वीरगन्ज ,२२साउन: फुटबलका पुराना प्रशिक्षक हरिबहादुर श्रेष्ठको निधन भएको छ । ८० वर्षीय श्रेष्ठको वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा आइतबार राति उपचारका क्रममा निधन भएको हो । वीरगन्ज गहवा निवासी उनी लामो समय एन्फाका प्रशिक्षक थिए ।
हाल अवकाश जीवन बिताइरहेका उनको मैदानसँगको नाता भने टुटेको थिएन । फुटबल प्रतियोगिता हेर्न निम्तो आएको ठाउँमा अहिले पनि ठमठमी पुग्थे । युवा खेलाडीलाई अझै प्रशिक्षण दिइरहेका हुन्थे । उनको बूढो शरीरमा तन्नेरी जोस कायमै थियो ।
उनका माहिला छोरा उमेशका अनुसार राति करिब ८ बजे अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल लगिएको थियो । ‘चिकित्सकले हृदयघातका कारण बुवाको निधन भएको बतायो,’ उमेशले भने, ‘रातिसम्म अवस्था सामान्य नै थियो, गत वर्ष पहिलोपल्ट हर्ट अट््याक आएको थियो, तीन महिनाअघि गंगालाल अस्पतालबाट नियमित चेकअप गरेर ल्याएका थियौं, पछिल्लो समय साइकल पनि चलाउन थाल्नुभएको थियो ।’ पर्साकै निचुटामा सञ्चालित एक फुटबल प्रतियोगिता हेरर शुक्रबार मात्रै घर फर्किएका उनी पछिल्लो समय तंग्रिदै गएको उमेशले बताए ।
मध्य तराईका साबिकको नारायणी अञ्चलका मकवानवपुरदेखि सर्लाहीसम्म र भारतको सीमावर्ती जिल्लामा समेत फुटबल प्रशिक्षण दिएर धेरैलाई फुटबल कौशल सिकाएका श्रेष्ठलाई धेरैले ‘हरि गुरु’ नामले सम्बोधन गर्थे । पुराना फुटबलर पंकज श्रेष्ठ प्रशिक्षकमात्र नभई हरि गुरुलाई अभिभावकको रूपमा सम्झन्छन् । ‘आफ्नै सन्तानजस्तो मानेर फुटबलको प्रशिक्षण दिनुहुन्थ्यो,’ उनले भने, ‘मैले आजीवन फुटबलमै समर्पित देखें, आइतबार राति पनि मैले टोलमै उहाँलाई शिष्यसँग गफिँदै गरेको देखेको थिएँ ।’ तत्कालीन गहवा बालविद्या स्कुल पढ्दा पंकजले उनीबाट प्रशिक्षण लिएका थिए ।
पर्सा जिल्ला फुटबल संघका महासचिव विनोद परियार हरि गुरुको असामयिक निधनले नेपाली फुटबल क्षेत्रमा क्षति पुगेको बताउँछन् । ‘खेल मैदानमा उहाँको उपस्थितिले मात्र पनि हामीलाई ठूलो हौसला र उर्जा मिल्थ्यो,’ परियार भन्छन्, ‘नेपालमात्र नभई भारतको बिहारसम्म उहाँको ख्याति फैलिएको थियो ।’ उनी पनि हरि गुरुकै चेला हुन् ।
कुनै समय नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख खेलाडी गणेश थापा, अनिलबन्धु रुपाखेती र ऋतु शाक्यहरूलाई समेत प्रशिक्षण दिएका हरि गुरु बिहारको मोतिहारी छतौनीस्थित स्पोर्ट्स क्लबमा प्रशिक्षक भएका थिए । ‘भारतमा पनि उहाँका थुप्रै शिष्य छन्, त्यहाँ पनि सबैले सम्मान गर्छन् । जीतपुर बकुलियाका थारु युवाको प्रतिभा उजागर गरेर कुशल खेलाडीको रूपमा स्थापित गर्ने काम पनि उहाँले गर्नुभयो,’ महासचिव परियार भन्छन्, ‘फुटबल भनेपछि मरिहत्ते गर्ने उहाँ प्रतियोगिता जता हुँदा पनि हेर्न र खेलाडीको हौसला बढाउन पुग्नु हुन्थ्यो ।’
यसै वर्ष पर्सा जिल्ला फुटबल संघले मानार्थ वरिष्ठ उपाध्यक्षमा श्रेष्ठलाई मनोनीत गरेको थियो । कुनै फुटबल प्रतियोगिता खेल्न जाँदा खेलाडीले डाइट खान नसक्दा आफैंले खर्च गरी हरि गुरुले डाइट खुवाउने गरेको परियार सम्झन्छन् । ‘हामीलाई उहाँले धेरै पटक आफ्नै गोजीबाट डाइट खुवाउनु भएको छ,’ उनले भने, ‘बेलाबेलामा भन्नुहुन्थ्यो, हेर विनोद म परिवारबिना बाँच्न सक्छु, तर फुटबलबिना बाँच्न सक्दिनँ ।’
स्व. श्रेष्ठको सोमबार नै वीरगन्जस्थित अशोक बाटिकामा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा सम्मानस्वरुप जिल्ला फुटबल संघको झण्डा ओढाइएको थियो । उनको सम्मानमा सर्लाहीमा जारी मधेश प्रदेशस्तरीय यू–१६ र यू–१९ राष्ट्रिय छनोट फुटबलको सोमबार खेल स्थगन गरिएको परियारले बताए । श्रेष्ठका पत्नी कमला र दुई छोरा छन् । तीन छोरामा एक छोराको कोराना संक्रमणबाट निधन भएको थियो ।
शंकर आचार्य /कान्तिपुर

