Madhes Khabar
स्थानिय हेडलाइन

ठोरीमा एकैसाथ बाघ र हात्तीले आतंक मच्चाउँदा स्थानीयबासी त्रसित

वीरगन्ज,१८असोजःपर्साको ठोरी गाउँपालिकामा अहिले एकै साथ बाघ र जंगली हात्तीले आतंक मच्चाउँदा स्थानीयबासी त्रसित छन् । चितवन र पर्सा राष्ट्रिय निकुन्ज तथा भारतको बाल्मिकी टाइगर रिजर्भ समेतले घेरिएको ठोरी गाँउ पालिकाको सबै वडामा हाल हात्तीको आतंक व्याप्त रहेको ठोरी—१ का चिरन्जिवी सापकोटा बताउँछन् ।

किसानको धान बाली पाक्न थालेपछि हात्ती धान खान आउने गरेको उनले बताए । ‘पालिकाको ५ वटै वडामा २ सातायता निकुन्जहरुबाट आउने हात्तीले आतंक मच्चाएका छन्,’ उनले भने, ‘पछिल्लो केही दिन यता वडा नंबर २ इच्छानगर र बुद्धनगर तथा वडा नंबरर ३ ब्रम्हानगरमा हात्तिले बढी सताएका छन् ।’

हात्ती ६ देखि ७, ८ देखि १२ र २० देखि २५ वटाको संख्यामा बगालमै आउने गरेको उनले बताए । कुनै हात्ती एक्लै पनि आएर धान बाली नष्ट गर्ने गरेको छ । हात्ती धपाउने परम्परागत तरिकाबाहेक स्थानीयसँग कुनै उपाय नरहेको उनले बताए ।

त्यसैगरी, झण्डै २ महिनादेखि वडा नंबर १ को इच्छानगर र चौतारा, वडा नंबर ३ ब्रम्हानगर र वडा नंबर ५ सुवर्णपुर क्षेत्रमा बाघलेपनि आतंक मच्चाएको छ । पालिकाभरि निकुन्जनजिक रहेको मानव बस्तीमा २ देखि ३ वटा बाघ प्रवेश गरेर स्थानीयको चौपाया खाने गरिरहेको छ ।

वडा नंबर ३ ब्रम्हानगरका सेते गोलेले बुधबार राति १० बजे बाघले आफ्नो खोरबाट एकै साथ २ वटा बाघ खाएको बताए । अन्य स्थानीयको समेत गरी दर्जन बढी खशि बाख्रा यहा मात्रै बाघले खाएको छ ।

स्थानीय रामबहादुर आले मगरले धेरै स्थानीयले हुलाकी सडक खण्डको शिकारीबास पुल छेउछाउ सडकमै सम्साझै बाघ देखेको बताए । बाघले मोटरसाइकल चालक देखि टेम्पो चालक समेतलाई झम्टिने गरेको उनले बताए ।

उक्त पुल आसपासको क्षेत्र चितवन र पर्सा निकुन्ज तथा भारतको बाल्मिकी टाइगर रिजर्भको समेत संगमस्थल रहेको र शिकारीबास खोला वन्यजन्तुको परम्परागत जैविक मार्ग समेत रहेकाले त्यस क्षेत्रमा वन्यजन्तुको आवागमन बढी हुने गरेको छ ।

स्थानीय बासिन्दा तथा शिकारीबास मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका सचिव रखेश आले मगरले बाघले कतिपय स्थानीयको बाख्रा खाएर खोरनै रित्तो पारिसकेको बताए । आफूले समितिलाई बाघ आतंक र बाघले गरेको क्षतिको पूर्ति गर्न सूचित समेत गरेको उनले बताए ।शंकर आचार्य/कान्तिपुर

Related posts

उपभोक्ता हित संरक्षण मञ्च पर्साकाे अध्यक्षमा श्रेष्ठ

MadhesKhabar

सरकारले गरेको मूल्यांकनमा पर्सा जिल्लामा पटेर्वा सुगौली गाँउपालिका भयो प्रथम

MadhesKhabar

पर्सामा चट्याङ  लागेर एक बालककाे मृत्यु, तीन जना घाईते

MadhesKhabar

Leave a Comment