जनकपुरधाम,६कार्तिकः धनुषाको धनौजीमा विद्यालय जाँदै गरेकी एक बालिकाको स्कुल बसले किच्दा मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको धनौजी गाउँपालिका २ स्थित रामजानकी बोर्डिङ स्कुलमा अध्ययनरत्त ११ वर्षीया बालिका आरोही कुमारी मण्डल रहेकी छन् ।
धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बरुण बहादुर सिंहका अनुसार मंगलबार बिहान १० बजेतिर बा ३ प ९०६५ नम्बरको जनज्योती बोर्डिङ स्कुलको बसले विद्यालय जाने बेला बालिका आरोहीलाई ठक्कर दिएको थियो । गम्भीर अवस्थामा उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक सिंहले बताए ।
त्यसपछि आक्रोशित स्थानीयबासीले विद्यार्थीलाई ओराले उक्त बसमा आगजनी गरेको र बस पूर्ण रुपमा जलेर क्षतिग्रस्त भएको सिंहले जानकारी दिए ।साभार : अनलाइनखबर

