Madhes Khabar
स्थानिय

वीरगन्जमा विद्यालय र अस्पताल आसपासमा पान,गुट्खा र सुर्तीजन्य पदार्थ बिक्रिमा कडाई गर्ने सहमति 

वीरगन्ज,१०बैशाख:वीरगन्ज शहरलाई सफा, स्वच्छ र सुन्दर बनाउन जथाभावि पान, गुट्खा तथा सुर्तीजन्य पदार्थ सेवन गरि फोहोर नगर्ने व्यवस्था बनाउन पान व्यवसायीहरु सहमत भएका छन्।

वीरगन्ज महानगरपालिका र पान, गुट्का तथा सुर्तीजन्य पदार्थ व्यवसायी संघबीच बुधबार भएको छलफलमा पान पसलमा अनिवार्य डस्टवीन राख्ने, ग्राहकहरुलाई जथाभावी थुक्न र फोहोर गर्न नदिन लगाउने विषयमा व्यवसायीहरु सहमत भएका हुन् ।

यस्तै गुट्का तथा सुर्ती जन्य पदार्थहरूको खुल्ला रूपमा बिक्री वितरणमा कडाइ गर्दै विद्यार्थीहरूलाई यस्ता पदार्थ बिक्री गर्न प्रतिबन्ध लगाउन विद्यालय र अस्पताल क्षेत्र वरपर पान,गुट्खा र सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाइने निर्णयपनि गरिएको छ।

सार्वजनिक स्थानमा थुक्ने र जथाभावी फोहोर गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्दै वीरगन्जलाई सफा र स्वच्छ शहर बनाउने उद्देश्यले महानगरपालिकाले पान व्यवसायी संघसंग सहमति गरेर यो निर्णय गरेको हो।

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले भने, “हामी वीरगन्जलाई स्वच्छ, सफा र मर्यादित शहर बनाउनेतर्फ प्रतिबद्ध छौं। यो पहल त्यसकै एउटा महत्वपूर्ण पाटो हो।”

पान व्यवसायी संघका प्रतिनिधिहरूले पनि सहमतिमा हस्ताक्षर गर्दै सामाजिक उत्तरदायित्व बहन गर्ने प्रतिबद्धता जनाएका छन् । पान व्यवसायी संघ पर्साका अध्यक्ष लाल बहादुर चौरसियाले विद्यालय जाने बालबालिका, अस्पतालमा उपचार गरिरहेका बिरामी र अन्य नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै यस्ता पदार्थहरूको सीमित र अनुशासित विक्री प्रणालीमा सहयोग गर्न आफूहरु तयार रहेको बताए।साथै व्यवसायी संघले नै पान, गुट्खा तथा सुर्तीजन्य पदार्थ सेवन गरेर जथाभावी नथुक्न, र्यापर जथाभावी नफाल्न, फोहोर जथाभावी नगर्न भन्दै सचेतनामुलक जागरण र्याली प्रदर्शन गर्दै नागरिकमा सचेतना फैलाउने पनि प्रतिबद्धता जनाएकाे छ ।

वीरगन्ज महानगरपालिकामा व्यवसाय दर्ता गरेर मात्रै आफ्नो व्यवसाय संचालन गर्न पनि उनीहरु तयार भएका छन् ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले महानगरले अब बजार अनुगमन गर्ने, नियम उल्लंघन भएमा कारबाही गर्ने र नागरिकबीच चेतना फैलाउने कामलाई तीव्र बनाउने बताए ।

Related posts

वीरगन्जको यातायात कार्यालयबाट एकैदिन १० जना बिचौलिया पक्राउ

MadhesKhabar

वीरगन्जमा एकै पटकमा १४ हजार छात्राहरुलाई दिइयाे आत्मारक्षा तालिम

MadhesKhabar

गणतन्त्र दिवसकाे उपलक्ष्यमा कांग्रेसद्वारा वीरगन्जमा दीप प्रज्वलन

MadhesKhabar

Leave a Comment