
वीरगन्ज,२०भदौं :२२ वर्षअघि बन्द गरिएको वीरगन्ज कृषि औजार कारखाना पुन चलाउनका लागि आर्थिक श्रोत जुटाउन आफनो आत्मकथा लेखिएको पुस्तक बेच्ने देश दौडाहा अभियानमा रहेका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन वीरगन्ज आइपुगेका छन् ।
बिहीबार बिहान वीरगन्जको व्यस्तचोक घण्टाघरमा आँफुले लेखेको किताब बेच्दै गरेको अवस्थामा भेटिएका पुनले भने,‘अहिलेसम्म १ लाख ३० हजार बढी थान यो किताब बेचिसकेको छु । त्यसबाट ९ करोड ७५ लाख रुपैयाँ जम्मापनि भईसकेको छ ।
उनले थपे,‘ ३ लाख थान किताब बेच्ने लक्ष्य राखेको छु । अहिलेसम्म ३४ जिल्ला पुगेर किताब बेचिसकेको छु । अब ४३ जिल्लामा पुग्न बाँकी छ । ३ लाख किताब बेच्न सकियो भने साढे २२ करोड रुपैयाँ जम्मा हुन्छ । त्यतिले कृषि औजार कारखाना मज्जाले फेरि पहिलेकै जस्तै चल्छ ।’
२०८० पुष २३ मा बैतडीबाट किताब बेच्ने अभियान सुरु गरेका पुनले अहिलेसम्म पुगेकोे हरेक जिल्लामा मानिसहले स्वफूर्त रुपमा आफनो किताब किन्ने गरेको बताए । उनले भने,‘सबैभन्दा बढी मेरो यो किताब रुपन्देही जिल्लामा १७ हजार थान बिक्री भयो । आशा छ ५÷६ दिनको वीरगन्ज बसाईमा त्यो रेकर्ड वीरगन्जले तोड्नेछ ।’
सोभियत संघ रुसको सहयोगमा विक्रम संवत २०२१ सालमा स्थापित सरकारी स्वामित्वको वीरगन्ज कृषि औजार कारखाना निरन्तर घाटामा गएको भन्दै सरकारले २०५९ सालमा पूर्णा रुपमा बन्द गरिदिएको थियो । दुई दशकदेखि बन्द उक्त कारखाना पुन चलाउनका लागि भन्दै सरकारले २०७९ भदौं ३१ मा राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिने निर्णय गर्यो ।
त्यसपछि आविष्कार केन्द्र र अर्थ मन्त्रालयबिच २०७९ असोज ११ गते भएको सम्झौता भयो । उक्त सम्झौतापत्रमा काारखानाको मर्मतसम्भार लगायतका कामका लागि आवश्यक बजेट अर्थ मन्त्रालयले आविष्कार केन्द्रलाई उपलब्ध गराउनुपर्ने उल्लेख थियो । कारखाना पुन सञ्चालनका लागि विकल्प सुझाउन कृषि मन्त्रालयले गठन गरेको कार्यदलले तयार पारेको प्रतिवेदनमा कारखाना मर्मतसम्भार गरी पुन सञ्चालनमा ल्याउनका लागि ३० करोड रुपैयाँ आवश्यक पर्ने उल्लेख गरिएको थियाोे ।
तर अर्थ मन्त्रालयले आावश्यक बजेट दिन चासो नै नलिएपछि आविष्कार केन्द्रका अध्यक्ष पुनले आवश्यक रकमको जोहो गर्न आँफै अगाडि सर्दै आफनो आत्मकथा लेखेको पुस्तक बेच्न २०८० पुषदेखि देश दौडाहा अभियान सुरु गरेका हुन् । उनले भने,‘ सरकारको मुख ताकेर म बसिन ।सरकारले अहिलेसम्म १ रुपैयाँपनि दिएकोे छैन ।मन्त्रालयमा धाएर चाकडी गर्नुभन्दा बरु आफनै किताब बेचेर त्यति रकम जुटाउँछु भनेर हिडेको छु।’
अध्यक्ष पुनले अहिलेसम्म कारखानाको मर्मत सम्भारमा आविष्कार केन्द्रको झण्डै साढे २ करोड रुपैयाँ खर्च भइसकेको जानकारीपनि गराए ।
आविष्कार केन्द्रले कारखाना जिम्मा लिएको २३ महिनामा कारखानामा रहेका पुराना उपकरण र मेशिनहरु मर्मत सम्भार गरे हालसम्म १० किसिमका कृषि औजारहरु परीक्षणका रुपमा उत्त्पादनपनि गरिसकेको पुनले बतााए । धान रोप्ने सानो मेसिन, घाँस खुर्किने, ड्याङ बनाउने मेसिन, खाल्डो खन्ने हातेऔजार, आलु रोप्ने, आलु गोड्ने, घाँस तथा पराल काट्ने, धान काट्ने सानो मेसिन, प्लास्टिक ओछ्याउने र केराको फाइबर निकाल्ने मेसिन उत्पादन गरिएको उनले बताए ।
आविकार केन्द्रका सहायक मेकानिकल इन्जिनियर अरुण साहले कारखानामा रहेका पुराना साना–ठूला गरेर ५५ उपकरणमध्ये ५१ वटा मर्मतसम्भार गरेर सञ्चालन गर्न सकिने बतााए ।