वीरगन्ज,२४चैतः वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्जलाई ‘बैभव वीरगन्ज’ बनाउन अहिले सुरुवात मात्र गरिएको बताएका छन् ।
वीरगन्जमा शनिबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘वीरगन्जको वाणी’ कार्यक्रमको दोश्रो सत्रमा बोल्दै मेयर सिंहले भने,‘ वीरगन्जलाई ‘बैभव वीरगन्ज’ बनाउनका लागि केहि सुरुवाती काम मात्र भएको छ । अझै धेरै काम गर्न बाँकी नै छ ।’
वीरुगन्जको सरसफाई र सौनदर्यकरणमा अहिले देखिएको सकरात्मक परिवर्तन आफनो एकल प्रयासले मात्र नभई यसमा सम्पूर्ण वीरगन्जबासीको साथ र सहयोग रहेको मेयर सिंहले बताए । उनले भने,‘ हामीले कुनै ठूलो काम गरेका छैनौं ।वीरगन्जले पाएका विरासतहरुको सौन्दर्यकरण मात्र गरि दिएका छौं ।अझै धेरै गर्न बाँकी छ।’
‘बैभव वीरगन्ज’ बनाउने महानगरको अभियानमा वीरगन्जबासीका साथै मिडियाकोपनि उत्तिक्कै साथ र सहयोगको आवश्यकता रहेकोपनि मेयर सिंहले बताए ।वीरगन्जलाई धार्मिक पर्यटकीय गन्तब्य बनाउने अभियानमा लागिसकेको भन्दै उनले त्यसका लागि यहाँ रहेका विभिन्न धार्मिक मठमन्दिरहरुको संरक्षण र सौन्दर्यकरण गरिरहेको बताए ।
मेयर सिंहले भने,‘अब भारतीय पर्यटकलाई पशुपतिनाथको दर्शन गर्न काठमाडौंमै जानु जरुरी छैन । किनकि वीरगन्जमै पशुपतिनाथ मन्दिर छ । यस्तै भगवान राम लल्लाको दर्शन गर्न भारतको अयोध्या नै जानु पर्दैन । वीरगन्जमै रामजानकी मन्दिर छ ।’
’विरासतमा पाएका यिनै पूर्वाधारलाई सौन्दर्यकरण र सरसफाइ गरेर यो शहरलाई सुन्दर बनाउन हामी प्रयत्न गरिरहेका छौं,’ उनले भने, ’वीरगन्ज भनेको सम्भावना नै सम्भावना बोकेको शहर भएकाले वैभव वीरगन्ज अभियान सञ्चाल गरिरहेका छौं ।’
अर्को प्रसंगमा मेयर सिंहले वीरगन्जलाई आर्थिक नगरी भनेर प्रचार गरिएपनि त्यसको वास्तविक अनुभूती वीरगन्जबासीले अहिलेसम्म गर्न नपाएको गुनासोपनि गरे । उनले भने,‘ हुन त वीरगन्जलाई देशकै आर्थिक र औद्योगिक नगरी भनेर चिनाइन्छ । तर वीरगन्जबासीले अहिलेसम्म यसको अनुभूती गर्न पाएकै छैनन् । यहाँ देशमै सबै भन्दा बढी उद्योग कलकारखाना छन् । तर यहाँका युवाहरु बेरोजगार छन् ।त्यसका कारण वीरगन्ज नाम मात्रको आर्थिक नगरी भएको छ ।’ उनले यहाँ रहेका उद्योगले वीरगन्जको विकासका लागि र वीरगन्जबासीको लागि केहिपनि नगरेको गुनासो गरे ।
मेयर सिंहले वीरगन्जलाई महानगर बनाउँदा ग्रामीण भेगका १६ वटा वडा थपिएको भन्दै ती वडामा महानगर हुनका लागि आवश्यक मापदण्ड अनुसारको सडक र अन्य भौतिक संरचना नरहेको बताए । तर आँफु नेतृत्वमा आएदेखि ती वडामा सडक र भौतिक संरचना निर्माणको काम सुरु गरिसकेको मेयर सिंहले बताए ।
संघीय सरकारले देशमा रहेका ६ महानगरमध्ये सबैभन्दा कम बजेट वीरगन्ज महानगरलाई दिने गरेका कारण बजेटको अभावमा आँफुले सोचे अनुसारको काम गर्न नसकिरहेको उनले बताए। मेयर सिंहले भने,‘संघ सरकारले त्यहि काठमाडौं महानगरलाई साढे १४ सय करोड बजेट दिन्छ तर वीरगन्ज महानगरले ११५ करोड रुपैयाँमात्रै बजेट पाउँछ । अब भन्नुस् यति थोरै बजेटले के के काम गर्ने ?।’

