
काठमाडौं,१ कार्तिक:साफ महिला च्याम्पियनसिप २०२४ काे उद्घाटन खेलमा भारतले पाकिस्तानलाई हराएको छ।
बिहीबार साँझ काठमाडौंकाे दशरथ रंगशालामा भएको उद्घाटन खेलमा भारतले पाकिस्तानलाई ५–२ गोलले पराजित गरेको हो।
खेलको शुरूआतदेखि नै आक्रमण खेलेको भारतले चार मिनेटमै अग्रता लिएको थियो। ग्रेस दाङमेइले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षक निशा अशरफले बचाउन सकेनन्। बायाँ विंगबाट रन्जना चानुले दिएको क्रसलाई ग्रेसले नियन्त्रणमा लिँदै सहजै प्रहार गरेकी थिइन्।
१७औँ मिनेटमा मनीषाले अग्रता दोब्बर पारिन्। मिडफिल्डबाट लगातार पास खेल्दै पाकिस्तानको डिफेन्स बिट गरेर बाला देवीले दिएको अन्तिम पासलाई मनीषाले पेनाल्टी क्षेत्र भित्र लगेर गोल गरिन्।
२७औँ मिनेटमा ग्रेसको हेडरलाई पाकिस्तानकी गोलरक्षक निशाले डाइभ दिँदै बचाउ गरिन्। लगत्तै प्रियांका देवी नाओरेमको लामो दूरीको प्रहारमा पनि निशाले सहजै बचाइन्। ३६औँ मिनेटमा भारतका लागि बाला देवीले गोल थपिन्।
४३औँ मिनेटमा भारतले अर्को गोल थप्यो। भारतका लागि ७७औँ मिनेटमा ज्योतिले पाँचौँ गोल गरिन्।
पाकिस्तानका लागि भने सुहा हिरानी र केला शिद्धिकीले १/१ गोल गरे।जितसंगै भारतले ३ अंक जोडेको छ।
शुक्रबार नेपालले भुटानसंग प्रतिस्पर्धा गर्ने खेलतालिका छ।

