वीरगन्ज,०१असारःसहकारी ठगी प्रकरणमा हाल भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतमापनि मुद्दा दर्ता भएको छ ।
वीरगन्ज–११० आदर्शनगरस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको १ अर्ब ३२ करोड ४६ लाख १२ हजार रुपैयाँ रकम अपचलन भएको दाबी गर्दै जिल्ला सकारी वकिलको कार्यालय पर्साले पर्सा जिल्ला अदालतमा लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दर्ता गराएको हो । जसमा लामिछानेविरुद्ध ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो माग दाबी गरिएको छ ।यस्तै छविलाल जोशीविरुद्ध भने ७ करोड २० लाख रुपैयाँ बिगो माग दाबी गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले यसअघि गत बैशाख १४ गते अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।उक्त प्रतिवेदनमा भने प्रहरीले सानोपाइला सहकारी संस्थामा लामिछानेसहितको संलग्नतामा २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय रुपैयाँ २९ पैसा रकम अपलचन यकिन गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साको अनुसन्धानबाट सानो पाइला सहकारीबाट गोर्खा मिडिया प्रालिमा १० करोड ६ लाख ९४ हजार रुपैयाँ , काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा १ अर्ब १५ करोड ९१ लाख ४४ हजार ३ सय ९५ रुपैयाँ र नेचर हब्र्स इन्डस्ट्रिज प्रालिमा ९५ लाख ९८ रुपैयाँ स्थानान्तरण भएको पाइएको थियो ।
बैशाख १४ गते ्प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनको अध्ययन गरेर करिब डेढमहिनापछि सरकारी वकिलको कार्यालयले पर्सा जिल्ला अदालतमा लामिछानेसहित २९ जनाविरुद्ध सरकारी वकिलको कार्यालयमा मुद्दा दायर गरेको हो ।
वीरगन्जको सानोपाइला सहकारीमा रकम बचत गरेका ४ सय ३८ बचतकर्ताहरुले आँफुहरुको रकम अपचलन गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दर्ता गराएका थिए ।सुरुमा २०८० साल साउन २१ गते ५२ जनाले, २०८० सालकै भदौ २२ गते २०७ जनाले र २०८१ साल फागुन २ गते १७९ जना बचतकर्ताले सानो पाइलाले रकम अपचलन गरेको भन्दै लामिछानेसहित विभिन्न व्यक्तिलाई प्रतिवादी बनाएर जाहेरी दर्ता गराएका थिए ।
तर त्यस बेला सहकारी ठगीमात्रै अनुसन्धान थालेको प्रहरीले पछि संसदीय छानबिन समितिले सम्पति सहकारी ठगीसंगै शुद्धिकरण र संगठीत अपराधमापनि छानबिन गनुपर्ने प्रतिवेदन सार्वजनिक गरेपछि पर्सा प्रहरीले ती तीन वटै मुद्धामा अनुसन्धान गरेको थियो ।
लामिछानेलाई सहकारी ठगी लगायतका प्रकरणमा अनुसन्धानका लागि पर्सा प्रहरीले गत मंसिर २४ गते पोखराबाट पक्राउ गरेर वीरगन्ज ल्याएको थियो । मंसिर २५ गते उनलाई पर्सा जिल्ला सरकारी वकिलको कार्यालयमा पुर्याएर उनिसंग ४ घण्टा बयान लिइएको थियो ।त्यसैदिन बयान सकिएपछि लामिछानेलाई हवाईमार्गबाट प्रहरीले काठमाडौं लगेको थियो ।
लामिछाने हाल बुटवलको सुप्रिम सहकारी ऋण तथा बचत सहकारी संस्थाको रकम अपचलन मुद्दामा पुर्पक्षका लागि भैरहवा कारागारमा छन् ।

