वीरगन्ज,२०जेष्ठःसीमावर्ती भारतीय बजार रक्सौल निवासी मुख्तार अलीलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । पर्साको अमरपट्टी प्रहरी चौकीमा तस्करीको लाइन खोलाउन गएका मुख्तारलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको हो ।
पर्साका प्रहरी उपरिक्षक कुमोध ढुंगेलकाअनुसार प्रहरीलाई बदनाम गराउँदै हिँडेका रक्सौल निवासी मुख्तारलाई अमरपट्टीबाट पक्राउ गरिएको हो ।
स्रोतका अनुसार सीमावर्ती क्षेत्रमा लामो समयदेखि अवैध कारोबार(तस्करी)मा संलग्न रहेका मुख्तार पछिल्लो समय जिल्लाको एसपी र क्राइम टोलीसँग ‘सेटिङ’ भइसकेको भन्दै अवैध कारोबार(तस्करी)मा संलग्नहरुसँग पैसा असुल्दै आएका थिए ।
‘कपडा र किराना सामानको तस्करी गर्ने मुख्तारले जिल्लामा आएका नयाँ प्रहरी अधिकृतलाई यो नाकाबाट सामान पास हुँदैछ भन्ने गलत सूचना समेत दिन्थे,’ एक प्रहरी अधिकृत भन्छन्, ‘प्रहरी टोली उता इन्गेज भएपछि आफूले सजिलै सामान कटाउँथे ।’
प्रहरीका अनुसार मुख्तारले माथि सेटिङ भइसकेको भन्दै नाकामा खटिएका प्रहरी चौकी इन्चार्जलाई तस्करीको लाइन खोल्न प्रलोभन समेत दिएका थिए ।
मुख्तारलाई विगतमा विभिन्न तहका प्रहरी कर्मचारीको पैसा मिटर ब्याजमा समेत लगाउने गरेका थिए । ‘मुख्तारले प्रहरीका हाकिमसँग पैसा लिएर मिटर ब्याजमा चलाउँथे,’ वीरगन्ज आदर्शनगरका एक कारोबारी भन्छन्, ‘सरुवा भएका कतिपय हाकिमका पैसा उनले अझ तिर्नै बाँकी छ ।’ साभार : ईकान्तिपुरबाट

