वीरगन्ज,४मंसिरःवीरगन्जको नयाँ बसपार्कमा पार्किङ गरिराखिएका दुईवटा बसमा आगलागी भएको घटनामा प्रहरीले बसका सञ्चालक(साहु) लाई नियन्त्रणमा नलिएको पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकले प्रष्ट पारेका छन् ।
वीरगन्ज–१६ नयाँ बसपार्कमा पार्किङ गरिराखेको जम जम ट्राभल्सका ५ ख ६२१६ र ना ५ ख ६२१७ नम्बरका बसमा शंकास्पद रुपमा आगलागी हुदाँ दुवै बस पूर्ण रूपमा जलेर नष्ट भएका थिए ।
ती दुवै बसमा बिमाको रकम हत्याउन बसका साहुले नै आगो लगाएको र बसका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको खबर केहि सञ्चारमाध्यममा आएको थियो । उक्त खबरको खण्डन गर्दै प्रहरी उपरीक्षक पाठकले बसका सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको समाचार भ्रामक रहेको बताए ।
बुधबार सञ्चारकर्मीसंगको कुराकानीका क्रममा आँफुले प्रहरीले अनुसन्धानका क्रममा बसमा आगो लगाउने एक व्याक्तिलाई नियन्त्रणमा लिएकोे जानकारी दिएको तर केहि मिडियाले बसका सञ्चालकलाई नै पक्राउ परेको र बस सञ्चालकले बीमाको रकमका लागि बसमा आगो लगाएको स्वीकारपनि गरिसकेको भनेर समाचार लेखेको प्रहरी उपरीक्षक पाठकले मधेसखबरलाई बताए ।
प्रहरीले अनुसन्धानका क्रममा नियन्त्रणमा लिएका व्याक्ति बसका सञ्चालक नभएको भन्दै पाठकले उसले आँफैले बसमा आगो लगाएको स्वीकारपनि गरिसकेको बताए । अनुसन्धान प्रभावित हुन नदिन पक्राउ गरिएका व्याक्तिको पहिचान अहिलेका लागि गोप्य राखिएको भन्दै प्रहरी उपरीक्षक श्रेष्ठले भने : पक्राउ गरिएका व्याक्तिले कुन नियतले बसमा आगो लगायो भन्ने खुलिसकेको छैन । हुनसक्छ बसका साहुसंग उसको मिलोमतोपनि हुनसक्छ । इन्स्योरेन्स रकम दाबीका लागि बसमा आगो लगाइएको हुन सक्छ । यीसबै कोणबाट प्रहरीले अनुसन्धान गरिराखेको छ ।

