Madhes Khabar
कृषि हेडलाइन

वीरगन्ज कृषि औजार कारखाना औजार र उपकरण उत्पादनका लागि भयोे तयार

फाइल तस्बिर ।

बारा,९जेष्ठःराष्ट्रिय अविष्कार केन्द्रले वीरगन्ज कृषि औजार कारखाना व्यावसायिक उत्पादनका लागि तयार रहे पनि कच्चा पदार्थ आयातमा समस्या देखिएको जनाएको छ । करिब एक दर्जन मेसिनबाट परीक्षण उत्पादन गरेसँगै केन्द्रले कारखाना व्यावसायिक उत्पादनका लागि तयार रहेको जनाएको हो ।

उद्योगका लागि आवश्यक कच्चा पदार्थ आयातमा भन्सार महसुल उच्च हुँदा उत्पादन लागत बढ्ने र बजारमा प्रतिस्पर्धा गर्न नसक्ने भन्दै आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा लिखित निवेदन दिएका छन् ।

फलामजन्य उद्योगका लागि पाता, पाइप लगायतका कच्चा पदार्थ आवश्यक पर्दछ । यस्ता वस्तुको भन्सार महसुल १५ देखि ३० प्रतिशतसम्म छ । सरकारले केही कृषिजन्य औजारको भन्सार महसुल छुट गरेपनि कृषि औजार बनाउन आवश्यक कच्चा पदार्थमा भने चर्को भन्सार महसुल लगाएको छ ।

‘परीक्षण उत्पादनका लागि अहिले हामीले लोकल बजारबाटै कच्चा पदार्थ लिएका छौँ, तर अब व्यावसायिक उत्पादन गरेर बजारमा प्रतिस्पर्धा गर्न कच्चा पदार्थ आयातमा भन्सार महसुल छुट हुनुप¥यो भन्ने हाम्रो माग हो,’ राष्ट्रिय अविष्कार केन्द्रले वीरगन्ज कृषि औजार कारखानामा खटाएका सिनियर मेकानिकल इन्जिनियर रितेश देवले भने ।

यसबारे आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा अनुरोध गरेको तर सरकारको तर्फबाट कुनै ठोस निर्णय नआएको सिनियर मेकानिकल इन्जिनियर देवको भनाइ छ ।

वीरगन्ज कृषि औजार कारखानाले केराको थामबाट फाइबर निकाल्ने मेसिन, धान काट्ने मेसिन, आलु गोड्ने, आलु रोप्ने मेसिन, घाँस तथा पराल काट्ने मेसिन, खाल्टो खन्ने औजार, घाँस खुर्किने र ड्याङ्ग बनाउने मेसिन, बिउ रोप्ने मेसिन, आधुनिक कोदालोको परीक्षण उत्पादन गरिसकेको छ ।

अर्का मेकानिकल इन्जिनियर अरुण साहले परीक्षण सफल भएका एक दर्जन मेसिन उत्पादन गरेर बजारमा पु¥याउन कारखाना तयारी अवस्थामा रहेको जनाए ।

पछिल्लो समय कारखाना सञ्चालनका लागि ५ सय केभीको ट्रान्सफर्मर लाइन जडान भएर आन्तरिक विद्युतीकरणको काम सुरु भएको छ । ५ सय केभीको ट्रान्सफर्मर जडानका लागि नेपाल विद्युत प्राधिकरणले कारखानालाई २० लाख रुपैयाँ अनुदानस्वरुप दिएको छ भने १० लाख रुपैयाँ आविष्कार केन्द्रले लगानी गरेको छ ।

मेकानिकल इन्जिनियर साहले कृषि औजार कारखानामा व्यावसायिक उत्पादनको लागि कच्चा पदार्थ आयातमा समस्या भएको बताए । ‘अहिलेसम्म हामीले लोकल बजार (वीरगञ्ज) बाटै पाता, फलामको सिटहरू ल्याएर काम गरिरहेका छौँ भने केही बेरिङ्ग काठमाडौँबाट मगाएका छौँ । तर भारतबाट आयात गरेका छैनौँ,’ इन्जिनियर साहले भने ।

पहिला कृषि औजारमा केन्द्रित भए पनि अहिले आफूहरू कृषि मेसिनहरूको व्यावसायिक उत्पादनमा केन्द्रित रहेको उनको भनाइ छ ।

कृषि औजार कारखाना सञ्चालनका लागि पछिल्लो समय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले आफ्नो जीवनीमा आधारित ‘महावीर पुन– सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तक प्रकाशन गरेर बिक्री गरेका छन् । हालसम्म ९० हजारभन्दा बढी पुस्तक बिक्री गरेर करिब ५ करोड रकम संकलन गरिसकेको जनाइएको छ ।

२०५९ सालदेखि बन्द रहेको कृषि औजार कारखाना महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रको पहलमा सञ्चालनमा आएको हो ।२०८० असोज ११ गते अर्थ मन्त्रालय र आविष्कार केन्द्रबिच भएको सम्झौतामा कारखाना सञ्चालनका लागि पहिलो चरणको मर्मतसम्भार र सञ्चालन खर्च सरकारले बेहोर्ने भनिए पनि सरकारले अनुदानमा कारखाना सञ्चालनमा खर्च नदिएपछि अविष्कार केन्द्रले पुस्तक बिक्री गरेको रकमबाट कारखाना सञ्चालनको तयारी गरेको हो ।

तत्कालीन सरकार र सोभियत सङ्घ (रुस) सरकारको संयुक्त लगानीमा निर्माण भएको कारखाना २०२४ साल फागुन २८ गतेदेखि सञ्चालनमा आएको थियो । बन्द भएको करिब ३ दशकपछि अविष्कार केन्द्रले कारखानाभित्र रहेका ६० वर्ष पुराना मेसिन मर्मतसम्भार गरेर गत वर्षदेखि परीक्षण उत्पादन सुरु गरेको हो ।

राष्ट्रिय अविष्कार केन्द्रका प्रमुख महावीर पुनले मेसिनहरूको व्यावसायिक उत्पादनका लागि आवश्यक कच्चा पदार्थ आयातमा भन्सार महसुल छुट नदिए उत्पादन लागत बढेर बजारमा प्रतिस्पर्धा गर्न गाह्रो हुने बताए । ‘चर्को भन्सार महसुल तिरेर कच्चा पदार्थ आयात गरेर सामान उत्पादन गर्दा लागत बढी पर्ने भएकाले प्रतिस्पर्धा गर्न सकिन्छ÷सकिँदैन भन्ने समस्या छ,’ पुनले भने । भन्सार महसुल छुट दिनुप¥यो भन्ने माग आफूहरूको मात्र नभएर अधिकांश फलामजन्य उद्योगको माग रहेको उनको भनाइ छ । शारदा पोखरेल/रातोपाटी

Related posts

सहिद दिवसमा वीरगन्जका हिन्दुवादीहरुले सम्झिए स्व. काशीनाथ तिवारीलाई

MadhesKhabar

लोक आस्थाको पर्व छठ आजदेखि विधिवत रुपमा सुरु

MadhesKhabar

नेपाल आउने भारतीय पर्यटकको सहजताका लागि वीरगन्ज नाकामा एकिकृत सुरक्षा बीट बनाउँदै महानगर

MadhesKhabar

Leave a Comment