Madhes Khabar
स्थानिय हेडलाइन

यस वर्षको गोतामे पत्रकारिता पुरस्कार दाङका वरिष्ठ पत्रकार रेग्मीलाई प्रदान

वीरागन्ज ३, फागुन:वीरगंजका पत्रकार गोपालचन्द्र गौतमको स्मृतिमा प्रदान गरिने गोतामे पत्रकारिता पुरस्कार आज शनिवार दाङमा वरिष्ठ पत्रकार नारायणप्रसाद शर्मा (रेग्मी)लाई प्रदान गरिएको छ।

नेपाल पत्रकार महासङ्घ दाङ शाखामा आयोजित कार्यक्रममा राप्ती साहित्य परिषद्का पूर्वसभापति एवं वरिष्ठ साहित्यकार पुरुषोत्तम खनालले वरिष्ठ पत्रकार शर्मालाई एक तोला सुनको गोतामे पत्रकारिता स्वर्ण पदक प्रदान गरेका थिए। उनले पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानले वीरगंजबाट दाङमा आएर पुरस्कार प्रदान गरेकोमा सराहना गरेका थिए। वीरगंजले देशभरका पत्रकारहरूलाई खोजीखोजी पुरस्कृत गर्दै आएकोमा प्रशंसा व्यक्त पनि गरिएको थियो।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सैलिन प्रियदर्शन (साह)ले पुरस्कृत व्यक्तित्वको शारीरिक अवस्थालाई ध्यानमा राखेर दाङमै आएर पुरस्कार प्रदान गरिएकोमा आभार व्यक्त गरे।

यसैगरी, नेपाल पत्रकार महासङ्घ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदी, प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम, नागरिक समाजका पूर्वअध्यक्ष चन्द्रराज पन्थ, राप्ती साहित्य समाजका वरिष्ठ उपाध्यक्ष दीपक समीर लगायतका वक्ताहरूले एक तोला सुनको गोतामे पत्रकारिता स्वर्ण पदक पुरस्कार दाङमा आएर प्रदान गरिएकोमा प्रतिष्ठानको मुक्तकण्ठले प्रशंसा गरेका थिए।

पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठान, वीरगंजका अध्यक्ष जगदीश प्रसाद शर्माले पछिल्लो समयमा सुनको मूल्य गत वर्षको तुलनामा दोब्बर बढीले बढेको भएपनि यसपटक एक तोलाको स्वर्ण पदक प्रदान गरिएको बताए। उनले आगामी वर्ष सुनको साटो नगद पुरस्कार दिने प्रतिष्ठानको सोच रहेको जानकारी पनि दिए।

प्रतिष्ठानका सदस्य गोविन्दप्रताप श्रेष्ठले प्रतिष्ठानबारे जानकारी गराउँदै १० हजार राशिबाट शुरू गरिएको गोतामे पत्रकारिता पुरस्कार हाल आधा तोला हुँदै एक तोलासम्म पुर्‍याइएको जानकारी गराए। उनले मोफसलमा रहेर पत्रकारिता गर्दै आएका पुराना र नयाँ पत्रकारहरूको खोजी गरेर पुरस्कार प्रदान गर्दै आएको बताए।

कार्यक्रममा प्रतिष्ठानका सचिव हिमालचन्द्र गौतमले स्वागत गरेका थिए भने नेपाल पत्रकार महासङ्घ दाङ शाखाका सचिव जेएम सागरले सहजीकरण गरेका थिए।

Related posts

वीरगञ्ज भन्सारद्वारा सात महिनामै १ खर्ब ३५ अर्ब राजस्व सङ्कलन, लक्ष्यको ८८ प्रतिशत मात्र प्राप्त

MadhesKhabar

सबैभन्दा धेरै बेरुजु मधेस प्रदेशमा

MadhesKhabar

यमपञ्चककाे दाेस्राे दिन आज काग तिहार मनाइँदै

MadhesKhabar

Leave a Comment