वीरगन्ज,०२असोजःचितवनको सिमलतालमा असार २८ गते भएको बस दुर्घटनामा परि ज्यान गुमाएका एन्जल डिलक्स बसका चालक जवाहीर महतोका दुवै छोराको निःशुल्क पठनपाठनको व्यवस्था वीरगन्ज महानगरपालिकाले गरेको छ ।
चितवनको सिमलतालमा असार २८ गते खसेको पहिरोले त्रिशुली नदीमा खसेर बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस बेपत्ता भएको थियो ।उक्त दुर्घटनामा एन्जल डिलक्स बसका चालक वीरगन्ज–१६ का जवाहीर महतोसहित ६२ जनाको ज्यान गएको थियो ।
बुधबार वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले महतोका दुई छोरा श्याम कुशवाहा महतो र बिट्टु कुशवाहा अध्यनरत वीरगन्ज–१६ नगवास्थित सनलाइट माविमा पुगेर दुवै जनाको १२ कक्षासम्मको अध्ययनको जिम्मा महानगरपाालिकाले लिने गरी व्यवस्था मिलाएका हुन् । महतोका जेठा छोरा श्याम कक्षा ४ मा र कान्छा छोरा बिट्टु यूकेजीमा अध्ययनरत छन् ।
बुधबार विद्यालयमै पुगेर मेयर सिंहले विद्यालयका प्रधानाध्यापक आलोक चौरसियालाई भेटेर दुवै बालकको १२ कक्षा कक्षा सम्मको पठनपाठन निःशुल्क गरिदिन र त्यसका लागि आवश्यक प्रबन्ध महानगरपालिकाले गर्ने बताएको मेयर सिंहका प्रेस सल्लाहकार महेश दासले जानकारी दिए ।
महानगरका मेयर सिंहको आग्रहमा दुवै बालकहरुलाई कक्षा १२ सम्म अध्ययन निःशुल्क गर्ने गरी व्यवस्था मिलाइएको विद्यालयका प्रधानाध्यापक चोरसियालेपनि बताए । यसअघि दुर्घटना भएको ४ दिनपछि साउन २ गते मृतक महतोको घरमै पुगेरपनि मेयर सिंहले महतोका छोराछोरीको पठनपाठनको जिम्मा महानगरपालिकाले लिने वाचा गरेका थिए ।

