वीरगन्ज,१४पुसःपर्साको सखुवाप्रसौनी गाउँपालिकामा दलित समुदायको अधिकार संरक्षण, समान पहुँच र सशक्तीकरण सुनिश्चित गर्न “दलित सशक्तीकरण ऐन” निर्माण गर्नुपर्ने माग गरेका छन् ।
फिस फोर दलित फाउन्डेसन पर्साका अध्यक्ष मनोज रामसहितका दलित अगुवाहरुले सखुवा प्रसौनी गाँउपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेका हुन् ।
संविधानले सुनिश्चित गरेको समानता र सामाजिक न्यायको अधिकार व्यवहारमा कार्यान्वयन हुन नसकेको भन्दै उनिहरुले दलित समुदाय अझै पनि गरिबी, छुवाछूत तथा जातीय विभेद, शिक्षा र रोजगारीमा पहुँचको अभाव, भूमि तथा आवास समस्या, स्वास्थ्य सेवामा असमानता जस्ता समस्याबाट पीडित रहेको बताएका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहलाई आफ्ना आवश्यकता अनुसार कानून निर्माण गर्ने अधिकार रहेको स्मरण गराउँदै दलित अगुवाहरुले दलित समुदायका लागि छुट्टै ऐन निर्माण गर्नु अपरिहार्य भएको बताएका छन्।
ज्ञापनपत्रमार्फत उनिहरुले सखुवाप्रसौनी गाउँपालिकामा दलित सशक्तीकरण ऐन तत्काल निर्माण गरी कार्यान्वयन गर्न,शिक्षा, स्वास्थ्य, सीप विकास, रोजगारी, उद्यम, आवास र सामाजिक सुरक्षामा विशेष व्यवस्था गर्न,छुवाछूत तथा जातीय विभेदविरुद्ध स्थानीय तहस्तरीय अनुगमन र उजुरी संंयन्त्र गठन गर्न,दलित महिला, युवा र बालबालिकालक्षित विशेष बजेट र कार्यक्रम सुनिश्चित गर्न तथा ऐन कार्यान्वयनका लागि दलित प्रतिनिधि समावेश भएको समिति गठन गर्न माग गरेका छन्।
ज्ञापनपत्र बुझ्दै सखुवाप्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजिव कुमार यादवले दलितका मागप्रति गम्भीर रहेको बताउँदै नीति तथा ऐन निर्माणको प्रक्रियामा प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाए।
ज्ञापनपत्र बुझाउन गएको टोलीमा पिस फोर दलित फाउन्डेसन नेपाल पर्साका अध्यक्ष मनोज राम,सचिव दीपेन्द्र राम, सदस्य सुरेन्द्र पासवान, सदस्य सन्जोग राम,लिलावती देवी ,उदम देवी, महेश राम लगायतकाको सहभागिता थियो।

