वीरगन्ज,८असार:स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले नेपालमा नसर्ने रोग र मानसिक स्वास्थ्यका क्षेत्रमा भएको कार्यप्रगतीका बारेमा जानकारी गराएका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) र विश्व बैंकको सहकार्यमा अमेरिकामा आयोजित ‘नसर्ने रोग र मानसिक स्वास्थ्यका लागि दिगो वित्तीय साधन’ विषयक अन्तर्राष्ट्रिय संवादका क्रममा मन्त्री यादवले नेपालले मानसिक स्वास्थ्य र नसर्ने रोगका क्षेत्रमा गरेका कामको बारेमा अवगत गराएका हुन् ।
मन्त्री यादवले नेपालको नसर्ने रोगहरू र मानसिक स्वास्थ्य क्षेत्रमा हालसम्म भएको प्रगति तथा भविष्यका योजनाहरूका बारेमा प्रस्तुती दिएका थिए । उनले नेपालको स्वास्थ्य क्षेत्रलाई अझ प्रभावकारी बनाउन तथा आवश्यक वित्तीय सहायता सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग सहकार्यको आवश्यकता औँल्याए।
कार्यक्रममा मन्त्री यादवले भने, “नेपालले राष्ट्रिय स्वास्थ्य योजनाहरूमा सुधार ल्याउन तथा स्वास्थ्य सेवाको पहुँचमा वृद्धि गर्न महत्वपूर्ण कदमहरू चाल्दै आएको छ । यद्यपि, यस क्षेत्रमा अझ धेरै सुधारको आवश्यकता रहेको छ ।” उनले नेपाललाई आवश्यक पर्ने वित्तीय सहयोग तथा अन्तर्राष्ट्रिय साझेदारीको लागि पनि सहयोगको अपिलपनि गरे ।
नेपालले नसर्ने रोगहरू जस्तै मुटु रोग, मधुमेह, क्यान्सर लगायतका समस्याहरूलाई न्यूनीकरण गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको मन्त्री यादवले बताए । मन्त्री यादवकाअनुसार मानसिक स्वास्थ्यका क्षेत्रमा पनि समुदायस्तरमा सेवाहरू विस्तार गर्दै जनचेतना कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।
मन्त्री यादवले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गर्दै भने, “नेपालको स्वास्थ्य प्रणालीलाई बलियो बनाउन, सबै नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन र दीर्घकालीन स्वास्थ्य योजनाहरू कार्यान्वयन गर्न हाम्रो प्रयासलाई बल पुर्याउन अन्तर्राष्ट्रिय सहयोग आवश्यक छ ।”
कार्यक्रममा सहभागी विभिन्न देशका प्रतिनिधिहरूले आफ्ना अनुभवहरू साटासाट गरेका थिए र दीर्घकालीन वित्तीय स्थायित्वका उपायहरूको खोजी गरेका थिए ।

