
वीरगन्ज,०७माघःवीरगन्जको नारायणी अस्पतालमा क्याथ ल्याब ((मुटु रोगको विशिष्टकृत सेवा ) सञ्चालनका लागि तयारी अन्तिम चरणमा पुगेको छ ।
मुटुको भल्ब (नशा ) खोल्ने ,जाली (स्टेन),हाल्ने, पेसमेकर (बैट्री) राख्ने,बाइपास सर्जरी (मुटु खोलेर गरिने शल्यकृया) लगायतका सेवा सुरु गर्नका लागि क्याथ ल्याब सञ्चालनमा ल्याउन अस्पताल व्यवस्थापन र प्रशासनले तयारी तिब्र गतिमा अगाडि बढाएको छ ।
अस्पतालका सुचना अधिकारी वरिष्ठ चिकित्सक डा. उदयनारायण सिंहका अनुसार, क्याथ ल्याब सञ्चालनका लागि करिब २२ करोड रुपैयााँको लागतमा तीन तल्ले भवन निर्माणको काम अन्तिम चरणमा पुगिसकेको छ ।त्यस्तै क्याथ ल्याब सञ्चालनका लागि आवश्यक करिब ४ करोड बढी मूल्यका उपकरणहरु अस्पतालले ५ वर्ष अघि नै खरिद गरेर ल्याइसकेको थियो ।तर भवन अभावका कारण ती उपकरणहरु त्यसै थन्किएका थिए ।
नवनिर्मित भवनमा क्याथ ल्याब सञ्चालनका लागि उपकरणहरुको जडान कार्य यहि माघ महिनाको अन्तिम सातादेखि सुरु गरिने जानकारी उनले दिए ।भवन निर्माणको ठेक्का सकारेको निर्माण कम्पनिले छिट्टै भवन निर्माणको काम सकाएर अस्पताल प्रशासनलाई हस्तान्तरण गर्ने र त्यसलगत्तै क्याथ ल्याबमा उपकरणहरु जडानको काम सुरु गरिहाल्ने अस्पतालका प्रशासन प्रमुख सुशील यादवले जानकारी दिए । उपकरण जडानको काम सकाएर आगामी बैशाखदेखि क्याथ ल्याब सेवा सुरु गर्ने लक्ष्यका साथ अगाडि बढिएको यादवले बताए ।
क्याथ ल्याब सञ्चालनकै तयारीका क्रममा नारायणी अस्पतालका चिकित्सक र कर्मचारीहरुको एक टोलीले यसअघि उक्त सेवा प्रवाह गरिरहेको वीरगन्ज हेल्थ केयर हस्प्टिलमा सोमबार अवलोकन भ्रमण गरेको छ । अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण कर्ण नेतृत्वको टोलीले सोमबार वीरगन्ज हेल्थ केयर अस्पतालमा अवलोकन भ्रमण गरेको हो ।
विगत ६ वर्षदेखि क्याथ ल्याब सेवा प्रवाह गरिरहेको वीरगन्ज हेल्थय केयर हस्पिटलमा सोमबार पुगेर त्यहाँको क्याथ ल्याबको अवलोकन गरिएको डा. कर्णले बताए । क्याथ ल्याब सेवा प्रवाहको मोडालिटी,जनशक्ति व्यवस्थापन, उपलब्ध सेवा लगायतका बारेमा वीरगन्ज हेल्थ केयर हस्पिटलका सञ्चालक ,चिकित्सक र स्वास्थ्यकर्मीसंग विस्तृत रुपमा जानकारी लिनुका साथै अनुभव आदानप्रदान पनि गरिएको डा. कर्णले बताए ।
त्यसक्रममा वीरगन्ज हेल्थ केयर हस्पिटलका अध्यक्ष तथा सञ्चालक डा. अबुल हैश अन्सारीले नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनका लागि आवश्यक प्राविधिक र जनशक्तिको सहयोग गर्न आफ्नो अस्पताल तयार रहेको बताए ।
उनले वीरगन्ज हेल्थकेयर हस्पिटल मधेस प्रदेशमै क्याथ ल्याब सेवा सञ्चालन गर्ने पहिलो स्वास्थ्य संस्था भएको बताउँदै नारायणी अस्पतालमापनि छिट्टै क्याथ ल्याब सेवा सञ्चालनमा आओस् भन्ने आँफुहरुको चाहना रहेको बताए ।‘त्यसका लागि जे जे सहयोग र समन्वय चाहिन्छ त्यो सहयोगल गर्न वीरगन्ज हेल्थ केयर हस्पिटल तयार छ,’ अन्सारीले भने ।
अवलोकन भ्रमण टोलीमा नारायणी अस्पतालका प्रशासन प्रमुख सुशील यादव, नर्सीङ प्रमुख श्रुती साहका साथै वीरगन्ज हेल्थ केयर हस्पिटलकी प्रशासन प्रमुख भूमीका अधिकारीकोपनि सहभागीता थियो ।