितका उपकरण सहयोगहरु सहयोग गरेको छ ।

जेनजी आन्दोलनका क्रममा अराजक समुहको लुटपाट र आगजनीबाट ध्वस्त भएको महानगरपालिकाको कार्यालयका सेवा पुनः सञ्चालनका लागि सहयोग पुगोस् भनेर विभिन्न संघसंस्थाले सहयोग गर्ने क्रम जारी छ ।

त्यसै क्रममा नेपाल औषधी उत्पादक संघ वीरगन्ज इकाईले बुधबार १० थान कम्प्युटर सेट (युपिएससहित) र चार थान प्रिन्टर महानगरपालिकालाई प्रदान गरेको हो ।सामाजिक उत्तरदायित्व संघले ती उपकरण महानगरपालिकालाई प्रदान गरेको हो ।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते महानगरपालिका कार्यालयको भवनसहित सम्पूर्ण फर्निचर, कागजात, सूचना–प्रविधि उपकरणलगायतका सामग्री जलेर नष्ट भएका थिए ।त्यस घटनापछि महानगरपालिकाको दैनिक प्रशासनिक कामकाज गम्भीर रूपमा प्रभावित भएको थियो ।

सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले असहज अवस्थाको समयमा औषधी उत्पादक संघले पुर्याएको सहयोग महानगरको पुनःसञ्चालनका लागि अत्यन्तै उपयोगी भएको बताए । उनले भने, ‘महानगरको दैनिक कामकाजलाई सहज बनाउन संघले पुर्याएको सहयोग अत्यन्त महत्वपूर्ण छ । संघप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि महानगर र संघबीच सहकार्य र साझेदारीका कार्यक्रम निरन्तर रहून् भन्ने अपेक्षा राख्दछु।’

त्यसैगरी संघका वरिष्ठ उपाध्यक्ष प्रभात रुंगटाले कठिन परिस्थितिमा पनि महानगरको पुनःनिर्माणमा साथ दिन पाउनु गौरवको विषय भएको बताए। उनले भने, ‘महानगरपालिकाको सम्पत्ति जल्नु भनेको नागरिककै सम्पत्ति नष्ट हुनु हो । यस्तो अवस्थामा सबै क्षेत्रका निकायले हातेमालो गर्न जरुरी छ । हाम्रो सानो सहयोगले महानगरलाई फेरि उठ्न प्रेरणा मिलोस् भन्ने उद्देश्यका साथ यो कदम चालिएको हो ।’

कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्ण, संघका पदाधिकारी विनित लोहिया, विनय काब्रा, सर्वाेत्तम गिरी र उमेश श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

यसअघि सूर्य नेपालले पनि महानगरपालिकालाई कम्प्युटर, ल्यापटप र प्रिन्टर लगायतका सामग्री उपलब्ध गराएको थियो ।

 

Related posts

पर्सामा विद्युत चाेरेर प्रयाेग गरेका ८ जना पक्राउ

MadhesKhabar

सानो पाइलालाई समस्याग्रस्त घोषणा गरि सञ्चालकहरुको सम्पत्ति रोक्का गर्न सिफारिस

MadhesKhabar

वीरगन्ज: माेटरसाइकल दुर्घटनाका मृतक दुवै जनाकाे पहिचान खुल्याे

MadhesKhabar

Leave a Comment